एक नाैलाे कथा ::

बाबु-छाेरा

सधैझैं आज पनि उनलाई त्यहीं उभिएको पाएँ । यसरी उनलाई रात्रिकाम सकेर बिहान घर र्फकंदा देख्ने गरेको आज ठयाक्कै दश दिन जति भएको थियो । सधैजसो फरक फरक पोसाकमा उनी एउटा हात्ते ब्याग छड्के भिरेर सधैँ एउटै ठाउँमा उभिएकी हुन्थिन् । जब म उनको नजिकबाट गुज्रन्थें, उनी मुस्कुराउने गर्थिन्, यद्यपि दुई चार दिन त भ्रममा परेको थिएँ -उनी मलाई देखेर मुस्काएकी हुन् वा अरु कसैलाई ? तर जब मेरो वरिपरि कोही नभएको मौकामा पनि मतर्फ फर्केर मुस्काईन्, तब लाग्यो पक्का पनि त्यो उखरमाउलो मुस्कान मेरा लागि हो ।

वितेका पाँच दिनदेखि हो, ठयाक्कै पाँच दिनदेखि मेरा आँखाहरु पनि उनीमाथि जिस्किन थालेका थिए । उनी मुस्कुराउँदा म पनि मुस्काउने र उनीबाट केही कदम अघिबढे पछि फर्केर हेर्नु र फेरि पनि मुस्कान आदान-प्रदान गर्नु मेरो अब ‘ब्रेकफास्ट’ अघिको ‘एपिटाइजर’ भएको छ । उनको शारीरिक पोस्चर र जेस्चर हेर्दा उनी चाइनिज नै हुन् भन्नेमा म पूरापुर विश्वस्त छु । उनका चिम्सा खैरा आँखा, सर्लक्क परेका खैरा कपाल, टिमिक्क मिलेको शरीरको भूगोलले विषयवासनातर्फ झ्याप्पै आकर्षण नगरे पनि म जस्तो चालिस छुन लागेको अविवाहित अर्धवैंसे ठिटोलाई उनी स्वर्गकै अप्सराभन्दा कम लागेकी छैनन् ।

उसो त यतै घरजम गरौँ कि भनेर उहिल्यैदेखि नसोचेको पनि हैन तर यतै घरजम गरेका साथीभाइ र इष्टमित्रका कथा सुन्दा आङ नै फुलेर आउँछ । एक जना मेरा गाउले दाइ छन् -मनि दाईँ, गोरो वर्णका पातला र अग्ला । खासमा उनको नाम कमल हो तर पैसा भनेपछि थुकले पनि टिप्ने मित्रले व्यवहार भएकाले सवैले उनलाई मनि दाइ भन्ने गर्छन् । त उनले यतै हङकङमै एक फिलिपिनी युवतीसँग विवाह गरे । विवाह गरे के भन्नु ? सिन्दुर पोते नगरे पनि श्रीमती बनाए, तर एकदिन विचरा मनिदाइ काममा गएको मौका पारेर घरका पैसा गहना मूल्यवान चिजविज सबै गुटमुटु पारेर टाप कसिछिन् । यसो बिजुली-पानी सुर्क्याएको मौकामा मनि दाई भन्ने गर्थे -”राँडले अण्डरवियर पनि बाँकी नराखी जात देखाएरै छाडी ।” तर सबै कहानीको अन्त्य यस्तै दुर्दशा मात्र हुन्छ भन्ने पनि नरहेछ । मेरा टाढाका नाता पर्ने दिपक दाइलाई नै लिनु, हङकङको आईडीमा उनको नाम प्रकास छ तर गाउमा उनलाई दिपक नै भनेर चिन्छन् । तर उनले पनि यत्तै हङकङकै चाइनिज यूवतिसँग घरजम गरे । उनको विवाह सफलताको खुड्किलो बन्यो, आज उनको आर्थिक उन्नतिको कथा उनका आसेपासेहरुले काठमाण्डौमा करोडौंका घर र यही हङकङमै व्यापारमा गरेका लगानीबाटै बुझ्न सकिन्छ, उनी स्वंयले कति गरेहोलान् । टाटेपाटे शरीरका धनी दिपक दाइको गणित मात्र फेरिएन, आज उनको शरीरका सम्पूर्ण रङहरु नै फेरिएका छ -भुत्लाएको खसि जत्तिकै ।

यता मेरै आमा बाले हरेक बैशाखमा विवाहका लागि गरिने आग्रहलाई मैले लत्याउँदै आएको थिए । अस्ति भर्खर मात्र हो, फोनमार्फत एउटा लेटेष्ट प्रस्ताव गरेका थिए, विवाहका लागि, चाहना हुँदाहुँदै पनि मुटुमाथि ढुङ्गा राखेर त्यस प्रस्तावलाई मैले खारेज गरिदिएको थिएँ । यसको मूलकारण थियो, प्रस्तावित यूवतीको उमेर भर्खर बाईस पुग्नु र यता आफ्नो उमेर दुई बीस काटन लाग्नु । यति धेरै लामो वर्षको अन्तरका कारण भविष्यमा सम्भाव्य दुर्घटना निम्त्याउन वा जीवनभर बूढो कन्य रहनुमा मलाई दोश्रो सर्त मान्य भयो । किनभने मेराअगाडि एउटा हृदय नै कटक्क खाने ‘बर्निङ एक्ज्याम्पल’ गायत्री मन्त्रझैं दिमागबाट हटेको थिएन । महिना दिन पनि त भएको छैन । मेरा आफ्नै भानिज दाइ हर्ज बहादुर थापाकी भर्खरकी कलकलाउँदो भंगेरी, कर्नेलको घोँडा खोज्दै घरको नाबालक छोरो छाडेर पूर्व प्रेमीसँग सूइँकुच्चा ठोकिन् । अरुहरुले जस्तोसुकै तर्क-वितर्क गरे पनि धेरै वर्षको तलमाथि हुनु र फलतः कर्नेलको घोँडा हुन नसक्नु नै मुख्य कारण हो भन्ने ठम्याइमा म पुगेँ, जसको मलाई ठाडो मनोविज्ञानिक असर पर्योन । यसर्थ आफूभन्दा लगभग आधै उमेर कान्छी यूवतीसँग घरजम गर्न हुँदैन भनेर मेरा मनमा या’मानको घण्टा बज्यो ।

यावत कारणहरुले गर्दा घरजम गर्ने साइत नजुरेको परिस्थितिमा कुनै आफ्नै उमेर सुहाउँदी सुन्दर यूवतीले हरेक मन फुँडो नहुँदो हो । अब भने विवाह गर्नैपर्छ र यही केटीसँग गर्नुपर्छ भन्नेमा मेरो अन्तरमनले ‘साइन्-इन्’ गरिसकेको थियो । सपनाहरुले एकाउन्ट खोल्न थालिसकेका थिए । विवाह भएपश्चात् घर्किन लागेको उमेरहरुलाई साक्षी राख्दै कत्ति पनि ढिलासुस्ती नगरी एउटा गजक्कको छोराको बाबु बन्नु मेरो रोडम्यापको पहिलो एजेण्डाभित्र राखेको छु । हैन, कस्तो हुँदो हो, हँ ? ‘पाब्लो पिकासो’का चित्रजस्ता टेडामेडा अमूर्तरुप आँखामा नाच्न थालेका छन् । ‘भोलि मेरो छोरोले जस्तोसुकै भाषा र संस्कृति सिकोस् तर नाम भने खाँटी नेपालीपन झल्कने नै राख्नुपर्छ’, मेरो सांस्कृतिक एजेण्डाका वैकल्पिक सर्त यस्ता छन् ।

यसरी मनका लड्डुहरुले घर बनाउन लागेको पनि हिजैदेखि हो । हिजो बिहानको मुस्कान आदान-प्रदानपश्चात् ओच्छ्यानमा मडारिँदा छेवैको भित्तालाई तिरस्कृत नजरले हेर्दै भोलि उनीसँग आफ्ना मनका पटाराहरु खोल्ने योजना बनाएको थिएँ । जसलाई मूर्तरुप दिन आजको विहान शुभ हुने मेरो अन्तरकुन्तरको ज्योतिष विधाले ठम्याएको थियो र यही महान प्रयोजनका लागि सँधैझै उनलाई त्यहीँ उभिएको पाउँदा एकैसाथ खुशी र अलि नर्भस भए । हिजै देखिको ‘गेम-प्लान’अनुसार मुटुलाई दह्रो र मनलाई कमलो बनाएँ । आज उनीसँग मनका कुराहरु निर्धक्क भन्नु थियो, थाहा थियो कि उनी चाइनिजनी हुन्, जसले गर्दा हामीबीच भाषाको तगारो छ । तर प्रेम मुखले हैन, आत्माले गर्छ, त्यहाँ आँखाहरुबाट बातचित गरिन्छ । प्रेम प्रस्ताव गर्नमा मैले कुनै बाधा अडचन देखेको छैन । प्रेम जस्तो पवित्र र विशाल कुण्डमा न जात न पात न धर्म न भूगोल केहीले पनि छेकवार गर्न सक्दैन, मैले यस्तै पढेको थिएँ उपन्यासमा यसैले पनि आज उनीसँग आफ्नो प्रेम प्रस्ताव गर्नमा मलाई कुनै वाधा-अडचन हुन्छ भन्ने लागेको छैन । वस, दाहिने हात उठाई चोर औंलाले उनीतर्फ संकेत गर्छु अनि त्यही चोर औंलाले म स्वंयतर्फ संकेत गर्छु र देब्रे हात उठाएर दुवै हातलाई एकअर्कामा बाँध्छु । “क्या ब्रिलियन्ट आइडिया !” आफ्नै दिमाखलाई मनमनै स्यावासी दिएँ ।

यसरी मनमा अनेक कुरा खेलाउँदै उनीतर्फ बढेँ । अब उनी र मेरो दूरी करिब करिब चालिस मिटर छ । मैले टाढैबाट प्रेम र आग्रह मिश्रित मुस्कान उनीतर्फ प्रक्षेपण गरेँ, बदलामा प्रकाशको गतिभन्दा चाँडो उनको मुस्कानको प्रतिउत्तरले मेरो मन समयभन्दाअघि नै फुँडो भैसकेको थियो । मनमनै प्रेमका र्इष्टदेवहरु रोमियो, मंज्नु, फरहाद, राम, कृष्ण र आफ्नै अभागी मित्र केशव प्रसाद, जसले आफ्नो साँचो प्रेम सिद्ध गर्न गण्डकीमा हामफालेर आत्म हत्या गरेको थियो, आदिलाई सम्झेँ र पुनः एक पटक उनीसामु भन्नु कम गर्नु पर्ने प्रेम प्रस्तावको टेण्डरलाई मनमनै दोहोर्यारएँ । जति-जति मेरा पाइलाहरु उनीनजिक बढ्दै थिए, त्यति-त्यति उनी मतर्फ निक्कै आशालाग्दो पाराले मुस्कुराउँदै थिईन्, मेरा पाइलाहरु उनीतर्फ सोँझिएको देखेर होला, उनी आफ्ना कपडा र कपाल मुसार्दै थिईन् । अब उनी मेरो यति नजिक थिईन् कि उनले अनुहारमा पोतेका नानाथरिका कमेराहरुका अलि-अलि म प्रष्टसँग देख्न सक्दथेँ, उनका खैरा सर्लक्क परेका कपाल भित्रका चायाँहरु ‘ऐन्टी डेन्ड्रफ स्याम्पु’सँग मित्रता गाँसेझैं स्वतन्त्र थिए । उनीबाट उत्पन्न भएको तीखो ‘हार्मोन’को गन्ध मेरो नाकले निको नमानेझैं गर्दै थिए तर पनि प्रेम र चाहना अनि आफ्नै ढल्न लागेको उमेरका अगाडि यी सबै गौण हुन मेरो मनले यस्तो भनिरहेको थियो । यसर्थ समयलाई खेर जान दिई दाहिने हात उठाएर चोर औंलाले उनीतर्फ र त्यही औँलाले म स्वयंतर्फ संकेत गरेँ र देब्रे हात उठाएर दुबै हातलाई च्याप्प बाँधी मेरो आफ्नै ट्रेडमार्काको प्रेम प्रस्ताव व्यक्त गरेँ ।

मानौँ, हामी वर्षौंदेखि विछडिएका प्रेमीहरु हौँ वा उनलाई मेरो प्रेम प्रस्तावको महिनौंदेखि प्रतीक्षा थियो वा हाम्रो विहान विहानको नेत्र यौनबाट घायल थिईन् वा यो पनि हुनसक्छ कि उनी पनि म जस्तै अर्धवैसे ठिटोको प्रतीक्षमा थिईन्, यीमध्ये कुनै पनि कारण हुनसक्छ, मेरो प्रेम प्रस्तावउपर विजयभाव मिश्रित सधैँभन्दा फरक उन्मुक्त मुस्कानको………उनी कक्टेल पाराले मुस्कुराईन् र मेरो हात च्याप्प समाती एउटा साँघुरो गल्लितर्फ डोर्याेउदै भनिन् -”लियङ बाइ क्वाई नि याओ बु याओ ?”

About Admin 95 Articles
For beautiful eyes, look for the good in others; for beautiful lips, speak only words of kindness; and for poise, walk with the knowledge that you are never alone.....so join our site and get knowledge of every field...

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*