कथा-परिस्थिति : : सानु शर्मा

Writer : सानु शर्मा
“म त फर्कन्न है नेपाल, मैले भन्दिया छु ।” 
उसले दुई बर्ष समीरको घरमा बेहोरेको बुहार्तन र रोकटोक सम्झेर मुख अमिलो बनाउँदै भनी –
  “कि त तिमी अंश मागेर छुट्टै बस्ने व्यवस्था मिलाऊ, कि यहीँ बस्ने उपाय खोज ।” 

“के भन्यो लयरले ?” मेघाले काँधको ब्याग सोफामा फ्याँक्दै आशापूर्ण स्वरमा सोधी । 

समीरले दायाँ बाँयाँ टाउको हल्लायो । मेघाको अनुहारमा निराशा पोतियो । थाकेको शरीरले सोफामा आश्रय खोज्यो । निक्कै बेर दुबै केही बोलेनन् । तर दुबैको अनुहारमा आँधी बेहरी चलि रह्यो । 

अन्त्यमा मेघाले नै मुख खोली “म त फर्कन्न है नेपाल, मैले भन्दिया छु ।” उसले दुई बर्ष समीरको घरमा बेहोरेको बुहार्तन र रोकटोक सम्झेर मुख अमिलो बनाउँदै भनी – “कि त तिमी अंश मागेर छुट्टै बस्ने व्यवस्था मिलाऊ, कि यहीँ बस्ने उपाय खोज ।” 

“कोसिस गरि रहेको छु । अब के, ज्यानै दिऊँ ?” समीर झर्कियो – “अनि अलग कोसँग हुनु ? परिवारमा सबै भन्दा ठुलो मैं हुँ । घर मुली बाबा हुनुहुन्न । आमा र ती बहिनीहरूसँग अलग भएर बस्दा के भन्छन् मलाई नातेदारहरूले ? अनि के भन्छ यो समाजले ?” 

“जे सुकै गर तर म गएर फेरि तिम्री आमासँग बस्न सक्दिनँ । आउने बेलामा त्यत्रो फुर्ती  लाएर आइयो, अब कुन मुख लिएर फर्केर गएर त्यही घरमा बसेर तिम्री आमाको अनावश्यक दवाव सहनु  ?” मेघाले भनी । 

समीर असहमत कहाँ हो र मेघासँग ? तर परिस्थिति त्यस्तै थियो । 

ब्याचलर सक्दा नसक्दै आमा र नातेदारको एउटै कुरा नसुनी ठकुरीकी छोरी मेघालाई भगाएको थियो उसले । आफ्नो कमाइ धमाइ थिएन । त्यसैले एक महिना यता उता डुलेर साथी भाइसँग सरसापट गरेको पैसा सकिएपछि ऊ मेघालाई लिएर घर फर्केको थियो । 

आमाको लागि बाबु विनाको एक्लो छोरोको गल्ती बहकाइ भयो भने बुहारीको गल्ती अक्षम्य । उनले छोरालाई खुल्ला हृदयले स्विकारीन तर बुहारीलाई उपकार गरेझैँगरि घरमा आश्रय दिईन ।

“मेरो छोरो कहाँ त्यस्तो हो र ? अरूको ललाइ–फकाइमा लागेर पो ।” आमा बारम्बार भन्थिन्, जुन सुनेर मेघालाई असह्य हुन्थ्यो । दोहोरो मारमा त बिचरी उही परेकी थिई । समीरलाई त उसकी आमाले घर भित्र्याइन् तर उसका बाबु आमाले उसको मुख नहेर्ने कसम खाए । 

त्यसो त दुबै परिवारको स्थिति राम्रै थियो । मेघाका बाबु आमा दुबै राम्रो ठाउँमा, राम्रो पोस्टमा जागिरे थिए । काठमाडौंमा आफ्नै बडेमानको घर थियो जसबाट 

उठेको भाडाले नै परिवारलाई छेतोखेलो पुग्थ्यो । फेरि परिवारमा थियो नै को र ? बाबु, आमा, ऊ र एउटा दाइ । 

समीरको पनि पारिवारिक स्थिति नराम्रो थिएन । बाबु बिते पनि उनले भन्सारबाट कुस्त कमाएका थिए र सम्पत्तिको राम्रो जोडजाम गरि दिएका थिए । नारायणघाट बजारमा दुई वटा सटर भएको घरबाट प्रशस्तै पैसा उठ्थ्यो । त्यसमाथि दुई चार वटा घडेरी बजार छेउछाउमै थिए । भरतपुर चोकैको छेउमा ठुलो घर थियो जहाँ उसकी आमा उसका तिन बहिनीहरूको साथमा बस्थिन् ।  समीरलाई उसको बुवाले सानै उमेर देखी काठमाडौँको निकै नामचलेको स्कुलमा बोडर्स राखि दिएका थिए, राम्रो शिक्षा दिक्षाको लागि । 

मेघा पनि त्यही स्कुलमा पढ्थी । पछि उनीहरूको कलेज पनि एउटै भयो जहाँ उनीहरूले एक अर्कालाई मन पराए र परिवारको विरूद्ध बिहे पनि गरे । 

समीरकी आमाको मेघासँग कहिल्यै कुरा मिलेन । मिलोस् पनि कसरी ? दुर्भावना र असहमतिका साथ सुरू गरिएको सम्बन्ध कसरी सहज हुन्छ ? उनी सोच्थिन्– उनको सोझो साझो छोरोलाई ठकुरीकी छोरीले सम्पत्ति देखेर फसाई ।

उनी यस किसिमको आफ्नो सोचलाई कसैबाट लुकाउने कोसिस पनि गर्दैनथिन् । अरूको के कुरा, मेघासँग पनि लुकाउँदिनथिन् ।  उनी मेघालाई निचा देखाउने कुनै मौका छोड्थिनन् बरु यस्तो वातावरण श्रृजना गरेर मेघालाई बारंबार होच्याउँथिन । आफ्नी आमामै आश्रीत समीर आमाको सामु बोल्नत के टाउको उठाउन सक्थेन । 

खुशी र सुखको सपना देख्दै सुरु भएको सम्बन्ध कुनै बाटो नभेटेर अलपत्रमा पर्यो । मेघा सासूको रिस समीरमाथि पोख्थी अनि समीर आफ्नो लाचारी मेघामाथि उतार्थ्यो । सपनाको जमिनमा मायाको जुन बिरुवा रोपेथे उनीहरूले,जीवनको यथार्थको रापले त्यो सर्न, मौलाउन नपाई ओइलाउँदै थियो । 

उनीहरूले बिहे गरेको आठ-दश महिनापछि समीरले दौडधुप गरेर अस्ट्रेलियाको भिसाको जुगाड गरेर अस्ट्रेलिया उड्यो । ऊ मेघालाई आफ्नी आमाको घोचपेच र बुहार्तन खप्न एक्लै छोडेर गएको थियो । 

११ महिना मेघाले सासूको बुढी औंला तल थिचिएर कसरी काटी, त्यसको मर्म केवल उसैलाई थाहा थियो । 

त्यसैले पनि अस्ट्रेलिया टेकेको भोलिपल्टै देखि ऊ समीरलाई यहीँ पर्मानेन्ट हुने प्रबन्ध मिलाउन कर गर्न थाली । 

वर्ष दिन बिति सकेको थियो तर पर्मानेन्ट हुने कुनै बाटो भेटेको थिएन समीरले । लयरले उसको पढाइका आधारमा पीआर नहुने स्पस्ट पारि दिएको थियो । दुबै चिन्तित थिए । दुबै नेपाल नफर्कन कटिबद्ध थिए तर उनीहरूको कुनै कोसिस सफल हुन सकेको थिएन । 

“एउटा उपाय छ ।” समीरले बिस्तारै भन्यो । 

“के ?” मेघाको थकित शरीरमा अलिकति सजगता आयो । ऊ अलि सिधा भएर बसी । 

समीरले अन्कनाउँदै भन्यो –“पेपर म्यारिज ।” 

“मतलब ?” मेघाले सोधी । 

“मतलब, हामीमध्ये एकले यहाँको रेसिडेन्टसँग कोर्ट म्यारेज गर्यो भने पर्मानेन्ट हुन पाइन्छ ।” 

“छि !” मेघाले भनी – “कसरी हुन्छ त्यस्तो ? हामी त पहिल्यै विवाहित हौँ ।” 

“अर्काे कुनै उपाय छैन, भिसा सकिएपछि घर फर्कनु या इलिगल बस्नु बाहेक ।” 

निक्कैबेर घोरिई मेघा अनि समीर चुपचाप उसैलाई हेरिरह्यो । 

“इलिगल बस्ने त कुरै आउँदैन । टाउको माथि झुन्डिएको तरवारको तल म त बाँच्न सक्दिनँ । तर फेरि पेपर म्यारिज ?” 

समीर मेघाको नजिक सर्यो अनि उसको हात थाम्दै भन्यो –“कागजमा बिहे गर्दैमा बिहे हुन्छ र ? एक अर्कामा विश्वास र समर्पण हुनु पर्छ । कागजमा गरेको एउटा जाबो सहीले केही फरक पर्दैन क्या ।” 

समीरले एकैछिन मेघालाई हेर्यो अनि कोमल स्वरमा भन्यो –“हेरौँ, कोसिस गरौं तर कोसिस सफल भएन भने यही उपाय बाँकी रहन्छ । या त तिमी या मैले पेपर म्यारीज गर्नुपर्छ । यस बारेमा सोचि राख । नेपाल नफर्कने हो भने केही त गर्नै पर्छ, होइन र ?” 

मेघा सहमत थिई ऊसँग । तर यो ‘अरू केही’ अर्थात पेपर म्यारिज सँग ऊ सहमत हुन सक्दैसकिन त्यस बेला । 

अर्काे छ महिना बित्यो । 

अब मेघाको भोक निद्रा हरायो । हरेक रात सपनामा देखिने सासूको अनुहारसँग त्रस्त भएर उसले समीरलाई ‘जे गरेर भए पनि पीआरलिने’ जिम्मा दिई । 

समीर आफ्नो या मेघाको लागि पार्टनर खोज्न थाल्यो । 

केही दिनपछि समीर एकजना केटा लिएर घर आयो । 

“मिट माइ फ्रेन्ड ड्यानियल किम ।” उसले गठिलो शरीरको, आफू भन्दा कमसेकम एक हात अग्लो, गोरो, एसियन जस्तो देखीने युवकतर्फ औंल्यायो । युवक मेघातिर हात बढाउँदै मुस्कुरायो । साथै उसका दुबै गालाका खाल्डा पनि मुस्कुराए । मेघाले केही अप्ठ्यारो मान्दै आफूतिर बढेको उसको हातमा आफ्नो हात राखि दिई । 

“माइ वाइफ, मेघा ।” समीरले भन्यो ।
“नाइस टु मिट यु ।”
“मि टु ।” मेघाले अप्ठ्यारो मान्दै आफ्नो हात उसको हातबाट थुती । 

समीरले भने अनुसार ड्यानियल समीरसँगै फ्रुट्स् एन्ड भेजिटेवल्स पसलमा काम गर्थ्यो । ऊ अस्ट्रेलियन सिटिजन थियो । यतिखेर ऊ ल पढ्दै थियो । भर्खरै किनेको महँगो गाडी र ल को महँगो पढाइको फिसको बोझ कम गर्न ऊ साठी हजार डलरमा मेघासँग पेपर म्यारिज  गर्न तयार थियो । 

मेघा अझै हिच्किचाई रही तर समीर एकदमै कन्फिडेन्ट थयो । 

समीरले अनेक पापड बेलेर नेपालबाट डिबोर्स पेपरको व्यवस्था मिलायो । मेघाले बडो खिन्न मनका साथ, भिजेका आँखाले समीरलाई हेर्दै पेपरमा साइन गरी । 

“केही हुन्न लाटी, कागजमा मात्र डिबोर्स गरेको त हो नि, ट्रस्ट मी, सबै ठिक हुन्छ ।” समीरले मेघालाई सम्झायो । 

“हे भगवान, सबै ठिक होस् ।” मेघाले कामना गरी । 

अर्काे दुई हप्तामा समीर र मेघा ड्यानियलको अपार्टमेन्टमा सरे । 

कोरियन ब्याकग्राउन्डको ड्यानियलको बाउ कोरियन र आमा अस्ट्रेलियन थिए, जो मेलबर्नमा फ्यामिली बिजनेस चलाएर बस्थे । ड्यानियल यहीँ जन्मे हुर्केको थियो । २२ बर्षको उमेरमा जब उसले स्वतन्त्रतापूर्वक सिड्नी आउने निर्णय गर्यो, उसका बाबु आमाले यो ब्रान्ड न्यू अपार्टमेन्ट किनेर उसलाई गिफ्टमा दिएका थिए । 

उसको भब्य अपार्टमेन्ट एकदमै पायक पर्ने ठाउँमा थियो, जहाँ ऊ एक्लै बस्थ्यो उनीहरू आउनुभन्दा पहिले । 

उसको अपार्टमेन्टमा सरेपछि मेघालाई ड्यानियलको पार्टनरको रूपमा स्थापित गर्न उनीहरू धैरै ठाउँमा घुम्न गए । ती सबै ठाउँमा समीरले मेघा र ड्यानियलका एक-आपसमा हात समातेका, अँगालो हालेका, गाला जोडेका थुप्रै फोटो खिच्यो । मेघा अप्ठ्यारो मानेर आफैँमा खुम्चिन्थी तर समीर ‘फोटो न्याचुरल हुनुपर्याे’ भनेर मेघालाई बाध्य गर्थ्यो ड्यानियलको अँगालोमा समेटिन । यस्तो बेला मेघा सधैँ आफूलाई र आफ्नो बाध्यतालाई धिक्कार्थी । तर समीर सामान्य नै देखिन्थ्यो । 

यसरी नै अर्काे छ महिना बित्यो । 

बिस्तारै बिस्तारै पहिले जे जे कुरामा समीरको खुबी महसुस हुन्थ्यो त्यो अब खराबी लाग्न थाल्यो मेघालाई । किनकि अब ऊ समीर र ड्यानियललाई दाँजेर, तुलना गरेर हेर्न थालेकी थिई । 

सानो काँठीको होचो होचो समीर झनक्क रिसाइ हाल्थ्यो । चर्काे चर्काे बोल्थ्यो र म जस्तो जान्ने सुन्ने अरू कोही छैन भन्ने घमण्डले ग्रस्त रहन्थ्यो । ससाना कुरामा झगडा गर्न अघि सर्थ्याे । साथी भाइसँग घेरिएर बस्न रूचाउँथ्यो । उनीहरूमाथि रोब जमाउन भए–नभएको पैसा खर्च गरेर जाँड खुवाउँथ्यो । त्यसैले कलेज र कामबाट फुर्सत भयो कि आफ्ना नौरंगी साथीहरू बटुलेर  बोतल खोलेर बस्थ्यो । साथीहरू फ्री मा पाएको जाँड धोकेर अति भएपछि त्यहीँ बान्ता गर्थे, बाथरूमको सत्यानास गर्थे र प्राय: झगडा गर्थे, मुख छाडेर फोहर गाली गर्थे । यहाँसम्म कि हात हालाहाल समेत गर्थे कहिलेकाहीँ । त्यही भएर उनीहरूको पुरानो अपार्टमेन्टमा पुलिसले दुई फेर दर्शन दिएर गइ सकेको थियो । 

तर यहाँ त्यस्तो केही थिएन । 

मृदुभाषी ड्यानियलका केही सँगै पढ्ने साथीहरू थिए जो त्यहाँ आएको र गएको मेघालाई थाहा पनि हुँदैनथ्यो । छुट्टीको दिन ड्यानियल घर सफा गर्थ्यो टिलिक्क पारेर । खाना आफैँ बनाउँथ्यो । फुर्सदको समयमा बाल्कोनीमा बसेर, उसको हाइ राइजको बाल्कोनीबाट देखिने सनसेटको र प्राकृतिक छटाको चित्र कोर्थ्यो या मन्त्रमुग्ध पार्ने ट्युनहरू बजाउँथ्यो गितारमा । 

समीर त्यहाँ आफ्ना साथीहरूको जमात भेला गर्न सक्दैनथ्यो, त्यसैले कलेज र कामबाट फ्रि हुनासाथ घरबाट निस्कीहाल्थ्यो। मेघा सम्झाउन खोज्थी, रोक्न खोज्थी । तर समीरले कहिले पो उसको कुरा सुनेको, बुझेको थियो र अहिले सुन्थ्यो, बुझ्थ्यो ? पहिले पहिले मेघालाई उसका ती सबै आदत मर्दान्गी, मर्दले गर्ने दैनिकी लाग्थ्यो । तर अहिले ड्यानियलको दाँजोमा असुविधाजनक, बचपनाले भरिएको र मूर्खतापूर्ण लाग्न थालेको थियो । 

सुरु सुरुमा मेघा छुट्टीको दिन आफ्नै कोठामा चुप चाप बस्थी समीर बाहिर निस्केपछि । ऊ समीरसँगै नजानुका दुई वटा करण थिए-एउटा उसको अल्कोहलसँगको अरुचि, अर्काे-समीरको ग्रुपमा प्रायः केटाहरू नै हुन्थे । 

 

समीर घरमा नहुँदा कोठाबाट निस्कन अफ्ट्यारो मान्ने मेघालाई ड्यानियल चिया, कफी र खानाको लागि सोध्ने गर्थ्यो । ऊ पन्छिन खोज्थी । तर ड्यानियल आफ्नो लागि बनाएको चिज जबरजस्ती उसको कोठामै ल्याईदिन्थ्यो । मेघालाई उसले त्यसरी ल्याएर दिएका खानेकुरा आफ्नो बेडरुममा बसेर खान अप्ठ्यारो लाग्यो । ऊ बाहिर निस्कनथाली । उसले गरि रहेको काममा मद्दत गर्न थाली । बिस्तारै बिस्तारै उनीहरू बिच कुराकानीको सिलसिला सुरू भयो । 

मन पराई नपराई, समय, परिस्थिति, देश विदेश र संस्कृतिबाट सुरु भएको उनीहरूको कुराकानी ब्यक्तिगत हुन थालेपछि मेघा हच्की । कहाँ जाँदै थिई ऊ ? यो उसको रोजाइको बाटो कहिल्यै थिएन । तर समीरसँग, मात्रै समीरसँग जीवन बिताउने धुनले कता मोड्दै थियो उसलाई ?

ऊ ड्यानियलसँग तर्कने कोसिस गर्न थाली । तर उसको मन उसलाई ड्यानियलतर्फ धकेल्न कोसिस गरि रह्यो । आफ्नो मनसँग त्रस्त मेघाले समीरलाई ड्यानियलको अपार्टमेन्ट छोडेर अन्तै सर्ने प्रस्ताव राखी । समीरले कारण सोध्यो । मेघा आफ्नो कमजोर हुँदै गएको मनको के कारण दिन सक्थी ? फकाएर, घुर्क्याएर, रिसाएर ऊ समीरलाई त्यहाँबाट सर्न कचकच गरि रही । यहाँ सम्म-ऊ समीरलाई नेपालै फर्कन परेपनी फर्कने तर त्यहाँ नबस्ने ताकेता गर्नथाली । मेघाको लगातारको कचकचले आजित भएको थियो समीर तर मेघाको कचकच रोकिएको थिएन । 

त्यो दिन जाँडले टिल्ल भएर घर फर्केको समीरले दरो थप्पड बजायो मेघाको गालामा । मेघाको  कचकचको बदलामा । अर्काे थप्पडको लागि उठेको उसको हातलाई ड्यानियलले दरोसँग थामेर पिठ्यूँ पछाडि मोडि दियो । 

“दिस इज ननअफ योर बिजनेस, स्टे आउट अफ इट, सि इज माइ वाइफ ।” समीर पीडाले विचलित हुँदै करायो । 

“इट इज माइ बिजनेस, माइट ! बाइ अस्ट्रेलियन ल सी इज योर एक्स वाइफ एन्ड माइ करेन्ट पार्टनर । सो, नेक्स्ट टाइम ह्वेन यु डेयर टु डु समथिंङ लाइक द्याट थिंक ट्वाइस । अर आ’ल ब्रेक योर ह्यान्ड एन्ड पुट इट इन योर पकेट ।” उसले शान्त स्वरमा भन्यो र समीरलाई जुरूक्क उचालेर पलङमा फ्याँकि दियो । मेघा थप्पडको पीडाले भन्दा आफ्नो मान्छेको दुत्कार र पराईको स्याहारले मर्माहत भएर रोई ।

त्यो रात उसको साँचो मायाप्रतिको विश्वास र आस्था गल्र्यामगुर्लुम भत्कियो । 

त्यसपछि समीर घरमा कमै देखिन थाल्यो । मेघाको समय, सरुमा नचाहेर, पछि ईच्छाएर ड्यानियलसँग बित्न थाल्यो । 

बर्ष बित्दा नबित्दै मेघालाई समीर बिरानो र ड्यानियल आफ्नो लाग्न थालि सकेको थियो । 

अन्त्यमा जब मेघाको हातमा रेसिडेन्टको भिसा लागेको पासपोर्ट पर्यो तब समीरको भागमा मेघासँगको बिछोड । 

About Admin 94 Articles
For beautiful eyes, look for the good in others; for beautiful lips, speak only words of kindness; and for poise, walk with the knowledge that you are never alone.....so join our site and get knowledge of every field...

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*