कथा-एक रात

“ड्याड् ! आई लेफ्ट अ लेटर अन योर राईटीङ टेबल ।” मेरी अंग्रेज बुहारीले भनिन् ।
उनलाई धन्यवाद भन्दा म यहि सोच्दैथिएँ – को नै छ र मलाई चिट्ठी लेख्ने ? ३४ बर्षदेखी बोस्टनमा बसोबास गरिरहेको मेरो सारा सम्पर्क मेल, टूइटर र फेसबुक मै सिमीत थियो भने कसले लेख्यो होला मलाई चिट्ठी ? उत्सुकता भन्दा आश्चर्य बढि लागीरहेको थियो मलाई ।

एकछिन नातिनीको तोतेबोलिमा रमाएर खाना खाईवरी “गुड नाईट” भन्ने, सुन्ने औपचारिकता पुरागरेर सुत्नेकोठामा पस्ता ९:१५ जति बजेकोथियो । सुत्नु अघि एक डेढ घन्टा कम्प्यूटर अगाडि बिताउने मेरो सँधैको दिनचर्याथियो ।  घडीको सुईसँगै दौड़ने यो सहरको अति ब्यस्त जीवनसँग अलिकती राहतको पल खोसेर आफ्ना भावनाहरुलाई कबिता र गजलमा ब्यक्त गर्थे म, यो एक दुई घन्टा ।
कबिता कोर्ने सोख सानै देखी थियो मलाई । उमेरले यो सौखलाई परिपक्वमात्र बनाएकोछ घटाएकोछैन ।

कम्प्यूटर अगाडि बस्दा बस्दै मेरो आँखा छेवैको चिट्ठीमा पर्यो । उठाएर हेरेँ । लेखाई परिचित लागेन । एक मनले सोचेँ ‘ भोली शनिबारै त हो, भोली फुर्सदमा पढछु’ तर फेरी यो जान्ने उत्सुकताले-यत्रा बर्षमा कसैले कहिल्यै चिठ्ठी पठाएका थिएनन्, अहिले कसले पठायो होला यो चिट्ठी ? मैले चिट्ठी खोलेँ ।
सफा अक्षरमा लेखिएको त्यो चिट्ठीको सम्बोधन पढेर एकपटक मेरो आँङ जिङरिङभयो तर मैले पढन रोक्न सकिन ।

‘सरबन,
यत्रा बर्षपछी आफ्नो नाम यसरी बोलाको सुनेर छक्कै पर्छौ होला तिमी । माफी माँगेहै, तिमीलाई यसरी बोलाकोमा । तर मेरोलागी त तिमी त्यहि हौ, सरबन, मेरो सरबन ।’ एकाएक मलाई उकुस मुकुस भएर आयो मैले हातको चिट्ठी कच्याककुचुक पारेर नजिकैको बिनमा हालिदिएँ । मन अचानक उम्लेर आयो । कोठाको तपक्रम अचानकै ४५ डिग्रीमा पुगेजस्तो लाग्यो मलाई । निक्कै बेर म उठेर कोठामा यताबाट उता गरिरहें । फ्रिजको पानी सधैँ परहेज गर्ने मान्छे म, गएर फ्रिजबाट एकबोतल पानी झिकेर ल्याएँ र एकसासमा आधाबोतल रित्याएर म टाउको थामेर कुर्सिमा बसेँ ।

सास ब्यवस्थित भएपछि, सरिर अलि सेलाएपछि मैले बिनबाट त्यो चिट्ठी टिपेरल्याएँ अनि ओछ़्यानमा बसेर फेरी पढनथालेँ ।
‘-जतिसुकै बर्ष बितेपनि मलाई त हिजै जस्तोलाग्छ धनकुटाको कैलाबारी गाउँमा तिमीसँग खेलेको कुदेको । कति गालीगर्थे तिमीलाई तिम्रा घरकाले, भट्टीवाल्नीको छोरीसगँ खेल्यो भनेर तर तिमी कसैलाई टेर्थेनौ ।  म आजपनि तिनछक पर्छु – के चाहिँ मनपर्यो तिमीलाई म मा त्यतिबिधी कि गाली, पिटाई खाएरपनि मसँग भेटन छोड्थेनौ तिमी । मलाई त तिमी यसकारण मन पर्थ्यौ -सफा, सुकीलो, किताप कापी बोकेर स्कूल जाने तिमी म भन्दा भिन्न थियौ ।  तिमीलाई संझनाछ तिम्रो र मेरो भेट ? खोलाले धन्नै बगाएकोथ्यो त्योदिन तिमीलाई ।

बाख्रा चराउन गएकी मैले देखेर बल्ल तल्ल ज्यान माया मारेर तानेथेँ तिमीलाई त्यो भङ्गालोबाट । आफुभन्दा ठुलो ज्यानको तिमीलाई खै कसरी मैले एक्लै ताने पानी बाट बाहिर ? बाबै नि आज पनि संझदा सातो जान्छ मेरो । अर्धबेहोस तिमीलाई पाखामा तानेर मलाई यस्तो लागेकोथ्यो त्यो दिन-मैले आफ्नो जीवनको सर्बश्रेष्ट काम गरेथेँ । कति सत्य थियो मेरो सोचाई ?  म अझै पनि सपनामा देख्छु यदाकदा । त्यो धमिलो पानीमा छटपटाउँदै हार गुहार गरेर रोईरहेको तिमी अनि तिमीलाई बचाउन आँखै नहेरी पानीमा हाम्फालेकी तर डरले सातो उडेर रोईरहेकी म । म अझै भन्न सक्दिन की त्यसबेला तिमी डुब्ने डर धेरै थियो मलाई या आफू डुब्ने ?

म त तिमीलाई सँधै देख्थे बख्रा चराउन जाँदा । तर तिमीले पहिलो पटक मलाई देखेथ्यौ या भनौ याद गरेथ्यौ त्यो दिन ।निक्कैबेर सम्म हामी त्यहिँ बगर मै लडिरहेयौं चुपचाप । उठेर बाटो लागी सकेपछि के संझेर फेरी फर्केर आयौ तिमी कुन्नी ? मेरो छेउमा अडिएर हिचकीचाउँदै सोधेकाथ्यौ-‘नाम के हो ?”सिरी माया ।’ मैले बिस्तारै भनेथेँ । तिमी फेरी बाटोलाग्यौ । त्यसपछी केही दिन तिमी देखापरेनौ । म रानो हराएको माहुरी जस्तै तिम्रो स्कूल जाने बाटो हेरीबसेँ ।

केही दिनपछि तिमीले स्कूल जान सुरुगरेउ । स्कुलबाट फर्कदा सधै त्यहि बाटो बाट आउँथ्यौ तिमी, जहाँ म बाख्रा चराई रहेकी हुन्थेँ ।
अफ्टेरोमान्दै सुरुभएको हाम्रो बोलचाल कतिबेला त्यति गाढा हुनपुग्यो हामीले नै पत्तो पाएनौँ ।

तिमीले नै मलाई पहिलो अक्षर चिनायौ । अक्षरको अर्थ बुझायौ । यादछ तिमीलाई ? स्कूलबाट आएर तिमी मलाई लेख्न पढन सिकाउन कति मेहनत गर्थ्यौ ? मैले ध्यान नदिदाँ तिमी कुनै उमेरदार मान्छेले जस्तैगरि मलाई संझाउँदै भन्थ्यौ ‘ श्री ! पढन लेख्न नजानेको र अंधो मान्छे उस्तै हुन्छ ।’ तिम्रो मेहनत र संझाईको असरले मेरो ध्यान कतै भाग्न दिन्थेन । किनकी तिम्रो हरेक कुराले लोभ्याउँथ्यो मलाई, त्यसबेला ।त्यही प्रलोभनमा परेर आमासँग स्कुल हालिदेउ भनेर जिद्दीगर्दा खाएको पिटाईपनि बिर्षेकी छैन मैले ।

दश बर्षको, एघार बर्षको, बाह्रै बर्षको हुँदा सम्म हाम्रो मित्रतामा ग्रहण लागेन । सुरक्षित रह्यो यो । त्यसपछी सायद यो समाजको (कु) दृष्टी पर्यो मेरो फस्टाउँदै गएको सरिरमा । चारै तिर कुरा हुन थाल्यो -एउटी भट्टीवाल्नीको छोरी र एउटा ब्रम्हणको अति योग्य छोरोको बिच मित्रता कसरी हुनसक्छ ?कुरा, समय सँगै निन्दा र बिरोधमा परिणत भयो तर तब सम्म धेरै ढिला भैसकेथ्यो ।

जन्मै देखि एउटा निश्चित पेसाको उत्तराधिकारी तोकेथ्यो मलाई यो समाजले । मेरी आमाले जस्तै रक्सीमा सरिर मिसेर बेच्नु, म जस्तै एउटी अर्की बिना बाबुकी म जन्माउनु अनि अनादी काल देखी चलिआएको यो परंपरालाई निरंतरता दिईरहनु, यहि नै थियो मेरो पनि नियती । तर तिमी त यस्तो यौटा पारस थियौ सरबन जसलाई छोएको भरमा म त्यो श्रापबाट मुक्तभएँ ।

आफ्नी आमाको त्यो झिलीमिली सिंगार पटार, ति हरेक रात आमाको कोठाबाहिर फुकालीएका भिन्न भिन्न जुत्ताहरु, ति साङ्केतिक भाषा र हाउभाउ बुझ्नुभन्दा पहिल्यै, सरिर जवान हुनु भन्दा पनि पहिल्यै मेरो मनले तिमीलाई बरण गरीसकेथ्यो । यो’सिरी’ त सरबनकी भैसकेकी थिई । अब ऊ अरु कसैकी हुने कुरै काँहाँ आउँथ्यो र ?

कति गारो थियो नि त्यो समय तिम्रोलागी ? समाज र घर परिवारले जति बिरोध गर्थ्यो त्यति तिमी छाति ठोकेर गर्जन्थ्यौ ‘श्री माया मगर मेरीहो ।’ गाउँ कै हुनेखाने, ठुलाबडाको पुलपुलिएर हुर्केको छोरो तिमी, तिम्रो अगाडि या तिम्रो परिवारको अगाडि कसैको केहि भन्ने हिम्मत नभएपनि पछाडि सबै एकमुख लागेर भन्थे- ‘मती भ्रष्ट भएको पन्चे (प्रधान पन्च) नानिको छोराको । कहीँ नपाएर मतवाली जातमा जातफाल्ने भए । जति नै राम्री भएपनि बाउको ठेगान नभएकी, भट्टीवाल्नीकी छोरी न हो ?’ तर तिमी त तिमी थियौ सरबन, तिमीलाई संझाउन, बुझाउन, मनाउन कसैले सकेन । त्यसैले तिमी सहर गएको मौका छोपेर बाहुनी आमा (तिम्री आमा) ले मलाई घरमा बोलाउनु भाथ्यो त्यो दिन ।

Writer : सानु शर्मा

रुँदै, हात जोडदै वहाँले भन्नुभाथ्यो- ‘सिरी माया, एउटै छोरोछ मेरो, कति भगबान भाकेर कति मन्दिर धाएर जन्मेको । पाँच दाजु भाईको घराँ यही एउटा छोरोछ हाम्रो काज किरीया र श्राद्धगर्न । पिण्ड दानगर्न । तेरो पछि लागीरह्यो भने भात पानी बारी दिन्छ समाजले । सिरी माया तँलाई चित्तबुझ्छ सरबनलाई समाजले भात पानी बारेको ? यत्रो सुख सयलमा हुर्केको मेरो छोरो काँ जान्छ ? केगर्छ ? तँलाई निको लाग्ला मेरो सरबन तेरी आमाको भट्टीमा गएर जाँड रक्सी बेच्दा ? सिरीमाया, मेरो छोरोलाई छोडीदे, म तेरो खुट्टै ढोग्न परे पनि ढोग्छु । बिन्ती मेरो, मेरो सरबनको वरत्र परत्र नबिगारीदे ।’ म परेँ सोझी साझी मगर्नी । त्यो दिन तिम्री आमाको बिलौना र वहाँले कोरेको तिम्रो भबिश्यको भयावह चित्रले त्रसित मैले वहाँसँग तिमीलाई छोडीदिने बचन दिएँ । वहाँ ले बदलामा मलाई खेत,बारी घर लेखाईदिन्छु भन्नुभयो तर मैले वहाँ सँग एक झुत्तो पोते र एक डिब्बा सिंदुर मात्रै मागेँ । छक्कपर्दै वहाँले त्यो मलाई दिनुभयो । उत्तीखेरै ।
म घर फर्किएँ ।

तिम्री आमालाई बचन दिए जति सजिलो थिएन तिमीलाई छोडनु त्यो मलाई थाहाथियो ।त्यतिबेला मलाई माहिला सुब्बाकी छोरी देबि दिदीले मद्दत गरिन । तिमी सहरबाट फर्कनु भन्दा पहिलै म दिदीसँग उनको मावली गाउँ गएँ । उनले म खडे मगरसँग भागेको हल्ला गाउँभरी फिंजाई दिईन । तिमी गाउँ फर्कदा म थिईन तर त्यो हल्ला सर्बत्रथियो । तिमीले हल्ला पत्यायौ की पत्याएनौ थाहाछैन तर मेरो सिउँदोको सिंदुर र गलाको पोतेको झुत्तोलाई पत्यायौ ।मैले देबि दिदीको मावलको गाउँको भगवती मन्दीरमा आफ्नै हातले तिम्री आमाले दिएको सिंदुरले आफ्नो सिंउँदो भरे । तिम्री आमाको पोतेको झुत्तो घाँटीमा भिरेर आफुलाई जन्मौं जन्मकोलागी तिम्री अर्धाङि्नी घोसणा गरेकी थिएँ ।

म गाउँ फर्केर आउने बित्तिकै तिमी हतारीदैँ आयौ मलाई भेट्न । मैले आफुलाई खुब तयार गरेकी थिएँ तिम्रो सामना गर्न तर मैले केहि गर्नै परेन । केही भन्नैपरेन । मेरो सिंउँदोमा सिंदुर र गलामा पोतेको झुत्तो देखेर तिमीले मेरो गालामा झापड हानेर भनेका थियौ- ‘ठिकै भन्थे सबैले । मतवाली जातको भरोषा नगर्नु । मैले गरेर गल्ती गरेछु भरोषा गरेर, तर अब म आफ्नो गल्ती सधार्छु । अब म यो गाउँमा कहिल्यै फर्केर आउँदीन । सात दिन मलाई कुर्न नसक्ने भट्टीवाल्नीको छोरीसँग सारा जीवनको साथको चाहनाराख्नु मेरै गल्तीहो ।
तर पनि सिरीमायाँ, तँलाई पनि तेरी आमालाई जस्तै लोग्नेमान्छे फेर्ने रहर थियो भने मसँग भनेको भए हुन्थ्यो । कमसेकम म पनि एकरात तँ सगँ बिताएर हेर्ने थिएँ ।”

त्यसपछी तिमी मतिर फर्केर नहेरी दौड्दै ओरालो झरेउ । मलाई थाहाथियो तिमी रोईरहेका थियौ तर तिमीलाई के थाहा म कति रोएको थिएँ त्योदिन ।त्यो दिन तिमीले मलाई पहिलो पटक ‘सिरीमाया’ भनेर बोलाएका थियौ । मलाई खास दुख त्यसैमा थियो । म श्री बाट सिरीमायाँ भएथें तिम्रोलागी त्यो दिन ।मैले सुने-तिमी त्यहीदिन काठमाण्डौ हिडेउ घरमा झगड़ा गरेर । अनि केही महिना पछी अमेरीका । मेरो पनि मानौ दानपानी उठ्यो त्यहाँबाट । देबि दिदीको बिहेपछी म पनि काठ्माण्डौ आएँ । धेर थोर पढनलेख्न तिमीले सिकाईदिएका थियौ । देबि दिदीको लोग्नेले एकठाउँमा काम लाईिदनुभयो । कमगर्दै पढदै पनि गरीरहेँ म ।

दिनहरु बितीरहे । म फेरी फर्केर गाउँ गईन । तर तिज तिहारमा माईत गईरहने देबिदिदी द्वारा मैले तिम्रो सारा खबर पाईरहेँ । तिमी वकील भएको । नाम र पैसा कमाएको । ठुलोघर र जातकी पढेलेखेकी केटीसगँ तिम्रो बिबाह भएको । तिम्रा दुईवटा छोरा जन्मेको । तिमी बैरिस्टर भएको अनि तिम्रो स्वास्नी सँग पार पाचुके भएको पनि ।

बिस्तारै देबि दिदीको परिवार पनि अमेरीका तिर लागे डिभी परेर । तिम्रो खबर पाउन छोड़ेँ मैले । यदाकदा देबि दिदी तिम्रो बारेमा पनि लेख्नुहुन्थ्यो आफ्नो चिट्ठीमा,त्यसैले पनि मलाई वहाँको चिट्ठीको प्रतिक्षा रहन्थ्यो सँधै ।

थाहाछ सरबन, तिम्रो अनुपस्थितीमा पनि म कहिल्यै एक्लो भईन । तिम्रो याद र तिम्रो नामको यति बाक्लो भिडथियो मेरो जीवनमा – म उदाश र एक्लो कहिल्यै भईन । मेरो त घर परिवार माईती मावली सखा संगीनी सबै तिमी सरवन ! त्यसैले मेरा दशैं तिहार तिज सबै तिमी नै तिमीले सजिएका हुन्थ्ये । म मेरो ओछ्यानमा कुनैरात एक्लै सुतिन । तिम्रो याद, तिम्रो कल्पना र सपना त्यहाँ सँधै उपस्थित हुन्थे मलाई अँगालोमा बेरेर निदाउन । म मन, बचन र कर्मले तिम्री थिएँ, आजपनिछु र सधैँ रहनेछु ।

मलाई तिमीबाट कुनै कुराको अपेक्षा छैन, सत्ये । जे जति तिमीले मलाई दिएकाछौ सरबन, त्यो नै मनग्गेछ मेरोलागी बाँच्न । खुशी खुशी बाँच्न ।यतिका बर्षपछी देबि दिदीलाई भेटेथेँ तिजमा पसुपती जाँदा । वहाँलाई नै खोजिदिन भनेथेँ मैले तिम्रो ठेगाना । तिमी भन्लाउ ‘ के जरुरी थियो यतिका बर्षपछी यो सबैकुरा लेख्न ?’जरुरीछ सरबन, त्यसैले नै लेख्दैछु । नत्र त म तिम्रो नामको साथमै खुशीथिएँ ।

पहिलो, म तिमीलाई धन्यबाद दिन चाहन्थे जुन मैले पहिले कहिल्यै दिन जानिन, दिन सकिन तिम्रो त्यो अमुल्य माया र साथको लागी जसले मलाई मेरो निष्चित नियतिबाट बचायो । दोश्रो, म आज तिमीलाई यो भन्न चाहन्छु की माया, समर्पण र भरोषा कुनै जात र बर्गमा मात्र बाँधिएको हुँदैन । तिमी ब्राम्हण, त्यसैले तिम्रो मायाँ गाढा । म मतवाली, मगर त्यसैले मेरो माया हल्का कहिल्यै हुदैन ।

सरबन, माया जात र धर्मसँग होईन मनसँग हुन्छ होईनर ?
तेश्रो कुरा, यादछ त्यो छुट्टीने दिन तिमीले भनेको कुरा ? भनेका थियौ नि ‘म पनि एकरात बिताएर हेर्थे नि तँ सँग’ हो त्यही एकरात, तिमी अझै पनि चाहन्छौ मसँग बिताउन भने तलको ठेगानामा आउ न है ? तर ढिलो नगर । किनकी डाक्टरले भने अनुसार मेरो मुटु एकदमै कमजोर भएकोछ रे । कुनै पनि बेला म यो संसार छोडन सक्छु रे । तर जानुभन्दा अघि तिमीले ईच्छाएको मेरो जीवनको एकरात म तिमीसँग बिताएर जान चाहन्छु । नत्र के थाहा यो एकरातको बदलामा तिमीले अर्को सिंङ्गै जन्म मसँगै बिताउनु पर्ने हो की ?
तिमी आउ न आउ सरबन, प्रतिक्षा गर्ने हक त छ नि मलाई ? जसरी पाउने हक नभएपनि अपनाउने हक थियो ।
सदा तिम्री
‘श्री श्रवण’

चिट्ठीको अन्त्य सम्मपुग्दा नपुग्दै मलाई लाग्यो मेरो छातीको देब्रेभाग नराम्रोसग कसिदैछ । मैले उठन खोजेँ । लडखडाएँ । पलंको छेउ थाम्ने कोशिश गरेँ तर सकिन । चिच्याएर छोरालाई बोलाउन खोजेँ तर घाँटी यस्तरि अबरूद्ध थियो की आवाज निस्कन सकेन । म धरमराएर भुईमालडेँ ।

होस आउँदा म अस्पतालमा थिएँ । माईनर हार्ट अट्यक भएको थियो मलाई ।छोरा बुहारी डाक्टर सबै कराईरहे तर म कसैको एक नसुनी जबरजस्ती अस्पतालबाट डिस्चार्ज भएर सिधै एयरपोर्ट पुगेँ ।
अनेक तरह सँग टिकट मिलाएर म नेपालको लागी उडेँ ।

थाहाछैन कति ढिलो भैसकेथ्यो ? म बाटो भरी उसको कुशल मंगलको कामना गरिरहेँ भगवानसँग । सारा समय मैले आँखा झिमीक्क गर्न सकिन । आँखामा अटाई नअटाई उसकै चित्र चित्रित भैरहे । अबोध, शुन्दर, पबित्र ।

म उसको ठेगानामा पुग्दा उसको कोठाको ढोका खुल्लाथियो । मानिसहरु, कोही कोठा भित्र कोही बाहिर, एक आपसमा कुरा गर्दैथिए । ‘कठै बिचरी, जाहान बिदेशमा हुनुहुन्छ भन्थिन । अरु त आफ्ना आउनेजाने कोही छैनन बिचरीका । अब सतगती कसले गर्ने लौ ?’ म बिस्तारै उनिहरुको बिचबाट भित्र छिरेँ ।
बिछौनामा ऊ मानौ चिर निन्द्रामा थिई । अनुहारमा कुनै पिडाको भाव थिएन । शान्त । उस्तै शुन्दर । टुप्पि सम्म लामो सिन्दुरको धर्को । घाँटीमा मोटो, रातो झुत्तो पोते । रातो मोहोर जत्रो टिका निधारमा । रातै फरिया चोलो । म मन्त्रमुग्ध उसैलाई हेरिरहेँ एकटक ।
‘तपाई को?’
पछाडिबाट कसैले सोध्यो ।
‘ म उसको श्रीमान । भरखर बिदेश बाट आउँदैछु ।”मैले अबरुद्ध कन्ठले भने र अघिबढेर उसको सरिरलाई अँगालोमा बेरेर छातीमा टासेँ । आँखा यसरी बर्ष्यो मानौ ३४ बर्षको कसर पुरा नगरी यि आँशु अब रोकीने छैनन् ।

‘ए वकील नानी पो?’ एउटी आइमाईले अली अघि बढेर फरीयाको सप्कोले आँशुपुछ्दै भनिन्- “सारै अबेर गरी आउनुभयो बाबु । हिजो साँझ मात्रै ‘मेरो वहाँ आउनुहुन्छ आज भोलीमा’ भनेर भान्छा कुरी बसेकी थिईन । कठै बिचरी ! तल बाट माथि उक्लेर छिनको छिन मै गईन । एकै घन्टा अघि आईपुग्नुभा भएनि बिचरीले अनुहार देख्न पाउँथिन । कठै बरा !”
मैले झुकेर उसको निधारमा चुम्दै बिस्तारै भने – “ठिकै गरेउ श्री तिमीले । मलाई तिम्रो एकरात होईन जन्मौंको साथ चाहिन्छ । तिमी पुग्दैगर म पनि पछीपछी आउँछु । यसपटक ३४ बर्ष कुराउँदीन म तिमीलाई, सत्ते ।’ मैलै उसको आँखामा, ओठमा चुमे । अचानक मेरो छातीको देब्रेभागमा एउटा नमिठो पिडाको लहर उठ्यो । सास रोकीएला जस्तो भयो । मैले कसेर उसलाई छातीमा टाँसे । त्यो दिन र रातको संघारमा म मेरी श्री लाई दरोसँग छातीमा टाँसेर उसैको ओछ़्यानमा डङरङं लडेँ !!!!
******

About Admin 95 Articles
For beautiful eyes, look for the good in others; for beautiful lips, speak only words of kindness; and for poise, walk with the knowledge that you are never alone.....so join our site and get knowledge of every field...

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*