कथा : सरला आन्टी

के भो?

निन्द्रा लागेन।

किन?

आज कति दिन भइसक्यो थाहा छ तिमीलाई?

कसले नौ नबजी सुत्नु भनेको छ त? भान्साको काम सकेर आउन्जेल पनि पर्खन नसक्ने अनि मध्यरातमा निन्द्रा लागेन भन्ने?

रिसाएको अभिनय गर्थी।

फेरि सुत्न खोजेँ।

जसै आँखा चिम्लन्छु, पात्रहरूको विशाल जुलुस निस्कन्छ। आआफ्नो कथा भन्न सबै उत्तेजित र आन्दोलित छन्। कुनै एउटा पात्रको छनोट गर्नु असाध्यै कठिन काम हो। तर नगर्नुको पनि बिकल्प छैन। उज्यालो हुन एक चौथाइ रात सिंगै बाँकी छ। थुप्रै पात्रहरूका बीचबाट सरला आन्टीलाई छान्छु। कीर्तिपुरकी मेरी सरला आन्टी। …

काँचो इटाले बनेको त्यो पुरानो घरमा डेरा सर्नुअघि नै सरला आन्टी त्यही घरमा डेरा लिएर बसेकी थिइन्। उनका श्रीमान् ४०/४५ बर्षका थिए। बूढालाई अंकल अंकल भन्दाभन्दै उनी सरला आन्टी भइन्।

सरला आन्टी र मेरो प्रेम हुनुमा हरि अंकलको स्वभाव, रुचि र ब्यक्तित्वले ठूलो भुमिका खेलेको छ।

हरि अंकल कुनै भूमिगत राजनीतिक दलको भातृ संगठनमा आबद्ध रहेछन्। त्यो कुरा पछि मात्र मैले थाहा पाएँ। उनी बडो अनौठा र रहस्यमयी थिए। एउटा मैलो ज्याकेट जाडो गर्मी नभनी बर्षैभर लगाउँथे। चाँया परेको कैलो र पातलो कपालले साबुनपानी र तेल काइयो नदेखेको जुगौँ भएजस्तो लाग्थ्यो। प्रायः हाडछाला मात्रै बाँकी रहेको अनुहारमा नसुहाउँदो छुस्स दारी पाल्थे। कहिलेकाहीँ आक्कलझुक्कल दारी काटे झन नराम्रा देखिन्थे। बिहान त प्रायः भेटिदैन थिए तर साँझ भात खान टुप्लुक्क पुग्थे। दिनभरको भूमिगत राजनीतिले नपुगी भात खान बस्दा गनाएका मोज्जा नखोली एक हातले रेडियो कानमा टाँसेर भुइँमा बिछ्याइएको अर्को पत्रिका पढ्दै भात खान्थे। थालमै चुठेर गनाएका मोज्जा लगाई टिभीमा समाचार हेर्दै निदाउँथे।

मेरो कोठामा टिभी थिएन। प्रायः टिभी हेर्न हरेक साँझ म उनकै कोठामा जान्थेँ। तर उनी मसँग कहिल्यै पनि बोल्दैनथे। बरु भात खाएर टिभी हेर्दाहेर्दै भुसुक्क निदाउँथे।

सरला आन्टी र म लामो गफगाफ गरेर अबेर छुट्थ्यौं।

शनिबार बिश्वबिद्यालय छुट्टि भएका दिन सरला आन्टी, उनका दुइटी साना छोरी र म कीर्तिपुर वरपर र कहिलेकाहीँ चोभारसम्मै घुम्न जान्थ्यौं। लामै घुलमिल र एकाअर्काको जिन्दगीलाई राम्ररी बुझेपछि एकदिन सरला आन्टीले बिश्वबिद्यालयमुन्तिरको सल्लाघारीमा पहिलो पटक मनको बह पोखेकी थिइन्ः

दुइटी छोरी नभएको भए यो मान्छेलाई म उहिले छोडीसक्थेँ।

किन भनेर सोध्नु ब्यर्थ ठानेँ।

कारण मलाई स्पष्ट थाहा थियो। हरि अंकल र सरला आन्टी एकाअर्काका निम्ति बनेकै थिएनन्। उमेर, रुचि, स्वभाव, व्यक्तित्व केही मेल थिएन।

आन्टीका रहर काँचै थिए। अंकल पाकेर पनि झरिसकेका थिए। अंकल समाचार हेर्दै निदाउँथे, आन्टी रातभर दोहोरी हेरेर बिताउँथिन्। आन्टीसँग सिनेमा हेर्ने, काठमाडौं घुम्ने र बजार गएर चाउमिन खाने रहर अझै थियो। अंकललाई झोला बोक्ने बाध्यताले कहिले छोड्दैनथ्यो। मैले पहिलोपटक उनको हात समाएको थिएँ। उनले पहिलोपटक आँसु खसालेकी थिइन्।

त्यसपछि मेरो विश्वबिद्यालयको पढाइ पूरा नभएसम्म आन्टी र म एउटा बिचित्रको सम्बन्धमा बाधियौँ। जसलाई परिभाषित गर्न खोज्यो भने धेरै जटिलता आउन सक्छन्। बिश्वबिद्यालयको अन्तिम परीक्षा दिएपछि अन्तिम भेटमा आन्टीले आफ्नो पूर्ववत् इच्छामा व्यापक परिवर्तन गरी आफूले कहिले पनि हरि अंकललाई नछोड्ने बताएकी थिइन्। त्यसो भन्दा उनमा अपराधबोध र प्रेम जस्ता कुनैपनि संवेदनाका लहर उनको आँखामा थिएनन्। त्यसपछि उनले निकैबेर अंगालो हालेर मलाई कसेकी थिइन्।

–भोलि जानेबेला बिदा माग्न नआउनू। मैले अहिले नै बिदा गरेकी छु। तर बिहेमा बोलाउनचाहिँ नभुल्नू।

नभन्दै आन्टी र अंकल बिहेमा सहभागी भएका थिए। …

फेरि उनलाई हेर्छु। उसरी नै गहिरो निन्›ामा मस्त छिन्। ‰यालबाहिर उसैगरी एकनासले चिसो तुवाँलोको पातलो पर्दा ओढेर चन्›मा मधुरो उज्यालो बालिरहेको छ।

कोल्टे फेर्छु। बाहिरको त्यही मधुरो जूनको धमिलो प्रकाशमा पढेर थन्क्याउन बिर्सिएको नोभोकोभको लोलिता उस्तै मधुरोगरी छायाचित्र जस्तो देखिएको छ।

सरला आन्टीसँगको यो कथित् प्रेमकथालाई लिएर मैले आफैँसँग धेरै पटक झुट बोलेको थिएँ। उनको र मेरो सम्बन्धका वास्तबिक पटकथा आफूअनुकूल सच्याएको थिएँ र बेइमान आदर्शको सहारा लिएको थिएँ।

बास्तबमा हामी एकअर्काका निम्ति सस्तै र सहजै उपलब्ध खेल्ने साधन थियौं। जसोतसो बाउको पैसाले विश्वविद्यालय पढिरहेको म पेटको भोक मात्रै शान्त पार्ने हैसियत राख्थेँ। यौनको भोकको निम्ति सरलासँगको शारीरिक क्रीडालाई म केही अघिसम्म जबर्जस्ती प्रेम भनेर कृति कोरिरहेको थिएँ।

हो सरला र मेरो सम्बन्ध शरीरको धेरै हो। मन र आत्माको नगण्य होला। यो कुनै प्रेमकथा होइन। यो देहकथा हो। यो हाम्रोजस्तो समाजमा लुकिछिपी हुने अरु हजारौं सम्बन्धजस्तै एउटा प्रतिनिधि सम्बन्ध हो।

यति लेखेपछि हल्का महसुस गर्छु।

सन्तोष चिमरिया

About Admin 94 Articles
For beautiful eyes, look for the good in others; for beautiful lips, speak only words of kindness; and for poise, walk with the knowledge that you are never alone.....so join our site and get knowledge of every field...

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*