आइफोन कथा

अस्ति एडिडासको सोरुममा अफर चलेको थियो । नर्बेको राजधानी ओस्लो सेन्ट्रलबाट अलिक टाढा भएको एडिडासको सोरुममा एक हजार क्रोनर अर्थात नेपाली तेह्र चौध हजारमाथि पर्ने जुत्ताहरु दुई सय असी क्रोनर अर्थात नेपाली पैत्तिस सय/चार हजारमा दिइएको थियो ।

भिड थियो । नेपालीहरु पनि टन्नै पुगेका रहेछन् । भित्र पस्ने पालो कुरेको झन्डै डेढ घण्टामा मैले प्रवेश पाएँ । मैले जुत्ताहरु छान्न थालेको एकाध आधा घण्टा पछि एकजना नेपाली भाई आइपुगे । हस्याङफस्याङ गर्दै आएका उनले मलाई देखे ।

“दाई, यी सबै जुत्ता ओरिजनल हुन् ?” नजिक नपुगी अलिक टाढैबाट सोधे ।

“एडिडासकै सोरुममा भएपछि पक्कै ओरिजिनल नै हुन् नि भाई ।” मैले जवाफ फर्काए । उनी यसै बर्ष नर्बे आएकाले यस्ता अफरहरु अनौठा र अपत्यारिला लागे सायद । हामी सबैलाई सुरुमा यस्तै लाग्छ । मैले थप बोलेँ “यस्तो अफर प्राय सबै कुरामा लाग्छ भाई । खानेकुरादेखि लिएर ल्यापटप, मोबाइल सबैमा लाग्छ । यो सामान भिडाउँनका लागि पनि गरेका होइनन् ।”

“ए ए!!”

यति भनिसक्दा नसक्दा भाईले जुत्ता उठाइसकेका थिए । “दाई, सहि सहि सुज रहेछन् है ।” भाई यति भन्दै अर्को जोर जुत्ता उठाएर हेर्न थाले । म आफ्नो लागि जुत्ता छान्न थालेँ ।

मैले केहिबेरमा आफ्ना लागि जुत्ता छाने पछि यसो भिडमा भाईलाई खोजेँ । भाई अघिका जुत्तालाई छोडेर अर्कै जुत्तातिर घोरिन थालेछन् । एकछिन हेरिरहेँ । भाई दंग पर्दै नयाँ नयाँ जुत्ता ट्राइ गर्दै थिए । उनको हाउभाउले प्रस्ट देखिन्थ्यो, उनलाई अधिकांश जुत्ता मन परेका छन् ।

मैले भाईलाई बाधा पारिन । म उनलाई केहि नभनी काउन्टरतिर लागेँ । काउन्टरमा लामो लाइन रहेछ । पैसा तिर्न झन्डै अर्को आधा घण्टा लाग्यो । गाडी छुट्ने समय हुन लागेको थियो । म हतार हतार स्टेसनमा पुगेँ । भाई अघि नै पुगेर उभिरहेका रहेछन् ।

भाईलाई खाली हात देखेर मैले सोधेँ, “जुत्ता किनेनौ ?”

“अँ दाई, अलिक आफुलाई नसुहाए जस्तो नि लाग्यो । फेरि विन्टर सुज पनि छैन रहेछ ।” भाईको जवाफ दिदाको अनुहार र अघि जुत्ता ट्राइ गर्दाको अनुहार एउटै थिएन ।

बस आयो । चढ्यौँ । गफकै सिलसिलामा भाईले भने, “दाई आइफोनमा अफर आएको थाहा पाउँनु भयो भने मलाई नि भन्नु है । घरबाट भाईले आइफोन पठाइदे भनिरा’छ ।” मैले हुन्छ भनेँ । थप केहि भन्न सकिन ।

मलाई थाहा छ, त्यत्रो अफर पछिको जुत्ता पनि महंगो लागेर नकिन्ने उसले पक्कै पनि आइफोन भने किन्नेछ, चाहे अफरमा होस् या सामान्य दाममा नै । उसले अझै केहि महिना वा नेपालबाटै ल्याएका जुत्ता वा कपडाले नच्यातिउन्जेल काम चलाउँनेछ तर भाईका लागि भने आइफोन किन्ने छ । उताबाट भाईले कुनै पनि दिन ‘दाई तैले केहि खाएको छस् कि छैनस्’ वा ‘काममा तँलाई गाह्रो हुन्छ कि हुदैन’ भनेर सोध्न जरुरी ठान्ने छैन । उसको भाईको कुरा गराई आइफोनदेखि सुरु भएर आइफोनमै सकिनेछ । यो भाईलाई पनि आफ्नो भाईको कुराले त्यति फरक नपर्ला किनकि यस्ता कुराले कुनै दाई वा भाई वा काका वा मामा वा भाञ्जा वा भतिज कसैलाई पनि आजसम्म फरक परेको छैन । त्यसैले त, विदेशमा आना आनाको हिसाब गरेर देशमा भएका आफ्नाका लागि मन फुकाएर खर्च गर्छन् । भाईले आइफोनबाट च्याट गर्दा सस्ता जुत्ताले पारेका घाउ यो भाइले बिर्सिने छ ।

भाईको अनुहार नियालेर हेरेँ । आफु जस्तै लाग्यो । माया लाग्यो । भनेँ, “भाई तिहारमा मेरो रुममा आउ है । सँगै खानु पर्छ ।”

उसले भन्यो, “हुन्थ्यो नि दाई । तिहार विकेन्डमा छ । आफ्नो विकेन्डमा डबल भन्दा लामो सिफ्ट हुन्छ ।”

‘यति गर्दा पनि तिमीले आफ्ना लागि मन परेको जुत्ता अफरमा लाग्दा पनि किन्न सकेनौँ है ।’ मैले मनमनमा सोचेँ । भाईको झन् माया लागेर आयो ।

 

Source : PaniPhoto

About Admin 95 Articles
For beautiful eyes, look for the good in others; for beautiful lips, speak only words of kindness; and for poise, walk with the knowledge that you are never alone.....so join our site and get knowledge of every field...

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*