कथा भाउजू : : सानु शर्मा

“काका, दाइ तपाईँलाई खोज्दै आउनु भाग’छ ।” मैले माइलो काकाको नातिले औँल्याएतिर हेरेँ ।
एकैछिन यस्तो लाग्यो, म ऐनामा आफैंलाई हेरि रहेछु । तर होइन मेरो यो रूप कहिल्यै थिएन ।
मैले केही बोल्नु भन्दा पहिल्यै त्यो युवक मेरो खुट्टामा घाेप्टयो ।
“को हौ बाबु ? कहाँबाट आयौ ? मलाई कसरी चिन्छौ ?” मैले उसको टाउकोमा हात राखिदिँदै सोधेँ । निक्कै बेर मेरो खुट्टामा घोप्टिएर टाउको उठाउँदा उसका आँखा सजल थिए ।
किन किन मलाई आँसु भरिएका ती आँखा एकदमै परिचित झैं लागे । मैले फेरि उसलाई सोध्न खोजेँ ऊ मलाई कसरी चिन्छ भनेर । तर त्यो भन्दा पहिले मलाई गम्लङ अँगालो हालेर ऊ मेरो छातीमा टाँसियो । मेरो मुटु नराम्रोसँग हल्लियो । मन गाँठो परेको डोरी झैं भयो । मैले उसलाई आफूबाट पर धकेल्न खोज्दै भनेँ – “के गरेको बाबु यो ? को हौ तिमी…. ?”
उसले मलिन स्वरमा भन्यो –“म तपाइँकी भाउजू ताराको छोरो ।”
मेरो मुटु उफ्रेर बाहिर निस्कन खोज्यो । मैले भएभरको शक्ति बटुलेर उसलाई पर धकेलेँ । धेरै बेर उसलाई नियालेर हेरेँ । यति बेलासम्म उसका आँखा बर्सिन सुरू गरि सकेका थिए । मैले भक्कानिँदै उसलाई अँगालेँ ।
यस्तो लाग्यो वषार्पैं छि श्राप मुक्त भएँ म ।
मेरी भाउजूको अशं मेरो अँगालोमा थियो । मतलब मैले क्षमादान पाएँ अब ।

०००००
आज तेश्रो दिन थियो आमालाई कुरेर बसेको ।

“तपाइँ जेसुकै भन्नोस् माल्दाइ, जेठाको मुख नहेरी भाउजूको परान जाँदैन ।” काकाले बिस्तारै भने । बाले असहाय भावले खुइय गर्दै भन्नु भयो “खै, खबर त गरेकै हो । टेलिफुनाँ कुरा गर्दा जसरी नि आउँला भन्थ्यो, टाढाको कुरो के हो के ।”

उसो त आमा प्रायःबिरामी भइ रहनु हुन्थ्यो तर यस पटक उहाँ बाँच्ने आशा कसैलाई थिएन । त्यसैले पनि कसैले उहाँलाई सहर लैजाने कोसिस गरेन ।
“यस्तो गलेको ज्यानले म डोकाँ बोकिएर सहर पुग्दै पुि ग्दनँ, बरू सालिकेलाई आएर मुख देखाएर जा भन्दिनोस् । सालिकेको बा, त्यसको मुख हेर्न पाए मेरो परान सुबिस्ताले जान्थ्यो ।” आमाले मान्दै मान्नु भएन डोकोमा बोकिएर जान ।
बाका अरू तिन भाइले पनि आमालाई यो अन्तिम अवस्थामा कहीँ नलैजाने सल्लाह दिए ।
मभन्दा नौ बर्ष जेठो मेरो दाइ शालिकराम अमेरिका भासिएको दस बर्ष भइ सकेको थियो । मलाई त राम्ररी याद पनि थिएन ऊ कसरी पुगेथ्यो त्यहाँ । तर मलाई ऊ हिँड्ने बेलामा आमा रोएको, बाले उसलाई सम्झाएको कुरा भने सम्झनामा थियो ।
आफूभन्दा नौ बर्ष जेठो दाइ मेरो लागि बा समान नै थियो । म बासँग झैं ऊसँग पनि उत्तिकै डराउँथेँ त्यो बेला । मेरो उमेरका साथीहरूले ‘बालाई भन्दिम्’ भन्दा बरू म त्यति डराउँदिन थिएँ जति ‘दाइलाई भन्दिम्’ भन्दा डराउँथेँ । बाले त बरू मेरो बदमासी सुनेर पनि कहिले काहीँ हाँसेर टारि दिनु हुन्थ्यो । तर दाइ मेरो कान निमोठेर रातै पारि दिन्थ्यो ।

उन्नाइस बर्षको उमेरमा घर छोडेर हिँडेको दाइ पुरा दस बर्ष घर आएन । ६ बर्षसम्म त उसको कुनै सन्चो बिसन्चोको खबरसम्म पाउन सकेनौं हामीले । तर चार बर्ष अघि तल फाँटको अरबे साहुको पसलमा फोन आएदेखि बाले चार चौरास दौडेर उसको खोज खबर गर्नु भयो ।
दुई बर्ष अघि दाइले मोबाइल पठाइ दिएकोले आजकल भने ऊसँग कुरा भइ रहन्थ्यो । बाआमा उसलाई घर आइज, आएर बिहे गर भनेर भनि रहनु हुन्थ्यो । ऊ ‘हस्’ ‘हस्’भनेर टारि रहन्थ्यो ।
मेरो त ऊसँग बोल्ने हिम्मत नै हुँदैनथ्यो । तर पनि ऊ मलाई माया नै गर्थ्यो । उता गइ सकेपछि पनि उसले फोन गरेकोबेला ‘राम्ररी पढ, राम्ररी एसलसी पास गर अनि म तँलाई मसँगै यहाँ ल्याउँछु’ भन्थ्यो । म दंगदास परेर गाउँभरि झ्याली पिट्दै हिँड्थेँ –“म नि अम्रिका जाने, म नि अम्रिका जाने….।”
बाले सुन्नु भयो भने मेरो कान निमोठ्दै भन्नु हुन्थ्यो – “यी यत्रो जा अम्रिका । एउटै गा’को त घरबार भुलेर बस्या छ, अब पठाउँला नि तँलाई ।”
आमा सुकसुकाउँदै भन्नु हुन्थ्यो “घर ब्यवहार हेर्ने बेलामा विदेशाँ हरा छ दाइ, अब तँ नि गए हामी के गर्ने ?उसका दौंतरीहरूका काखाभरि सन्तान भइ सके ऊ भने काँ हन्डर खाइरा’छ एक्लै । बरा !”
कहिलेकाहीँ दाइले उतै खैरीनी राखेर बसेको कुरा गाउँ घरमा गाइँगुइँ चल्थ्यो ।
त्यो कुरा मेरो कानमा पर्दा म कुरा गर्नेसँगै लड्न भिड्न जान्थेँ । बा त्यस्ता कुरा सुनेपछि भन्नु हुन्थ्यो – “आफ्नै सिक्का खोटो, अरूलाई के भन्नु ? आएर बिहे गरेर गए कसले के भन्न सक्छ र ? तर उसलाई पर्बा भएपो ? एक बिस नौ को भयो, अहिलेसम्म बिहे नगरी बसेसी अरूले कुरा काट्दैनन् त ?”
आमाको अर्कै दुखेसो थियो । छोराले धर्म भ्रष्ट गराइ दिएर स्वर्गमा बास नपाइएला भन्ने । मलाई भने आफ्नो बा सरहको दाइमाथि अटुट विश्वास थियो । त्यसैले आफैसँग पढ्ने, आफूलाई सारै मनपरेकी कुसुमले गाउँलेले भनेका कुरा ल्याएर सुनाउँदा पनि कैयौं दिनसम्म रिसाएर म ऊसँग बोल्दिन थिएँ ।
“मैले भन्या हो र ?” ऊ मलाई मनाउने प्रयास गर्थी “हाम्री फुपूका घरकाले भनेका रे । उनैले कुरा ल्याएकी ।”
“त्यसो हो भने उनैको कुरा सुन, मसँग बोल्नु पर्दैन ।” म उसको छेउबाट उठेर हिँडि दिन्थेँ ।

यस्तोमा एक दिन साँझको झिसमिसेमा खैरेलेझैं पिठ्ँयूमा बडेमानको ब्याग भिरेर गोरो, चिट्ठो, खैरे जस्तै देखिने मेरो दाइ घरमा भित्रिन आइ पुग्यो ।
पहिले त कसैले उसलाई चिन्दै चिनेनन् । चिनेपछि रूवाबासी सरु भयो । रूवाबासी बन्द भएपछि सिकिस्त भएर चार दिनमा छ पटक तुल्सीको मठमा पुर्याईएकी मेरी आमाले मुन्टो उठाउनु भयो र दाइको हातमा समाउनु भयो ।
दुई दिनसम्म त आमाले दाइको हात छोड्दै छोड्नु भएन । दस बर्षको कसर जो पुरा गर्नु थियो । तेस्रो दिन उहाँले नाति–नातिनाको नभए पनि बुहारीको मुखसम्म हेरेर मर्ने आफ्नो चाहना ब्यक्त गर्नु भयो ।
दाइको मुखबाट “हुन्छ , हुन्न” केही ननिस्किँदै बा, काकाहरू, अरू नातेदारहरू र गाउँलेहरू समेत सबै उसमाथि खनिए । बिचरो दाई !
बाले काँपेको स्वरमा भन्नु भयो “यै कारणले बाँचि पो हाल्छे कि ? तँ आएदेखि अनुहार उजेलो भा’छ, उठेर बसेकी छ । पेटमा पानी अडेको छ । अब यसलाई जिउँदाएर जान्छस् कि जलाएर, तेरो इच्छा ।”
सबैले एक मुखले बाको अनुमोदन गरे । दाइले डबडबाएका आँखाले आमालाई हेरेर टाउको झुकायो । सबैले त्यसलाई दाइको स्वीकृति सम्झे ।

काकाहरू कोही सहरतिर दौडिए किनमेल गर्न, कोही केटी पक्का गर्न । उसो त आमाले वल्लो पल्लो गाउँका दुई चारवटी केटी छानि राख्नु भएको थियो पहिलैदेखि । तर हतार–हतारको बेलामा दाइको लागि जुरिन् पल्लो गाउँकी तारा, कुसुमकी दिदी ।
थाहा छैन दाइ खुसी भयो कि भएन । तर म औधी खुसी भएँ । मलाई लाग्यो, कुसुमलाई लिएर जुन भविष्यको सपना म बुन्दै थिएँ त्यो अब पुरा हुने भयो ।

तिन दिनभित्रै दाइको बिहे भयो गाउँको मन्दिरमा । यो सबै भईराख्दा दाइ चुँइक्क बोलेन । जस–जसले जे जे भने उसले सबै सुनि दियो,,मानि दियो । उसका कुरा काटेर नथाक्ने सारा गाउँ अब उसको प्रसंसामा आकाश पाताल जोड्नमा लाग्यो ।

कुसुमकलीकी दिदी तारा मेरी भाउजू बनेर मेरो घरमा भित्रिइन् ।
सातौं दिनको दिन, बुहारीको अनुहार मनभरि हेर्न नपाउँदै आमाले यो संसार छोड्नु भयो, अनुहारभरि सन्तुष्टिको आभा बोकेर ।
दाइ डाँको छोडेर रोयो । त्यस बेला मैले बुझ्नै सकिनँ, ऊ आमालाई बचाउन नसकेको आफ्नो असमर्थतामा रोयो या किन रोयो ?

तारा भाउजू पनि हुने खाने परिवारकै थिइन् । उनका बा धेरै बर्षसम्म गाउँको प्रधानपञ्च थिए पञ्चायत कालमा । तारा भाउजू गाउँका एकदमै कम छोरीहरू मध्ये एकमा पर्थिन् जसले स्कुलको मुख देखेका थिए । अझ तारा भाउजूले त एसएलसी पास गरेकी थिइन् । उनकी बहिनी कुसुम मसँगै कक्षा दसमा पढ्थी । तारा भाउजूको सबैभन्दा ठुलो योग्यता एसएलसी पास हुनु नै थियो दाइसँग बिहे गर्नका लागि । पढेलेखेको दाईलाई सुहाउँदो ।

किरिया सकेपछि दाइ अमेरिका उड्ने तयारीमा लाग्यो । बाले रोक्न कति कोसिस गर्नु भयो तर उसले यति ढृढतापूर्वक बाको कुरा नकार्यो कि बाले फेरि केही भन्न सक्नु भएन । काकाहरूले सम्झाउन खोजे, गाउँका बुढापाका अघि सरे, सासू ससुराले हात जोडे तर दाइ रोकिएन ।
पच्चीस दिन पुरानी आफ्नी विवाहिताको मौन आँसुका धाराले लतपताएको गाजललाई बेवास्ता गर्दै, कागज पत्र मिलाएर लिन आउने आश्वासन तेर्स्याएर दाइ विदेसियो ।
तारा भाउजू कोठाभित्र लुकेर कैयौं रात भक्कानो छोडेर रोइ रहिन् । म आफ्नै कोठामा बसेर उनको त्यो रुवाइ र छट्पटाहटको मौन साक्षी बनेँ लामो समयसम्म ।

बिस्तारै बिस्तारै घरमा तारा भाउजूले आमाको ठाउँ लिइन् । अब घरका काम गर्ने हली गोठालाहरू उनलाई आमालाई झैँ ‘ठुली मुखिनी’ भनेर बोलाउँथे । मभन्दा केही महिना मात्र जेठी तारा भाउजू ब्यवहारले पनि ‘ठुली मुखिनी’ बनिन् दिन प्रतिदिन । तर दाइको आक्कलझुक्कल आउने फोन सुनेर ओछ्यानमा रातभर छट्पटाउँदै रूने उनको बानी उस्तै रह्यो ।

समयसँगै मैले र कुसुमले एसएलसी पास गर्यौँ ।
बाले मलाई सहर पढ्न पठाउने कुरा गर्नु भयो । म खुसीसाथ तयार भएँ ।
राती खाना खाने बेलामा भाउजूले जबरजस्ती खाना थपिदिँदै भनिन् – “दाइलाई त एक छाक मिठो चोखो पकाएर ख्वाउन पाइनँ, अब तपैं पनि जान लाग्नु भयो । तपैं हुँदासम्म त कोही न कोही घरमा छ भन्ने लाग्थ्यो दाइ नभए पनि । बा पनि बाहिरफेरै हिडिर’नुहुन्छ धेरै । अब त चुलो बाल्नु पनि कसको लागि ? ताराको भाग्यमा रित्तो घर, रित्तो ओछ्यान, रित्तो मन र जीवन बाहेक अरू केही लेखेन छ दैवले ।”
उनका ती शब्दहरू मेरो छातीमा ठोक्किए । भातको गाँस मेरो घाँटीमै अड्कियो । मैले अरू खान सकिनँ ।

भोलिपल्ट मैले बालाई सहर नजाने आफ्नो निर्णय सुनाएँ ।
बाले जिल्ल पर्दै भन्नु भयो – “के गर्छस् यहाँ बसेर ? दाइले झैं पढ्दैनस् ? ठुलो मान्छे बन्दैनस् ?”
“बा, ठुलो मान्छे हुन म घर परिवार छोड्दिन । बुढो हुनु भएको तपाईं र एक्ली भाउजूलाई छोडेर म कहीँ जान्न । यहीँ बसेर पढ्छु । तरकारी, फलफुल खेती गर्छु । दाइ आएर भाउजूलाई लिएर गइ हालोस्, त्यसपछि म सोचौंला सहर जाने कुरा ।”
बाले केही भन्नु भएन । मेरो टाउकोमा हात राखेर आफ्ना धमिला आँखा पुछ्दै बाहिर निस्कनु भयो । घर परिवार बिर्सेर बाहिर बसि रहेको छोराको वियोग झेलिरहेका मेरा बालाई मेरो त्यो निर्णयले राहत दिएझैं लाग्यो मलाई ।

जब तारा भउजूले सुनिन् म सहर नजाने कुरा, उनको अनुहार धपक्क बल्यो । तर उनले बिस्तारै भनिन् –“नगएर के गर्नी, पढ्न परेन ?”
“तपाईं दाइसँग गएपछि म बालाई लिएर सहर गएर बस्छु अनि पढ्छु । अहिले चाहिँ यहीँ खेत बारीमा काम गरेर पैसा कमौछु ।” मैले हाँस्दै भनेँ ।
उनले सुटुक्क आँसु पुछिन् र भनिन् – “दाइ आएपछि तपैं र बालाई पनि सँगै लान भन्छु म ।” उनको स्वरमा उदासी मिसिएको थियो । उनले झनै बिस्तारै भनिन् “आउने पो कहिले हुन् बरू ?”

जब कुसुमले सुनी म सहर नजाने कुरा, ऊ सारै रिसाई ।
“के गर्छौ सहर नगएर ? हली गोठालाको काम सघाउँछौ ?” उसले रिसाउँदै भनेकी थिई ।
“सधैँलाई हो र ? केही बर्ष त हो नि ! दाइ आएर भाउजूलाई लगोस् अनि जान्छु म सहरमा पढ्न ।” मैले पूर्ण विश्वासका साथ भनेँ ।
“मचाहिँ भिनाजुझैं अमेरिका जाला, टन्नै पैसा कमाएर हामीलाई पनि हेर्ला भन्या त …!” कुसुम भुतभुताई ।
“म यहीँ बसेर पैसा कमाउँछु, यहीँ बसेर पढ्छु ।” मैले भनेँ । उसले ओठ लेप्राई ।
॰॰॰॰

त्यसपछी मैले आफ्नो भनाई साबित गरेर देखाएँ ।
त्यसका लागि तारा भाउजूले दिन रात नभनी मेरो साथ दिइन् । हामीले अदुवा खेती सुरू गर्यौँ । तरकारी खेती सुरू गर्यौ काक्रो, गोलभेडा, खुर्सानी, बन्दा, काउली, गाजर जस्ता समय अनुसारका तरकारी बोकाएर आफैँ सहर पुग्थेँ म । बेचेर जम्मा भएको पैसाले म आफ्ना लागि भन्दा धेरै बा र भाउजूका लागि सामान किन्थेँ । भाउजू अप्ठ्यारो मान्थिन् सुरु सरु मा । पछि पछि उनी आफ्ना आवश्यकताका सामानको लिस्ट बनाएर मलाई दिन थालिन् । मेरो मन फुरूङ हुन्थ्यो उनका लागि केही चिज किन्न पाउँदा ।
उनी मेरो खुब ख्याल राख्थिन् अनि म उनको । तर मेरो बाध्यता, उनी दाइको सम्झनामा आफ्नो कोठामा राती एक्लै छटपटाएर रोइ रहँदा म नरोऊ भनेर भन्न
सक्दिन थिएँ उनलाई ।
अरू बेलामा भने म उनको ओठबाट मुस्कान नमेटियोस् भनेर जिउ ज्यानले कोसिस गर्थेँ ।
ती दिनमा भाउजू मेरो जीवनको एउटा यस्तो हिस्सा बनि दिएकी थिइन् जसको प्रेरणा, साथ र हौसला विना म आफू आफैंलाई आधा अधुरो लाग्थेँ ।

हुन त हामीहरू गाउँका हुने खानेमैं गनिन्थ्यौं पहिले पनि । झन अहिले त मेरो कमाइले हामीलाई धेरै माथि पुर्याएको थियो ।
कमेरो पोतेको कच्ची घरले काँचुली फेरेर पक्की रूप लिएको थियो । काठको सोझो भर्याङको ठाउँ अहिले आधुनिक खालको घुमाउरो भर्याङले लिएको थियो । गोबर ग्याँसले चुलो मात्र होइन, झिलिमिली बत्ती पनि बल्थ्यो घरमा । काम गर्ने मान्छेहरू टन्न थिए । भाउजू अब खटनपटन गर्थिन्, परे आफू पनि खट्थिन् । बाँकी कुरामा उनी उस्तै थिइन् । आँखामा कालो मोटो गाजल, निधारमा बाटुलो, रातो टीका । कालो कालो वर्णको हिस्सी परेको अनुहार । मलाई मेरी भाउजू वरपरका दस गाउँमा सबै भन्दा राम्री लाग्थिन् । कुसुम भन्दा पनि राम्री ।

पाँच बर्ष बित्यो । म २४ बर्षको लक्का जवान भएँ । दाइ फर्केर आएन । भाउजूको छटपटी र रुवाइ कम हुँदै गयो । अब त दाइले कहिले काहीँ फोन गर्दा पनि उनी कुरा नगर्ने बहाना खोज्थिन् । खुसिनै देखिन्थिन् उनी । तर मलाई जति कसलाई थाहा थियो र उनको पीडा ।
मलाई त्यतिबेला असह्य हुन्थ्यो जतिबेला उनका दौंतरीहरू एउटा सन्तान डोर्याएर र अर्काे काखमा च्यापेर उनलाई भेट्न आउँथे ।
त्यस बेला मेरी भाउजूको पीडा यस्तरी छचल्किन्थ्यो उनको आँखामा, मेरो मुटुमा गाँठो पर्थ्यो ।
हिजो मैले बुझेको थिइनँ बिहे गरेको पच्चीस दिनमै लोग्नेसँग अलग हुनुको उनको पीडा । तर आज म उनको आँसु, सुस्केरा र छटपटीको अर्थ बुझ्थेँ, सायद उनले भन्दा पनि धेरै । त्यसैले म गाउँका अरू युवतीहरू झैं उनले पनि सिँगारपटार गरिदिए हुन्थ्यो, राम्री भएर हिँड्ने गरे हुन्थ्यो, हाँसो ठट्टा गरि दिए हुन्थ्यो भन्ने चाहन्थेँ । तर अहँ, मैले उनलाई दाँत देखिने गरी हाँसेको कहिल्यै देखिनँ, मेरो दाइसँग बिहे भएदेखि नै ।

पहिले पहिले बा र काकाको नामले चिनिन्थेँ म । अब उनीहरू मेरो नामबाट चिनिन थालेका थिए । मेरो व्यवसाय राम्रो चलेको थियो । गाउँका कैयौं मान्छेले मेरो कारणले रोजगारी पाएका थिए ।

गाउँ अब धेरै फेरिएको थियो । घर घरमा फोन थियो, बिजुली थियो । तल खोलाको छेउसम्म त ट्रयाक्टर, ट्रक पनि आउँथे । अब त तरकारी लिएर सहर पुग्नै पर्दैनथ्यो । सहरबाट ट्रिपर लिएर ठेकदारहरू तरकारी उठाउन फाँटसम्मै आइ पुग्थे । घरसम्म भने अझै मोटर आउन सकेको थिएन । तर मोटर साइकल मजाले आउँथ्यो ।
फाँटमा मेरो पनि ठुलो पसल थियो । आफ्नै मिनी ट्रक थियो । मोटर साइकल थियो, जसमा चढेर हरेक हप्ता सहर पुग्थेँ म कुसुमलाई भेट्न ।
एसएलसी पास गरेपछि ऊ सहरमै मामाको घरमा बसेर पढ्दै थिई । मलाई पनि सहरमै बसेर पढ्न उसले निकै नै ढिपी गरेकी थिई । अझै पनि गर्दै थिई ।
घरमा, गाउँमा मेरो बिहेको कुरा हुन थालेको धेरै भइ सकेको थियो । तर मैले कसम खाएको थिएँ दाइ नआएसम्म, भाउजूको आँखाको उदासी नपुछिएसम्म म बिहे गर्दिनँ भनेर ।
कुसुमकली ब्याचलर अफ नर्सिङ सकेर अस्पतालमा काम गर्न थालेकी थिई । उसका बा आमा अब उसको बिहेको लागि हतार गर्न थालेका थिए । त्यसैले कुसुम घुमाइ–फिराइ मसँग बिहे गर्न चाहेको कुरा गर्न थालेकी थिई । तर मैले उसलाई मुख फोडेर केही भनेको थिइनँ । म चाहन्थेँ घरका पाकाहरूले नै त्यो निर्णय गरून् । तर त्यसका लागि दाइ आउनु जरूरी थियो ।
अर्काे एक बर्ष बित्यो ।
केही दिन यता बा बिरामी पर्न थाल्नु भएको थियो । त्यसैले पनि होला उहाँ प्रत्येक दिन जस्तै दाइलाई फोन गरेर भाउजूलाई सँगै लैजान दबाब दिन थाल्नु भएको थियो । उहाँ दाइलाई “तेरो कारणले भाइले बिहे नगर्ने भयो” भनि रहनु हुन्थ्यो ।
यसै बिच भाउजूका बा आमाले कुसुमको र मेरो बिहेको कुरा चलाए बासँग । बालाई कुनै आपत्ति थिएन । बाले मलाई सोध्नु भयो । मेरो जवाफ उही थियो – “ पहिले दाइ घर आओस् ।”

त्यो फागु पूर्णिमाको दिन थियो । सहरको हावाले गाउँलाई पनि छोडेको थिएन । खाडी, कोरिया, मलेसिया र इन्डियाले तान्न नभ्याएका, विदेश र सहरबाट छुट्टीमा आएका सारा युवा युवतीको अनुहार अबिर र विभिन्न खाले रङले सरोबर, नचिनिने भएको थियो । यस्तोमा कतिले मेरो पसलमै आएर, मैले विरोध गर्दा गर्दै, मलाई पनि रंग्याएरै छोडे । स्कुलमा सँगै पढेका केही साथीहरू, जो सहरबाट र विदेशबाट छुट्टीमा आएका थिए, तिनीहरूको जबरजस्तीमा मैले पसल अलि चाँडै बन्द गरेँ ।
हामीहरू सबै नजिकैको होटल जहाँ खाजा, खाना, बियर र रक्सी पाइन्थ्यो, त्यहीँ पस्यौँ । साथीहरूले टन्न रक्सी पिए । म पिउँदै नपिउने मान्छेले पनि उनीहरूको जबरजस्तीमा डेढ बोतल बियर पिएँ ।
पहिलो पटक बियर पिएकोमा आफूलाई अपराधी ठहर्याउँदै साथीहरूसँग छुट्टिएर म घरतिर लागेँ ।

त्यति ढिलो त भएको थिएन तर पनि मलाई कुरेर ढोकामै उभिएकी तारा भाउजूले आत्तिएको स्वरमा भनिन् –“काँ गा यति अबेर सम्मन् ? फोन गरेको नि उठा होइन । चक्रेलाई पसलाँ हेर्न पठाको, उस्ले नि पसल बन्दछ भन्यो । बा घराँ हुनु हुन्न । मेरो परान घाँटीमा आएर बस्या छ कतिखेर देखि, काँ गा तपैं यसरी भन्दै नभनी ?” उनका आँखाबाट आँसुका ढिक्का झरे । मेरो मुटु गाँठो पर्यो । यसै त अपराध बोधले भरिएको मेरो मन, उनको आँसुले झन छियाछिया भयो ।
“म, म साथी…” मेरो मुखबाट शब्द भन्दा आँखाबाट आँसु सजिलै झर्यो । रुँदा रुँदै उनी हातले मुख छोप्दै रुन्चे हाँसो हाँसिन् ।
“काँबाट दलेर आउनु भो यतिका रङ ? ढेडू जस्तै देखिनु भा’छ ।” उनले आँसु पुछिन् र भनिन् “तपैंलाई त छायाँले पनि चिन्छु र पो, नत्र अनुहारले त काँ चिन्न सक्नु ?” उनी चिसा आँखा लिएर हाँसि रहिन् । म रोऊँ कि हाँसौं भएर उनैलाई हेरि रहेँ ।
“अब रातभरि यहीँ उभि र’नी हो ? हिँड्नोस् भित्र ।” उनी भित्र पसिन् । म लरूक्क उनको पछिलागेँ ।
उनको अनुहारमा कहीँ रंङको एउटा छिटा पनि थिएन । झन अचेल त उनी सिउँदोमा लामो धर्को सिन्दुर पनि लाउँदिन थिइन् । त्यसैले हो कि किन हो मलाई उनको अनुहार झनै रित्तो र उजाड लाग्यो । मेरो मन उनीप्रतिको सहानुभूतिले भरियो । कस्तो अत्यासपूर्ण जीवन बाँच्न बाध्य पार्यो मेरो दाइले यस्तो निरीह प्राणीलाई । मेरो मनमा आक्रोश भरियो दाइप्रति ।
“आओस् मात्रै घर, जान्याछु मैले ।” मैले मनमनै सोचेँ ।
“भात पस्कन्छु । तपैं हातमुख धोएर आउनोस् ।” भाउजू भन्दै थिइन् ।
“म खाएर आएको, तपैं खानोस् ।” उनको त्यो विधुवाको जस्तो उजाड,उराठ रूप सामु अझै उभिने मेरो हिम्मत भएन । म उनीतिर हेर्दै नहेरी माथि उक्लिएँ ।
निक्कै बेर म त्यतिकै आफ्नो कोठामा छटपटाइ रहेँ । दाइसँग मनमनै झगडा गरि रहेँ । पल्लो कोठाबाट आएको भाउजूको रुवाइको आवाज मेरो कानमा ठोक्किइ रह्यो । मलाई औडाहा छुट्यो । म उठेँ, बसेँ, फेरि उठेँ तर सधैं जस्तै आज त कान थुनेर पनि निदाउन सकिनँ म । भाउजूको हिक्का मेरो आत्मामा ठोक्किइ रह्यो ।

मैले निक्कै पटक ढकढकाएपछि भाउजूले ढोका खोलिन् । ढोकामा उभिएको मलाई देखेर उनको अनुहारमा आश्चर्यको भाव पोतियो ।
“लौ हेर, अहिलेसम्म मुखै नधोइ बस्या ? जानोस् मुख धोएर सुत्नोस् । अबेर भइ सक्यो ।” उनले सुि न्नएका आँखा मबाट हटाएर अगाडि बढ्नु भन्दा पहिल्यै मैले पूजा कोठाबाट मुट्ठीमा ल्याएको अबिर कोठाको सँघार बाहिरैबाट उनको अनुहारमा दलि दिएँ ।
“बा…बाबु !” उनले विरोध गर्न खोज्दै भनिन् “के गर्नु भा यो ?”
“म तपाईको यो विधुवाको जस्तो रूप हेर्न सक्दिनँ, सत्ते । म चाहन्छु आजको फागु पूर्णिमाको सबै रङ तपाईको जीवनमा भरियोस् ।” मैले थरथर काँप्दै भनेँ ।
उनी मेरो हात झट्कारेर अघि बढ्न खाेजिन् । कहीँ अल्झिएर धर्मराइन् । लड्नै आँटेकी भाउजूलाई मैले समातेर उभ्याउन खोजें । यस कोसिसमा हामी दुवै लड्यौँ र छताछुल्ल भएर पोखियौं ।

सत्ताईस दिन म घर फर्किनँ ।
बालाई सहरमा काम छ भनेर खबर पठाएँ र बौलाहा जस्तै यहाँ र त्यहाँ भौँतारिइ रहेँ । कुन मुख लिएर घर फर्कौँ म ? कसरी उभिन जाऊँ म मेरी भाउजूको सामु ?
कैयौं पटक मर्न कोसिस गरेँ तर सकिनँ । बारम्बार बा र भाउजूका अनुहार आँखा अगाडि आउँथे अनि मनले भन्थ्यो “यिनीहरू के गर्लान् म यसरी अपहत्ते गरेर मरेँ भने ?”
न रक्सीले राहत दिन्थ्यो न आँसुले । हैरान भएर अठ्ठाइसौँ दिनको दिन भाउजूले दिएका सबै सजाय भोग्ने संकल्प गर्दै म घर फर्किएँ । तर भाउजू घरमा थिइनन् ।

सबै कागज पत्र मिलाई वरि आएर दाइ भाउजूलाई लिएर गइ सकेको रहेछ । अघिल्लो दिन मात्र दाइ–भाउजू अमेरिका उडेका रहेछन् ।
आधा मन भाउजूको सामना गर्न नपर्ने भएकोमा अलि ढुक्क भयो भने आधा मन बल्ल तल्ल यत्रो बर्षपछि घर आएको दाइलाई भेट्न नपाएर, त्यति टाढा जान लागेकी भाउजूलाई बिदा गर्न नपाएर दुखी भयो ।

त्यसपछि मैले बा, कुसुमको परिवार र कुसुमले जतिसुकै जबरजस्ती गरे पनि कुसुमसँग बिहे गर्न मानिनँ । कसरी मान्थेँ ? उसकी दिदीको अपराधी जो थिएँ म ।

कुसुमकलीको बिहे अन्तै भयो । मलाई सत्तो सराप गर्दै कुसुम बिदा भई ।
मैले आफूलाई झनै धेरै काममा जोतेँ । न बिहे गरेँ न परिवार बनाएँ । आफूलाई दुख दिइ रहेँ र आफ्नो पापको पश्चाताप गरेको भन्ने सोचेर मन बुझाएँ । यही क्रमले छब्बिस बर्ष बित्यो ।

आज भाउजूको छोरा अनिकेतलाई सामुन्ने देखेर मलाई यस्तो लाग्यो, सायद माफीको लायक भएछु म । नत्र यत्रा बषर्ह रूमा एक पटक फोन पनि नगरेकी, कुनै खबर नपठाएकी भाउजूले छोरा किन पठाउँथिन् यहाँ ?
०००००
अनिकेत आएको लगभग महिना दिन बितेपछि एक दिन मैले उसँग सोधेँ “बाबु, कहिले फर्कन्छस् ?”
उसले एकैछिन मलाई हेर्यो अनि बिस्तारै भन्यो “कहिल्यै फर्कन्न ।”
“के भन्छ यो ? उता दाइ भाउजू पिर गरि रहनु भएको होला । फोन पनि गरेको छस् कि छैनस् ? झगडा गरेर आएको त होइनस् ?”
ऊ केही नबोली भित्र पस्यो । म उसको पछिपछि भित्र पसौंकि त्यही बसौं भन्ने दुविधामा परेँ । मेरो दुविधा टुङ्गिनु भन्दा पहिल्यै ऊ बाहिर निस्कियो र मेरो हातमा एउटा खाम थमाएर मतर्फ हेर्दै नहेरी फाँटतिर झर्यो, फाँट, जुन अब बिस्तारै सहरमा परिणत हुँदै गइ रहेको थियो ।
मैले ओल्टाइ–पल्टाइ त्यो खाम हेरेँ । त्यसमा कसैको नाम थिएन । मैले फलैचामा बसेर त्यो खाम खोलेँ ।
सबै भन्दा माथि “बाबु” लेखेर केरिएको थियो र त्यो सँगै मेरो नाम “अर्जुन” लेखिएको थियो । मैले बिस्तारै पढ्न सुरु गरेँ ।

“यो चिट्ठी तपैंको हातमा पर्दा म अर्कै दुनियाँमा विश्राम गरि रहेको हुनेछु ।” म अडिएँ । त्यही लाइनलाई कैयौं पटक पढेँ । के मतलब थियो त्यो लेखाइको ? थरथराएको हातले दरोसँग चिट्ठी समाएँ र आँसुले धमिलिँदै गएका आँखालाई फेरि चिट्ठीमा केि न्द्रत गरेँ ।
“त्यो दिन हिँड्ने बेलासम्म तपैं आइ पुग्ने आशा गरि रहेँ तर तपैं नआउनु भएन । तपैंको दाइको साथ लागेर अमेरिका उड्नु मेरो जीवनको एउटै मात्र उद्देश्य भए पनि कुनै बेला, त्यस बेला त्यो घर छोडेर कहीँ जाने चाहना मेरो थिएन । तर तपैंको सजिलोको लागि म तपैंको दाइको पछि लागेँ । मलाई लाग्यो-म घरमा भएसम्म तपैं फर्कनुहुनेछैन । बाध्यता थियो, के गरौँ ? सामाजिक रूपमा उहाँसँग नै बाँधिएकी थिएँ म, यो बैरी मन जो र जेसँग बाँधिए पनि ।
अमेरिका आउनु मेरो लागि कुनै खुसीको कुरो थिएन । त्यसमाथि मेरो लागि अमेरिकाको बसाइ एउटा यातना सिवाय केही रहेन ।
तपैंको दाइ स्वास्नी मान्छेको संसर्गमा खुसी हुने खालको पुरुष हुनु हुन्न । उहाँको बर्षौंदेखि वहाँको पुरुष पार्टनर छ, जोसँग उहाँ छुट्टिन चाहनु हुन्न ।”
“हे भगवान !” मेरो मुखबाट निस्कियो । मैले थरथराएको हातले आँसु पुछेँ र अगाडि पढ्न सुरू गरेँ।
“उनीहरू दुबै जनाले मलाई सामु राखेर आफ्नो असमर्थता सम्झाए । मलाई जीवनभर सहयोग गर्ने वचन दिए र मैले चाहेको गर्न सक्ने आश्वासन दिए ।
“६ बर्षदेखि पतिको संसर्गको र साथको कामनामा छटपटाइ रहेकी एउटी स्त्रीले त्यस्ता कुरा सुनेर बहुलाउनु पर्ने थियो । तर म शान्त रहेँ । शान्त के, म त खुसी पो भएँ । तपैं सोच्नु होला यस्तो पनि हुन्छ ? तर सत्य यही हो ।
बिहे गरेर आफ्नी विवाहिताको स्पर्श समेत नगरी पच्चीस दिनमै विदेश हिँडेको पतिको संसर्गको चाहनामा छटपटाउँदै हरेक रात सिरानीलाई अँगालो हालेर रूने यो ताराको त्यति बेलाको मनस्थिति बुझ्न कुनै पनि पुरुषलाई कठिन नै हुन्छ । तर यति खेर तपाइँलाई बुझाउन म यति नै भन्न सक्छु कि मेरो त्यो ६ बर्ष लामो

छटपटीपूर्ण प्रतीक्षाको रात र दिनलाई एउटै रातले जिति दिएको थियो अर्जुन, त्यो फागु पूर्णिमाको रातले ।”
मेरो हातबट चिट्ठी भुइँमा खस्यो । म छटपटाउँदै उठेँ ।
चिट्ठी भुईंबाट टिपेर हातमा लिएर म निक्कैबेर आँगनमा टहलिएँ ।
हुन त भाउजू दाइसँग अमेरिका हिँडि सकेपछि पनि मेरा आँखा अगाडिबाट कहिल्यै नपुछिएको उन्को अनुहार, कहिले के अनि कहिले केको बहानामा मेरो मन र जीवनमा उदाई हन्थ्यो । जति मैले कोसिस गरेँ उनी र उनको सम्झनालाई आफ्नो मनबाट टकटक्याउन, त्यति नै धेरै मलाई उनको सम्झना आइ रह्यो । त्यसैले पनि म अपराध बोधबाट मुक्त हुन सकिनँ । दाइकी अर्धाङ्गीनीलाई विना कारण सम्झना गरि रहनुको अपराध बोध ! तर उनको चिट्ठी पढ्दा मलाई लागि रहेको थियो–मैले त्यसरी उनलाई सम्झना गरि रहनु विना कारण चाहिँ होइन रहेछ ।
मैले फेि र चिट्ठी पढ्न सुरु गरेँ ।
“तपैंको दाइले आफ्नो कुराको मान राख्नु भयो । उहाँ जोसँग र जसरी बसे पनि उहाँले आफ्नो नामसँग जोडिएको मेरो नाम यथावतै रहन दिनु भयो । समाजको आँखामा हामी पति–पत्नी नै रह्यौं ।
यहाँ आएको केही समयपछि मैले थाहा पाएँ म गर्भवती भएको कुरा ।”
मेरो मुखबाट लामो सास निस्कियो । मैले आफ्नो निधारमा चिट्चिटाएको पसिना पुछेँ र आन्दोलित मनलाई मुट्ठीमा कस्ने कोसिस गर्दै अगाडि पढेँ।
“तपैंको दाइले कुनै प्रश्न सोध्नु भएन । बरू मलाई भन्नु भयो –”तारा, तिमी यदि यो बच्चाको बाबुसँग बिहे गरेर ऊसँग जीवन बिताउन चाहन्छ्यौ भने भन, म तिमीलाई मद्दत गर्छु । म के भन्थेँ, तपैंनै भन्नोस् त अर्जुन ? जीवन तपैंको दाइसँग अनि मन तपैंसँग बाँधिएको थियो मेरो, तर रोज्न पाउने अधिकार मलाई दिएको थिएन सम्बन्ध र समाजले । तपैंसँग मन जोड्नु मेरो रोजाइ कदापि थिएन अर्जुन, तर मेरो भोक, प्यास, आँसु, पीडा र मन बुझि दिने तपाइँसँग आफसेआफ बाँधिन
पुगेको यो असत्ती मनलाई मैले कसै गरी फकाएर फेरि अन्तै कतै मोड्नै सकिनँ, खास गरी त्यो रातपछि ।
तपैं मलाई पतित, पत्रु नै मान्नोस् तर अर्जुन त्यो रात तपैंले मेरो शरीरलाई पहिलो पटक छोए पनि मेरो मन तपैंसँग बिटुलिएको धेरै भइ सकेको थियो । भित्ताको यतापट्टिबाट उतापट्टि सुत्नु भएको तपैंको छातीमा टाउको राखेर निदाउन थालेदेखि नै मैले छोडि दिएको थिएँ तपैंको दाइलाई सम्झना गरेर रून । त्यसपछिको मेरो रूवाइ उनको सम्झनामा नभएर आफ्नो बाध्यताको लागि हुन्थ्यो ।
सिन्दुर एउटाको नाउँको र छटपटाहट अर्काको लागि । यसरी नै सारा जीवन बिताउन राजी थिएँ म, तपैको छेउछाउमै । तपैं सुतेको कोठाको भित्तालाई छोएर नै तृप्त हुन सिकि सकेकी थिएँ मैले । तर त्यो फागु पूर्णिमाको रातमा तपैंले ६ वर्ष देखिकी यो विवाहितालाई पहिलो पटक विवाहित हुनुको अर्थ दिनु भयो । मेरो कुमारीत्वलाई आमा बनेर फक्रने सौभाग्य दिनु भयो । अर्जुन, तपैंले भनेझैं मेरो जीवनमा सधैँको लागि रङ भरि दिनु भयो तपैंले । नत्र त म कुनै बन्जर जमिन जस्तै बाँचेर,सुकेको छातीमा फुल्न नसकेको कुमारीत्व बोकेर यसै मर्ने थिएँ सायद ।
मलाई थाहा छ त्यो रातको लागि तपैंले आफूलाई कहिल्यै माफ गर्न सक्नु भएन । त्यसैले त आफूले मन पराएकी कुसुमसँग बिहे गर्न सक्नु भएन । तर आज म तपैंसँग भन्न चाहन्छु – तपैंको अपराध बोध गलत छ किनकि मलाई जति कसलाई थाहा छ तपैंको नियतमा खोट थिएन,छैन भनेर । ती छ बषर्ह रूमा हरघडी मेरो चिन्ता गर्दै,मलाई खुसी राख्ने तपैंको प्रयासमा केवल दाइको अनुपस्थितिमा उसकी नव विवाहिताको ख्याल राख्ने बाहेक अर्काे कुनै सोच थिएन । त्यो त म नै थिएँ जो तपैंको निश्छल, निस्वार्थ साथमा जीवन भेट्न थालेँ । कोसिस नगरेको होइन तपैंको दाइकी अर्धाङ्गिनी भइ रहने । मेरो कोसिस सफल पनि हुन्थ्यो होला यदि तपैंको दाइले मलाई स्पर्श मात्रै पनि गरेर गएको भए । तर उहाँ त मेरो सिउँदोमा सिन्दुरको धर्काे कोरेर, मेरो कुमारी मनमा नयाँ कौतूहलता र प्यास जगाएर यसरी बिदा हुनु भयो मानौं म एउटा माटोको मूर्ति थिएँ । म आजीवन उहाँको प्रतीक्षा गर्न मन्जुर थिएँ । तर कुन आधारमा ? न मैले उहाँको बोली सुनेकी थिएँ न स्पर्श चिनेकी थिएँ ।
अर्जुन, स्वास्नी मान्छेको लागि शरीर त्यति महत्त्वपूर्ण हुँदैन जति साथ महत्त्वपूर्ण हुन्छ । सायद त्यसलै म तपैंतर्फ तानिएँ । मलाई थाहा छ हरेक रात म रूँदा, छटपटाउँदा मेरो ओछ्यान सँगैको भित्तोमा टाँसिएर बस्नु हुन्थ्यो तपैं । मलाई थाहा छ कैयौं पटक मसँगै रूनु हुन्थ्यो तपैं । मेरो ओठको मुस्कान मेटिन नदिन प्रयत्नरत आँखा सामुको तपैंलाई छोडेर यो पापी मनले तपैंको दाइको हुनै मानेन ।

घर छोडेपछि म फेरि फर्केर त्यहाँ नआउनुको कारण तपैं नै हुनु हुन्थ्यो । मलाई डर थियो म तपैंलाई देखेपछि आफूलाई रोक्न सक्ने छैन । मलाई यो पनि थाहा थियो तपैं सत्य सुन्न र सहन सक्नु हुने छैन । त्यसैले म तपैंको बा बित्दा दाइसँग घर आइनँ । कुसुमको बिहेमा आइनँ । आमा मर्दा आइनँ ।

अर्जुन, मेरो जीवनको सबै भन्दा महत्त्वपूर्ण मान्छे तपैं नै हो । तर बिडम्वना, मैले तपैंको हात थामेर तपैं सामु यो सत्य भन्न सकिनँ । मेरो कोखमा जीवन रोप्ने, मेरो काखामा सन्तान दिएर मभित्र मातृत्व फुलाउने तपांलाई मैले कहिल्यै कसैसामु “मेरो” भनेर चिनाउन सकिनँ, मेरो दुर्भाग्य !”
मेरा आँखाबाट बलिन्द्र धारा आँसु झरेर चिट्ठीका अक्षरहरूलाई भिजाउँदै थिए तर मैले पढ्न छोडिनँ ।
“जब कुसुम अमेरिका आई मैले उसलाई सबै कुरा भनेँ ।”
मलाई सम्झना भयो कुसुमको बदलिएको व्यवहार । मैले ऊसँग बिहे गर्दिन भनेको बेलादेखि मसँग बोल्न छोडेकी कुसुम अमेरिकाबाट फर्केपछि मसँग आत्मीयतापूर्वक कुरा गर्र्थी र कुरै पिच्छे धन्यवाद भनि रहन्थी ।

“मेरो कुरा सुनेर बिचरी बस्सरी रोई । कस्तो भाग्य लिएर जन्मिएकी थिएँ म अर्जुन, जोसँग सामाजिक रूपमा बाँधिएँ ऊ मेरो हुन सक्ने थिएन अनि जो सँग मनले बाँधिएँ म उसको हुन सक्ने थिइनँ ।
जेहोस् तपैंको खोज खबर राख्दै, तपाइँको छोरोमा तपैंको गुण भर्दै, उसलाई हुर्काउँदै बिति रहेथ्यो मेरो जीवन, क्यान्सरले नबिथोल्दासम्म ।”
यो मेरा लागि नयाँ कुरा थियो । उनको धेरथोर खबर जे पनि म छेउ आइ पुग्थ्यो त्यसमा क्यान्सरको कुनै उल्लेख थिएन ।
“अन्तिम स्टेजको क्यान्सरको बारेमा थाहा पाएपछि मलाई लाग्यो तपैंलाई सत्य कुराको जानकारी दिनु जरूरी छ । नत्र त मैले यही प्रण गरेकी थिएँ कि म आजीवन तपाइँका लागि तपैंकी भाउजू नै रहने छु ।
तर अब तपैंको र मेरो सत्य तपाईंका दाइ, कुसुम र तपाईंको छोरा अनिकेतलाई थाहा छ । मेरो जीवनका अन्तिम दिनहरूमा, जब म अस्पतालमा थिएँ, मैले तपैंका दाइ र अनिकेतलाई सत्य कुरा भनि दिएँ ।
अर्जुन, मलाई कुनै कुराको अपसोच छैन, सत्ते । म असन्तुष्ट, अतृप्त भएर मरिनँ । मैले जीवनका सबै खाले अनुभव तपैंबाटै पाएँ । साथको, मायाको, शरीरको, स्वास्नी मान्छे हुनुको, आमा हुनुको र सुरक्षित हुनुको पनि । त्यसैले नै म यो चिट्ठी लेख्न सक्ने भएँ । तपैंलाई धन्यवाद नभनेसम्म सायद मैले अर्काे दुनियाँमा ठाउँ पउने छैन । त्यसैले भन्दैछु, अर्जुन ! समाज र सम्बन्धको विपरीत गएर तपैंलाई माया गर्नु , तपैंसँग मन बाँध्नु मेरो अपराध हो । यदि यो अपराध नै हो भने पनि, तपैंको होइन । त्यसैले यो अपराध बोधबाट निस्कनोस् र अनिकेतको साथमा बाँकी जीवन बिताउनोस् ।”
तपैंकी तारा

मैले अन्त्यमा लेखिएको उनको नामलाई कैयौं पटक पढेँ । मेरा आँखाबाट आँसुको भेल बगि नै रह्यो । थरथराएको हातमा उनको चिट्ठी समाएर म यही सोचिरहेँ – म सकौँला उनले सोचेझैं सोचेर यो अपराध बोधबाट मुक्त हुन ? म आश्चर्यचकित थिएँ । कसरी सकिन् उनले यी सबै कुरा निर्धक्कसँग लेख्न ? के स्वास्नी मानिसहरू साँच्चै नै हिम्मती हुन्छन् पुरुषभन्दा ? या म नै सारै कमजोर छु ? जसले दाइले तानेर छोडेको एउटा सिन्दुरको धर्काेको सीमा नाघेर आफ्नो सन्तानलाई आफ्नो भन्ने हिम्मत जुटाउन सकि रहेको छैन ? के म पनि सकुँला कुनै दिन उनले भनेझैँ अन्तर मनभित्र कहीँ गाडिएको उनी प्रतिको चाहनालाई स्विकार गरेर मेरो साथमा नभएकी तर हृदयमा भएकी उनलाई दाइकी नभनेर मेरी तारा भन्न ?
०००

About Admin 95 Articles
For beautiful eyes, look for the good in others; for beautiful lips, speak only words of kindness; and for poise, walk with the knowledge that you are never alone.....so join our site and get knowledge of every field...

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*