कथा : अधुरो

~~किशोर सापकोटा~~

तिम्रो साथ मलाई प्रिय लाग्छ – मैले वन्दनालाई  एसएमएस पठाएँ – मिठो सपनाको कामना सहितको शुभरात्री ।

तत्कालै उनको शुभरात्रीको शुभकामना एसएमएस आयो ।

शुभरात्रीको शुभकामना एसएमएस प्राप्त नगरी हामी ननिदाउने भइसकेका थियौ ।

किन ?

शुभरात्री सन्देश नआउँदासम्म मनमा छटटपटी भइरहन्थ्यो । ती अक्षरहरुले मनको चाहना पुरा हुँदैन भन्ने जान्दा जान्दै पनि अक्षरहरुको प्रतिक्षा हुन्थ्यो । यी शुभकामना सन्देशहरु रोगको निदान थिएनन् । पेनकिलर जस्ता थिए । अर्को दिनसम्मलाई मन शान्त पार्ने ।

के वन्दना र म प्रेमी प्रेमिका भइसकेका थियौ ?

मलाई आफैलाई थाहा थिएन । तर मनको गहिराइमा हेर्दा लाग्थ्यो – होइन ।

माथि आकासमा वादलको तल माथि हुँदै काम गर्ने भगवान भरोसे जीवन भएका हामी दुइले सँगै बाँच्ने सँगै मर्ने कसम खान लागेका थियौ त ?

अहँ होइन ।

त्यसो भए के त ?

किन हामीलाई एकअर्काको साथ प्यारो लाग्छ ? किन हामी एकले अर्कालाई शुभरात्रीको कामना नगरी निदाउन सक्दैनौ ? हामी वीचमा कुनै सम्वन्ध स्थापित छ ?

अहँ छैन ।

कुनै सम्वन्ध स्थापनाका लागि हो त ?

होइन ।

कहिलेकाहिँ मलाई नियमित एसएमएसको कारण उनलाई असजिलो भएको त छैन ? मैले एसएमएस पठाउँदा उनीले वाध्य भएर पठाइ रहेकी त छैनन् जस्तो पनि लाग्थ्यो । तर एक रात मेरो मोवाइलमा व्यालेन्स सुन्य भएको थियो र शुभरात्रीको शुभकामना पठाउन सकिन । रातको वाह्र वजे उनको एसएमएस आएको थियो – तपाईको एसएमएस नपढी ननिदाउने वानी परिसकेको छ । मलाई सुखको अनुभुति भयो । अरुलाई निद्रा नलाग्दा आफुलाई एक खालको सुखानुभुति भयो । किन होला ? एसएमएस पठाउन र प्राप्त गर्न मलाई नै छटपटी हुन्थ्यो । एउटा एसएमएसले भोलीपल्टसम्म जिउने उर्जा प्रदान गरेजस्तो लाग्थ्यो । साँच्चै दुनियाँ गजव लाग्छ – एउटा निर्जिव मोवाइल साथी वन्दो रहेछ, एउटा एसएमएस आशाको सहारा बन्दो रहेछ ।

वन्दनाको र मेरो अहिले जुन सम्वन्ध छ, यसलाई मात्रै केन्द्रविन्दु्मा राखेर हेर्दा यो कुन सम्वन्ध भनेर छुट्याउन कठिन छ । सम्वन्धमा सवै प्रश्नहरुको उत्तर हुँदो रहेनछ जस्तो लाग्न थालेको छ । सवै सम्वन्धहरु परिभाषा भित्र पर्दा रहेनछन् जस्तो आजकल लाग्न लागेको छ ।

वन्दनाले कोपाइलटको रुपमा ज्वाइन नगर्दासम्म मलाई अन्तराष्ट्रिय उडान बोझिलो जस्तो लाग्थ्यो । एक्लै एक्लै भएजस्तो आभाष हुन्थ्यो । आफुसंग मन मिल्ने कोही पनि किन नभएको होला जस्तो पनि लाग्थ्यो । एकदिन एकदमै अपरिचित वन्दना कोपालइटको रुपमा आइन । केही दिन आनीवानी थाहा नभएकोले अत्यन्त व्यवसायिक नाता भयो तर उनको प्रस्तुतिले विस्तारै मलाई तान्दै लग्यो चांडै नै नजिक भयौ ।

कति नजिक ?

अहँ थाहा छैन । भविश्यले बताउला ।

साथीहरु कहिलेकाहिँ त नातेदार भन्दा पनि नजिक हुन् कि भन्ने पनि लाग्न लाग्यो । विमान उडाइरहेको वेला म सोच्थें – मानिसहरु विवाह वन्धनलाई सबैभन्दा दर्बिलो वन्धन मान्छन् । संगै वाच्ने संगै मर्ने कसम ठान्छन् । तर म यो विमान उडाइरहेको बेला मरे भने मेरो साथमा मर्ने त यही वन्दना हुन्छे । विमानका क्रु मेम्वर हुन्छन् । मेरो परिवार धेरै टाढा छन् । मेरो जीवन सधै सुखद होस् र सधै संगै होइयोस भनेर कामना त गरिरहेका छन् ।  तर अहिले संगै जिउन संगै मर्न सक्दैनन् ।

अधिकांस आकासमा उड्ने हामी जस्ता मानिसलाई कहिले कांही त संसार नै यत्ति नै हो कि जस्तो पनि लाग्न थालिसकेको हुन्छ । हावाका झोकाले उडाएका वादलका आकृतिहरुमा आफ्ना परिवारका चित्र देख्न थालिसकिएको हुन्छ । ती वादलका चित्रहरुमा म मेरी पत्नी, छोरी र छोरा देख्छु अनि अन्तिममा वन्दनालाई । किनकी वन्दना अहिले मसंग छे । ती वादलका आकृतिहरु छोडिदै जाँदा वाइ गरेर विदाइ गरेको जस्तो महसुस हुन्छ । आफ्नै परिवारले विदाइ गरे जस्तो । सामुन्ने परेका हिम श्रृंखलाले हाँसेर स्वागत गरे जस्तो लाग्छ । भ्रम न हो, यो दुनियामा भ्रमवाट पुरै मुक्त भएर बाँच्ने को पो हुन्छ ?

विमानलाई सुरक्षित रुपमा उडाउनु, यात्रुहरु र क्रु मेम्वरको सुरक्षाप्रति जिम्मेवार हुनु र उडानको क्रममा आउने सवै समस्याहरुको विषयमा निर्णय लिनु मेरा प्रमुख जिम्मेवारी हुन् । तरपनि म मेरा जिम्मेवारीवाट अलिकति समय निकालेर वन्दनाको बारेमा सोच्न थालेको थिएँ ।

म उडानको समय भन्दा करिव एक घण्टा अगाडि नै विमानस्थल पुग्थें । क्रु मेम्वरसंग भेटघाट गर्न र मौसम तथा विमानस्थलको वारेमा जानकारी लिनमा समय विताउँथें । यी पलहरुमा वन्दनाले ढिलाई गरिन् भने मलाई छटपटी सुरु हुन्थ्यो । जहाजका संवेदनशील उपकरणहरु जाँच गर्दा र दोहोर्‍याएर जाँच गर्दा समेत वन्दनाले साथ दिउन् जस्तो लाग्थ्यो । विमान टेक अफ गर्दा, ल्याण्डिङ गर्दा होस् वा उडानका समयमा मैले लगातार एयर ट्राफिक कन्ट्रोलर लगायत अन्य निकायहरुसंग संचार सम्पर्कमा रहनु पर्थ्यो । तर यस वीचमा पनि मेरो सहयोगीको रुपमा रहेकी वन्दनालाई समय निकाल्थें । आफ्ना कुरा भन्न, उनका कुरा सुन्न र केही रमाइला ठट्टाहरु गर्न ।

भेट भएको लामो समय भएको पनि छैन । मलाई उसका रुचि–अरुचिदेखि उनको घर परिवारवारेमा सवै थाहा भइसकेको थियो । वन्दनाको ख्याल गर्न पाउदा मलाई आनन्द भए झै लाग्थ्यो । कतिपय दिन वन्दनाका अनुहारमा निरासा देख्थें, उनी मप्रति असन्तुष्ट हुन् कि जस्तो लाग्थ्यो, मैले थाहा नपाई उनको चित्त दुखाए कि भनेर चिन्ता लाग्थ्यो । उनको निरासाको कारण थाहा नहुन्जेल मेरो मन दुखिरहन्थ्यो ।

तर किन ?

म वन्दनासंग के चाहन्छु ?

के म वन्दनालाई सधै साथमा किन देख्न चाहन्छु ?

फेरी मनमा निहालेर हेर्छु । म वन्दनालाई सधै आफ्नु साथमा देख्न चाहन्न । म त सधैभरी मेरो परिवारसंगको साथ नै चाहन्छु । मलाई एकातिर स्वर्ग र अर्कोतिर मेरो परिवारको साथ भने भने म मेरो परिवार चाहन्छु । मेरो परिवार भन्दा अर्को खुसी मेरो लागि केही होइन । तर पनि मलाई किन वन्दना प्रिय लाग्छ त ?

म त चाहन्छु, वन्दनाको सपनाको राजकुमार आओस् र लिएर जाओस् आफ्नो दुनियांमा । यो भगवान भरोसेको जीवनवाट उनी मुक्त होउन् र खुसीको सास फेर्न पाउन् । उनको अनुहार हेर्छु, जीवनमा सुखको सास फेर्न फुर्सद नै पाएकी छैनन् जस्तो लाग्छ ।

अनि म ?

म त हिजो पनि आफ्नै शैलीको जीवनमा थिएँ, वन्दना सपनाको राजकुमारसंगै गएपछि म पक्कै उनलाई संझने छु, याद गर्नेछु तर पनि खुसी हुनेछु । फेरी आफैसंग अचम्म लाग्छ । अधिकांस पुरुषहरु आफ्नो निकट भएका युवतीहरु अरु पुरुषसंग नजिकसम्म पनि नहुन् भन्ने ठान्छन् । यो सवै पुरुषमा लागु हुन्छ र ममा पनि । तर पनि म वन्दना आफ्नो राजकुमारसंग जाउन् भन्ने चाहन्छु । कतिपय दिनमा मैले वन्दनाले उनको राजकुमारसंग फोनमा वा च्याटमा कुराकानी गरेको सुनेको, देखेको छु, साह्रै आनन्द लाग्ने गरेको छ । कतिपय दिनमा मैले उनले अरु पुरुषहरुसंग पनि फोन वा च्याटमा कुरा गरेको देखेको छु, साह्रै अप्रिय लाग्ने गरेको छ । वन्दनाको स्वतन्त्र जीवन छ, उनलाई आफुले चाहेको मानिससंग आफु खुसी व्यवहार गर्ने अधिकार छ, तर किन मेरो मन नियन्त्रणात्मक वन्न खोज्छ ? म फेरी आफै सचेत पनि हुने गरेको छु । कहिले कांही भित्र भित्रै जल्ने गरेको पनि छु ।

फेरी पनि म सोच्छु – वन्दनासंग म के चाहन्छु ?

आफै उत्तर दिन्छु – साथ

कति दिनको ?

अहँ निश्चित छैन ।

यो संसारमा कसले कुन कुराको निश्चित गर्न सक्छ र ?

एउटा कथाको प्रसंग याद आउँछ ।

ट्युशन पढाइ रहेको शिक्षकले आफ्नो हात समाए पछि छात्रा अलमलिन्छे ।

हेर्छे – शिक्षकको आँखामा आफुप्रति लगाव छ । यो लगाव एउटा शिक्षकको र छात्रावीचको सम्वन्धको होइन भन्नेमा दुवै प्रष्ट छन् ।

छात्राले सोध्छे – सर, यो हात कति समयलाई थाम्नु हुन्छ ?

शिक्षक निरुत्तर हुन्छ ।

म र वन्दनावीचमा पनि कसले कसलाई कति समय साथ दिने भन्ने कुनै पनि निश्चित छैन ।

वन्दना निश्चित छिन् । एकदिन उनले मलाई गुडवाइ भन्नैपर्छ र म पनि निश्चित छु, मेरो भगवान भरोसे जागिरमा कोही पनि सधै साथमा रहँदैनन् ।

मेरो ज्यान जुनवेला सम्म हुन्छ, त्यो वेलासम्म म तपाईलाई शुभरात्री भनिरहने छु – शायद एकरात मलाई एक्लोपन महसुस भएको देखेर होला उनले एसएमएसमा भनेकी थिइन् । मलाई आनन्द महसुस भएको थियो । हरेक रात एउटा एसएमएस आयो भने पनि मलाई भोलीपल्टसम्म बाँच्ने उर्जा हुन्छ । एक्लो एक्लो जीवनमा कसैले यतिसम्म सहानुभूति देखाउँदा पनि आनन्द आउँदो रहेछ ।

वन्दनाको अनुहार हेर्छु । जवानीका रेखाहरु त हराउँदै गएका छन् । वरु चिन्ताका रेखाहरु थपिएका छन् । त्यसैले म चाहन्छु, जतिसक्दो चाँडो उनी उनको राजकुमारसंग जाउन र शायद उनी पनि म प्रति यही सोच्दिहुन् ।

म किन वन्दनालाई टाढा गएको हेर्न चाहिरहेको छु ?

के हामी एकआपसका शुभेच्छुकहरु मात्रै हौ त ?

अहँ होइन ।

उडानका क्रममा कतिपय दिनमा मैले उनका हातमा चुम्वन गरेको छु । विदेशका होटलहरुमा आआफ्ना कोठाहरुमा जानु अगाडि मायाले मैले उनको निधारमा चुमेको छु ।

त्यसो भए के म उनीसंग थप सम्वन्ध वनाउन चाहन्छु ?

अहँ पटक्कै होइन, मैले धेरै पटक उनलाई अंगालोमा वेरेको छु, उनको कम्मरमा मैले आफ्ना हातले फन्को मारेको छु, तर त्यसभन्दा तल वा माथि कहिले पनि गरेको छैन । मलाई उनीसंगको साथ चाहिएको छ, उनको स्नेह चाहिएको छ, अपरिभाषित सम्वन्ध चाहिएको छ । तर शारिरीक सम्वन्ध होइन ।

विमानस्थलमा विमान अवतरण गरेर घरतिर फर्कदा होस् वा विदेशमा रहदा होटलमा रहँदा होस्, त्यो पल लम्वियोस भन्ने लागि रहन्छ ।

एक दिन यस्तो यात्रा अझै लम्वियोस् भन्ने लागिरहेको थियो तर छुट्टिने वेला आइसकेको थियो ।

मैले शुभरात्रीको कामना गर्नु अगाडि एसएमएसमा एक शव्द लेखें – अधुरो ।

केही मिनेटमा नै उनको एसएमएस आयो ।

तपाईले के कुरालाई अधुरो मान्नु भएको हो, म प्रष्ट त छैन तर कतिपय अधुरो कुराहरु विस्तारै पुर्ण हुँदै जान्छन् । समयले पुरा गरिदिँदै जान्छ र कतिपय कुराहरु जीवनभरी नै अपुरो जस्तै लाग्छन् ।

मैले फेरी एसएमएसमा आफ्नो जीवन अधुरो भएको उल्लेख गरें । वावा भनेर राम्ररी भन्न पनि नसक्दै मेरी छोरी सात समुन्द्र पारी पुगेकी थिइ । जीवनभरको साथ दिने जीवन साथी टाढा थिइन् । जन्म दिने आमा सदाका लागि टाढा हुनुहुन्थ्यो । सानो दुधे वालक आन्टीको जिम्मामा थियो । सांचै विचित्र छ मेरो जीन्दगी । आफन्त सवै छन् तर वन्दनाको साथ खोज्नु परिरहेको छ ।

मेरो एसएमएस पढेर उनी रातभर रोइछिन् । भोलीपल्ट आफैलाई नमिठो लाग्यो । मेरा व्यक्तिगत कुरा नभनेकै भए पनि त हुन्थ्यो नि जस्तो लाग्यो । छोटो संगतमा उनी मेरो साथी भएकी थिइन् । कतिपय विषयमा गुरु भएकी थिइन् । कतिपय ठाउमा मेरो शिष्य भएकी थिइन् । कतिपय अवस्थामा मेरी अभिभावक भएकी थिइन् । कतिपय अवस्थामा म उनको अभिभावक भएको थिएँ । मलाई उनको साथ अपरिहार्य जस्तो भइसकेको थियो । अनि यति निकट मान्छेलाई मनका कुरा किन लुकाउने ?

यही क्रम रहँदा कतै म उनीप्रति आशक्त त हुन्न ?

कहिलेकांही म आफै डराउँथे ।

अहँ हुन्न । मैले प्रतिज्ञा गरेको छु । मेरो पत्नीले वा मेरा छोराछोरीले कुनै पनि दिन मप्रति प्रश्न वा औंला उठाउने मौका पाउने छैनन् ।

वन्दनाको व्यवहार पनि यस्तो छ, उनीले मलाई आशक्त हुने वातावरण नै वनाउने छैनन् । हो, विमान उडाइ रहँदा सेता वादलमाथि एकै छिन वन्दनाको साथमा तैरिऊ जस्तो नलागेको पनि होइन । न्यानो अंगालामो बाँधौं र उनको निधारमा चुम्वन गरौं जस्तो लाग्थ्यो । तर त्यसभन्दा वढी कहिले पनि सोचिन ।

त्यो दिन आयो । वन्दनाको सपनाको राजकुमार आयो । त्यो दिन हामी दुवैजना विमानस्थलमा नै थियौ । हाम्रो विमान पनि केही क्षण अगाडि मात्रै ल्याण्ड गरेको थियो । तर पनि म वन्दनासंगै गइन । वन्दनाले उनको राजकुमारलाई कुनै धक नमानी अंगालोमा बाँध्न पाउन भन्ने लाग्यो । यस्तो भेटमा कोही साथमा नभएको नै उचित ।

वन्दनाको जीवनमा वहार आयो । म खुसी भए । तर वन्दनालाई मिस गरिरहें ।

वन्दनाको जीवनमा धेरै वहार आयो, मेरो जीवनमा धेरै एक्लोपन थपियो । यो हामी दुवैमा आउने परिवर्तन स्वभाविक थियो ।

वन्दनाको राजकुमार आएको पहिलो दिन देखि नै शुभरात्रीको कामना सहितको एसएम्एस् विना ननिदाउने वानी परिवर्तन गर्न वाध्य हुनुपर्‍यो । शुभरात्री सन्देश मेरो लागि पेन किलर त भएका थिए अव त्यो पनि वन्द ।

एउटा पुरुषले मध्यरातमा शुभरात्रीको सन्देश पठाउँदा वन्दनाको पतिले के सोच्ला भन्ने पीर मनमा लाग्यो । त्यसैले मैले पठाउन सकिन । वन्दनाले के सोचिन् कुन्नि पठाइनन् । शायद ती रातहरुमा मेरो एउटा साथी छ भन्ने संझिने फुर्सद नै पाइनन् । या त्रास भयो मनमा, एउटा परपुरुषलाई शुभरात्री सन्देश पठाएको पतिले थाहा पायो भने सम्वन्धमा खटपट हुने हो कि ?

कसले विश्वास गर्छ, हाम्रो सम्वन्ध स्थापित मान्यता भन्दा माथि छ, परिभाषा भन्दा वाहिर छ ? मलाई मेरो भन्दा पनि वन्दनाको वारेमा नै वढी चिन्ता लाग्यो । म एक्लै ओछेनमा पल्टी रहेको वेला वन्दनाले वाथरुममा गएर भए पनि मलाई मात्रै शुभरात्रीको सन्देश पठाइ दिए त हुन्थ्यो नि भन्ने लाग्थ्यो । म कुरा बुझ्थें र उनलाई पठाउँदैनथें भन्ने लाग्थ्यो । मेरो शुभरात्रीको कामनाको उनलाई आवश्यकता नहुन सक्थ्यो तर मलाई भने झन् आवश्कता परेको थियो । किनकी म त झन् एक्लो थिए । तर पनि मन वुझाएँ ।

मेरो फ्लाइटको दिन आयो । म विमान उडाउन विमानस्थल गए । मनमा स्फुर्ति आयो । वन्दनासँग भेट्नका लागि पनि खुसी थियो मनमा । उनको अनुहारमा आएको फरकपन हेर्न म लालायित थिएँ वा भेट्न नै हतारिएको थिए तर मन विचित्र थियो ।

विमानस्थल पुगेपछि मात्रै उनी विदामा वसेको जानकारी पाएँ । मलाई नभनी विदा लिएकोमा भने चित्त दुख्यो । म विदामा वस्छु भनेको भए के विग्रिन्थ्यो र ? मनमनै प्रश्न गरें । शायद म एक्लो छु । त्यसैले मलाई उनको खोजी भएको छ । तर उनी अव एक्ली छैनन । त्यसैले मेरो खोजी भएन होला । एक्लो हुँदा धेरै संवेदनशील भइन्छ अव त्यो वन्दनमा लागु हुँदैन । म पनि मेरो जीवनसाथी टाढा नभइ दिएकोे भए यति वेचैन हुने थिइन ।

विमान उडाइरहँदा काममा व्यस्त भइएला र वन्दनाको यादवाट अलिकति मुक्त भइएला भन्ने सोचें । तर त्यसो भएन । विमान सिंगापुर पुर्‍याएपछि आफैले ककपिटमा उफ्रिदै गरेको अर्को मुसा देखें । अव विमान ग्राउण्डेड भयो र मुसाको खोजी सुरु भयो । मनमा झन् वेचैनी वढ्यो । यो मुसा र मेरो देशका नेता दुवै मलाई उस्तै लाग्यो । यिनलाई या त पक्राउ गर्नैपर्छ नत्र चकचक गरेर र काटकुट गरेर समाप्त पारी हाल्छन् । यी मुसाले मेरो जहाजलाई र नेताहरुले देशलाई समाप्त पार्न लागिरहेका छन् । तर म एक्लैले मनको तीतो पोख्न वाहेक के गर्न सक्थे र ?

राजनीतिक हस्तक्षेपले जीवनकै अन्तिम क्षणमा भएको जस्तो भएको थियो मेरो जागिर दिने विमान कम्पनी । विमान वा नागरिक उड्ययनसंग जीवनमा कुनै सम्वन्ध नभएका सिगार व्यापारी र साहित्यकारहरु मेरो कम्पनीमा निर्णायक तहमा आउँथे र कम्पनीलाई टाट पल्टाउँथे वा टाट देखाउँथे । हामी जीवनभर श्रम पसिना वगाउनेहरु व्रम्हलुट हेर्न र व्रम्ह्लुटपछि टाट पल्टिएका प्रतिवेदनमा चित्त वुझाउन वाध्य थियौं ।

वन्दना साथमा भएको भए पनि यति वेचैनी त हुने थिएन । मानिस हुँ । कोही न कोही त्यो पनि मन मिल्ने साथी भइदिएहुन्थ्यो भन्ने लाग्दो रहेछ । तर वन्दनाले एक कल फोन गरिनन्, एउटा एसएमएस पठाइनन् । अधुरो लागिरह्यो । एक दुई पटक त फोन गरे । औपचारिक कुरा भए । कति दिन त मलाई फोनमा वन्दना नै होइन कि जस्तो पनि लाग्यो । मैले कल गर्दा मात्रै कुरा हुने, अहँ उनले मलाई संझिएर कल गरिनन् । उनी विदेश उडेपछि त यो क्रम सदाका लागि अन्त भयो ।

सुरुसुरुमा त वन्दनाको एसएमएसको वानीलाई छुटाउन एनसेलमा शुभरात्री सन्देशको सव्सक्राइव गरे । तर त्यसमा गुगलवाट खोजिएका केही सन्देशहरु आउँथे र दोहोरिरहन्थे । वन्दनाले पठाएका जस्ता जीवन्त लाग्दैनथे । अनि अनसव्सक्राव गरे ।

यसै गरी, धेरै दिन निदाइन । इन्टरनेटमा रातभर वसे । फेरी जागिर नै विमान उडाउने । उडाउँदा उडाउँदै निदाइयो भने के गर्ने ? आफ्नो लागि भन्दा पनि यात्रुहरुको जिम्मेवारीवोधले सुत्न जान्थे । मेरी पत्नी साथमा भइदिएको भए शायद वन्दनाको एसएमएसको सहारा लिएर निदाउनु पर्ने त थिएन जस्तो पनि लाग्थ्यो । मेरो पत्नीको मोवाइलमा मेरो एसएमएस जान्थ्यो तर उनकोवाट रिप्लाइ गर्ने सेवा थिएन । अनि रिप्लाइ नभए पछि एकोहोरो पठाउँदा पनि जीवन्त हुने रहेनछ । एसएमएस पढिन् पढिनन्, प्रतिक्रिया के जनाइन्, केही थाहा नहुने ।

म पनि मेरी पत्नीसंग पुगेको दिन देखि तिमीलाई कहिले पनि संझिने छैन – कहिलेकाहिँ मनमनै वन्दनालाई भने । तर फेरी मनसंगै भने – यो संभव छैन, कुनै नाता छैन, कुनै सम्वन्ध छैन, मेरो श्रीमतीलाई जस्तो माया तिमीलाई गर्न पनि सक्दिन तर भुल्न पनि त सक्दिन, म तिमी जति निठुर हुन सक्दिन ।

एकदिन थुप्रैवेर इन्टरनेटमा अल्मलिए पछि ओछेनमा पल्टिए । श्रीमतीलाई संझिए । छोराछोरी संझिए र अन्तमा पनि वन्दनालाई संझिए । वोध हुने कुनै सम्वन्ध नै नभए पनि कतै न कतै वन्दना दिलमा थिइन् र रही रहनेछिन् । अव मोवाइल ओछेनमा राख्ने पहिलाको वानी पनि परिवर्तन भइसकेको थियो । किनकी वन्दनाको शुभरात्री सन्देशको एसएमएस आउँदैनथ्यो ।

मध्यरातमा एसएमएसको संकेत सुनें ।

विश्वास नलागी गएर हेरें ।

वन्दनाको एसएमएस थियो ।

लेखिएको थियो – अधुरो लाग्यो ।

Source:- Sahityasangrahalaya

About Admin 95 Articles
For beautiful eyes, look for the good in others; for beautiful lips, speak only words of kindness; and for poise, walk with the knowledge that you are never alone.....so join our site and get knowledge of every field...

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*