मेरो अधुरो कहानी (भाग २)

तल थकाई नलाग्ने गरि बगिरहेको गण्डकी । गण्डकीलाई जिस्काउदै भाग्ने हावा। माथी डाडासम्म आउदा हाम्रो गर्मी पन फाल्थ्यो तर जाडो याममा भने सर्दी बोकेर आएको हुन्थ्यो । वर र पीपललाई घेरेर बनाइएका चौतारी र त्यही चौतारी मुनि रम्ने हामी । वरपर खोपीका खाल्टाहरु थिए । ढुङ्गाले कोरेर बनाइएका बाकसहरु थिए । एकापट्टी हामी भुराहरु गुच्छा खेलेका थियौ । अर्कापट्टी केटीहरु ढ्याकी खेलिराखेका थिए । गुच्छामा म निकै सिपालु थिए । कहिलेकाही सुसान्तले पनि जितिराखेको हुन्थ्यो । सुसान्तको घर जादा ऊ जतिखेर पनि भात खाइराखेको हुन्थ्यो । त्यही भएर उस्लाई भाते भनेर बोलाउथेम हामीले। रोशनले जितेको रेकर्ड भने थिएन। झेल्ली खेल्न सन्देश सिपालु थियो। लछ्छु भने घरबाट भागेर खेल्न आउथ्यो। खेल्न आउदा उस्ले पिटाई नखाको दिन थिएन होला। हाम्रो समूह धेरै जसो संगै एकै ठाउमा हुन्थ्यो। बेला बेला ती केटीहरुसंग निहु खोजिन्थ्यो । उनिहरुले कोरेका रेखा खुट्टाले मेट्दिन्थेम। idea भने सन्देशको हुन्थ्यो । उटपट्याङ गर्न उसलाई कसैले जित्दैनथे ।

                  एक दिन अचम्म भयो । ढ्याकी खेल्दा गौरी ढली । मीरा चिच्याई । अरुबेला झगडा गरे पनि काम पर्दा अघि गइदो रैछ । हामी सबै आआफ्नो गुच्छा टिपेर त्यहा पुग्यौं। आँखा चिल्मिएकी थिइ गौरीले । फिल्ममा ढल्दा पानी खन्याको देखेको थिएम । लछ्छुलाई पानी लिन पठाएम । त्यतिकैमा एउटी केटी रुन थाली । ऊ त्यो गाउमा नया थिई। यसो हेरेको , सेतो अनुहार , ओठमा कालो कोठी । बच्चामा राम्रा त सवै हुन्छन तर उसमा छुट्टै खाल्को चमक देखिन्थ्यो । यति बेलासम्म गौरीका बुबाआमा आइसक्नु भएको थियो । उहाँहरु गौरीलाई लिएर अस्पताल जानू भयो । हामी चाहिँ जान्ने बुझ्नेले झै के भयो भन्दै केटीहरुलाई सोध्न तर्फ लायौं । “खेल्दा खेल्दै चक्कर लागेको हो” मीराले भनी । नया मान्छेको आँखा चिसै थियो । रुन भने छोडेकी थिई। रोशन उस्को आडैमा गएको थियो ।सन्देशले मुख खोल्यो,” को हो यो नया मान्छे?”  रोशनले भन्यो,” मेरो बहिनी ” । ऊ आफ्नो मामाघर आएकी रहिछे । बुबा मम्मी अब अमेरिका जानुहुने रे । अनि ऊ चाहि रोशनको मा बसेर पढ्ने कुरा रोशनले सुनायो । हामी चिनजान गर्न लाग्यौ । उनको नाम सुरक्षा थाहा पाएपछी सन्देश बोल्यो,” नानामा सु सु धेरै गर्ने भएर सु बाट नाम राखेको रे ।” सबै जना खितितिती हास्यौ । त्यो बालापनको हासो अहिले सम्झिदा पनि कस्तो आनन्द आउँछ ।

      हामी केटाकेटीहरु मिल्न सुरु गरेको दिन त्यही नै हो । त्यसपछि हामी संगै खेल्न थाल्यौ । लुकामारी, गट्टा, छोइ डुम् , रुमाल लुकाई जे खेल्दा पनि संगै हुन थाल्यौ । दुई चार दिन पछि गौरी पनि ठिक भई । त्यो दिन उस्ले खाना नखाएकी रहिछे । दुब्लो शरीर त्यसमाथी भोको पेट किन नढलोस त । लुकामारी खेल्दै थियौ । लुक्नको लागि म पीपल भएको ठाउँ मुन्तिरको ढुङ्गामा गए । सन्देश डुम परेको थियो । एकैछिनमा पछाडि खसाङ खुसुङ आवाज आयो। म तर्सिए । कतै सर्प त आएन ? अनि मुन्टो फर्काएर हेरेको सुरक्षा रहिछे । “सातो लगिस मेरो” मैले सासले बोले । उनले पनि सासैले बोल्दै भनी, “चिच्याउदै आए त सन्देशले था पाइहाल्छ नि ।”  कस्तो कस्तो लाग्यो मलाई । अनुहार रातो भैसकेको थियो मेरो। लाज लागिराख्या थियो । तर भित्र भित्र भने एकोहोरिएको थिए म । उनको वाक्यमा हाम्रो माया थपेर भित्र भित्र गुन्जिए, चिच्याउदै आए त सन्देशले हाम्रो माया था पाइहाल्छ नि । ओहो कस्तो सुहाएको वाक्य ।

                       सन्देश वरको रुख सम्म आइसकेको थियो। पिपलको रुखमा छेकियो । कता गयो भनेर मुन्टो के झिक्या थिए विशाल डुम भनिहाल्यो । ढुङ्गाबाट निस्किन लाग्दा सुरक्षाको   खुट्टा  कुचिएछ । अया भनी । सन्देशले सुइको पायो ।  छड्के भाग्दै सुरक्षा डुम भन्यो । र हाम्लाई जिस्काउदै भन्यो,” था पाए था पाए”

                      “चुप लाग नत्र पिटाई खान्छ्स ” म झर्किए । डरले अनुहार रातो बनाउदै पर भाग्यो । केही बेर पछि आवाज सुनियो, ”  अनुसा   डुम” ।

                      सुरक्षा मेरो नजिकै थिई । मलाई नै हेरिरहेकी छे कि भनेर चियो गरेको । उ त कमिलाहरु खेलाउदै रहिछे । एकसुरमा थिई । मैले “आबुई” भनेर चिच्याए । तर्सेर खङ्ग्रङ्ग भैई । अनुहार रुन्चे बनाई। रुनु भन्दा पहिला नै माफ मागे । अब देखि त्यस्तो गर्दिन भने । धन्न फक्किइ । मेरो गाला तान्दै “छुच्चो” भनी र खुरुरु दौडेर पर पुगी। हेर्दा हेर्दै लडेजस्तो लाग्यो मलाई। नभन्दै चिच्चाई,”अया नि बाबा, मरे म त ……… अऽऽऽऽया…” के भयो भन्दै हेर्न त्यहा गए। लौ खत्तम । खाल्टोमा परिछे । भैंसी आल खेल्ने ठाउ थियो त्यो । अरु साथीहरु पनि जम्मा भैसकेका थिए । अब निकाल्नको हैरान । “विशाल जा निकाल” सन्देश प्वाक्क बोल्यो । म झस्किए । सबैले मतिर हेरे । त्यस्लाई निकाल्न म नै जन्मेको हो भन्ने हेराई थियो सबमा । अब कसरी झिक्ने होला । लछ्छुलाई नाम्लो लिन पठाए । साह्रै सोझो थियो लछ्छु । भनेको जे नि मान्ने । त्यही भएर उसलाई अह्राउन निकै मज्जा लाग्थ्यो । एकैछिनमा लछ्छु आइपुग्यो । एकातिर सबलाई समाउन पठाए । अर्को टुप्पो सुरक्षालाई  बेस्सरी समाई भन्दै दिए । सबले बल गरेर तानेपछी सुरक्षा निस्कीई । तर बिडम्बना तलको कट्टु र चप्पल त हिलो मै छुटेछ । निकाल्न सम्भब नभएपछी रोशनलाई सट फुकालेर दे भने । त्यस्ले सट फुकायो । सुरक्षाले लाज छोपी र दुई दाजु बहिनी घर तिर लागे ।

                         रोशनको दाउरे शरीर हेर्दै सन्देश हड्डी गन्न थाल्यो  ,”१,२,३,४….९…१५ ….२०६” । उस्ले एकै चोटि २०६ पुर्यायो । कति जानेको होला । एक नम्बरको गफाडी हुने लक्षण देखाइ राखेको थियो । फेरि मुख खोल्यो,”आज मैले ढुङ्गा मुनि विशालको कुरा थाहा पाएको।” मेरो सातो पुत्लो गयो । अनुहार रातै बनाइदियो । अब मेरा नराम्रा दिन सुरु भए जस्तो लाग्यो। “के कुरा” मीराले  कौतुहलता देखाई । “विशाल र सुरक्षा संगै लुकेका।”  खत्तम पार्यो । मैले ढुङ्गा टिपे । सन्देश भाग्यो । हाने तर छलियो । भाग्य  बलियो रहेछ । अध्यारो हुन लागेकाले घर जाने सल्लाह भयो । अर्कोदिन त्यहा आएको त म छ्क खाए । जताततै B+S लेखिएको रहेछ । त्यसै त लजाउने मान्छे । साथीहरुले यस्तो गरेपछी त झन खपी नसक्नु भए । देखेको जति मेट्दै हिडे । कम्तिमा १० ओटा ठाउमा लेख्न भ्याएको रहेछ । कस्ले लेख्यो त्यो चाहिँ थाहा भएन । दोस कस्लाई दिउ?? सन्देशलाई दिउ त उ त्यहा आइपुगेकै थिएन ।  दोस आफैलाई दिए । एकछिन कुरे केटाहरुलाई । सब्बै जना आए तर रोशन र सुरक्षा भने आएनन् । कस्तो खिन्न लाग्यो । किन नआएका होलान जस्तो लाग्यो मलाई । स्कुलमा त ठिकै थिए । खेल्न आउछु भनेकै थिए तर किन आएनन? म सोच्न सकेको थिइन । आज अलि थोरै जना भएकाले छोइ डुम खेल्ने कुरा भयो । मन नलागी नलागी खेले । अरुबेला कसैले छुन नसक्ने मलाई आज धेरैले डुम बनाए । सायद रोशनको कमिले होला । कमि त सुरक्षाको थियो । बाहानामा मात्र नाम रोशनको ।

               भाते पनि खेल्न आएको थिएन आज । त्यही भएर रमाइलो कम भयो । केटीहरु पनि मिसिएनन् । यत्तिकैमा सन्देशले भन्यो,”रोशनको घर जाम न।” मैले नाई भन्ने कुरै भएन । अनि उस्ले भन्यो “कति छिटो जान्छु रे पख तलाई।” फेरि मौकामा चौका हान्न छोडेन । जति जिस्काएनी मलाई साथ दिइराख्यो । अनि हामी रोशनको घर तिर लाग्यौं । रोशन भित्र खेलिराख्या थियो एक्लै । ” किन खेल्न नआएको ह ?” सन्देश बोल्यो । हिजो सुरक्षाले गाली खाएको र आफुले पिटाई खाएको कुरा सुनायो । साह्रै दुख लाग्यो मलाई। यस्सो टाउको घुमाए सुरक्षा कापीमा चित्र कोर्दै थिई । केटाहरुलाई त्यही छोड्दै उनी भएको ठाउँमा गए । मलाई देखेर आफ्नो कापी लुकाई । देखाउन खोजिराखेकी थिइन तर जबर्जस्ती गरेर भएनी खोसेर हेरे । मान्छेको चित्र हुनुपर्छ । एकातिर लाइनमा ३/४ जना थिए । एउटा पोखरीमा टाउको थियो । सायद दाउरा जस्तो हात होला बाहिर निस्केको पोखरीबाट । हाहा, निकै हासो लाग्यो मलाई । आफू पोखरीमा खसेको चित्र बनाइकी रैछे । अनुहार रातो बनाई सायद म हासेको देखेर होला । त्यसपछी म रोशन र सन्देश भएको ठाउमा जान्छु भनेर निस्किन के लाग्या थिए तिनीहरु त्यही आइपुगे । रोशनले टिभी खोल्यो र कार्टुन नेट्वोर्क लगायो । Tom & Jerry आएको रहेछ । ओहो हामी सबैलाई मन पर्ने च्यानल थियो त्यो । एकछिन हेर्यौं । बाहिर हेरेको रात परिसकेछ । सन्देश  आत्तियो । घरमा बाले पिट्छन भनेर होला डराएको । छिटो घर जाम भनेर अत्यायो । अनि जान्छम भन्दै रोशनको घरबाट निस्कियौं ।

                                बासबाट आवाज आइरहेको थियो । कट्ट्टर्‍रर्‍रर्‍रर्‍र । मुटुले गति बढाइरहेको थियो । खस्य्राक खुस्य्रुक गरेको पनि सुनियो । भूते खोल्सो भने पछि ठूलाको त सातो जान्थ्यो अझ हामी त बच्चा नै हौं । सन्देशले मेरो हात समात्यो । र भन्यो,”१,२..३” । हामी टाप कस्यौं। एकै छिनमा दोबाटोमा आइपुग्यो । अनि सन्देश तेर्सो लाग्यो म चाहिँ ओरालो । अब त बिस्तारै हिडे पनि हुन्थ्यो । घरहरु नजिकै नजिकै थिए । रामेको घर आउदा कुकुर बेस्सरी भुक्यो । म एकसुरले हिडिराखेको थिए । सातो पुत्लो गयो र चिच्याउदै भने,”ओएएएए” । घर पुगे । मम्मीको हातमा बाँसको लौरो थियो । आज मेरो तर्सिने दिन रहेछ जस्तो माने । “कहा गा थिस् ? यति बेला हो आउने? पख तेरा खुट्टा सुट्टा  नभाची का छोड्छु ।” मम्मी झर्किनु भयो । अब पिटाई खाने निश्चित   थियो । अब रुनु बाहेक अरु विकल्प थिएन । म रुन थाले । नपिट्दै रुन्छ्स भन्दै दुई स्वाम खाइयो ।करेन्ट लायो मलाई । एकदम पोल्यो पिठ्युँ मेरो । रातै भएको हुनुपर्छ । खाना टकार्नु भयो । खान मन लागेन तर नखाए फेरि अर्को दुई स्वाम त्यसपछी भात ग्वाम ग्वाम खान जसै पर्थ्यो । त्यही सोचेर भात खान के बस्या थिए मज्जाले पोल्यो मलाई । कोल्टे परेर भएनी भात सकाए । थाल जुठेल्नोमा राखेर चुठें । अनि हात खुट्टा धोए । खुट्टा धुदा पनि दुखिराख्या थियो मलाई । अनि बिरालो लुसुक्क भान्सामा छिरेझै म पनि बिस्तारामा लुसुक्क पसे र सिरक भित्र गुटुमुटु परेर सुते ।

                     विहान उठदा साढे आठ बजिसकेको रहेछ । स्कुल जाने बेला भैसकेको थियो । फेरि गाली खाने भैयो जस्तो लाग्यो । कोठाबाट निस्किए । यता उता हेरेको गाग्री देखिन । मम्मी पानी लिन जानुभएछ । घर पछाडी गएर परसम्म नियाले देखिन । यहि मौका छोपी छिटो छिटो मुख धोए । बिस्तारा मिलाए र किताब पल्टाएर पढे जस्तो गर्न थाले । केही छिनमा मम्मी आउनुभयो । कोठामा चिहाउनु भयो । पढेको देख्नुभयो। म मनमनै रमाए । कपडा लगाउन पठाउनुभयो । कपडा लगाइवोरी खाना खाएपछी स्कुल जान लागे। रोशन, सन्देश, सुरक्षा कुरेका थिए । सम्झिए ‘ला,आज मैले होमवर्क सकेकै छैन’ । खत्तम भयो अब । हिजो सन्देश र भाते लाई होमवर्क नगरेर कुखुरा बनाएर स्कुल घुमाएका थिए उपेन्द्र सरले । आज पक्कै मेरो पालो  पर्यो कुखुरा बन्ने । निकै आत्तिए । त्यैपनी कक्षामै गर्नुपर्ला भनेर मनलाई शान्त पारे ।

           सबैसंग हात मिलाए सुरक्षालाई छोडेर । लाज लाग्यो । हेरे, लजाइकी त त्यो पनि थिइ । मुसुक्क मुस्कुराई । कति राम्रो देखिन्थ्यो त्यसको दिम्पल। पूरा गाला नै प्वाल परेजस्तो । बेला बेला सोच्थे त्यसको गालालाई खोपी बनाई म गुच्छा किन नखेलु !! सन्देशको गालामा छाप अझै गएको रहेनछ । त्यस्ले नि मज्जाले खाएछ क्याहो । “ओहो गालामा त ट्याटु छ त ” मैले भने । सबै गलल हासे । मनमनै सोछे धन्न मैले नदेखिने ठाउमा खाए नत्र त मेरो नि ट्याटु देखिने । “बिचरा मज्जाले गोदाई खाइस है । म त कस्सो बाचे यार । मम्मी घाँस काट्न जानू भा रैछ । अलि ढिलो आउनु भयो । नत्र त मैले नि पिटाई खाने ।” सबलाई ढाटे मैले । पत्याए जस्तो गरे सबैले । सन्देश हास्न थाल्यो र हास्दै भन्यो” त रोको हाम्रो घरसम्म सुनिएकै थिएन के रे” । म रातै भए । केही पनि बोल्न सकिन म । अनि हामी चुपचाप स्कुल तिर हिडी रहयौं । एकैछिनमा स्कुल पुयौं। सुरक्षा आफ्नो कक्षामा गई भने हामी तीनजना अर्को कक्षामा। आज काम विशेषले उपेन्द्र सर पहिलो घण्टी मै आउनुभएछ त्यो पनि१० बजेको घण्टी नबज्दै । आम सर भन्न नपाउदै होमवर्क गरेको भए आइजो नत्र बाहिरै मुर्गा बन भन्नुभयो। म तर्सिए । के गरम के गरम भयो मलाई । जे पर्ला पर्ला भनेर भित्र पसे । होमवर्क झिक भन्ने आदेस आएपछी म तर्सिए। झोला खोल्न लागे जस्तो गरे । सरले  भन्नुभयो, ”  तँहरु गएर बस विशाल र रोशन ,हिजो नि गर्या थिइस आज नि गरिस होला । ओइ सन्देश तँ देखा” । लामो सास फेरे । लास्ट बेन्चमा गए । हाम्रो लागी त्यो सिट सधै सुरक्षित हुन्थ्यो । सन्देशले आज चाहिँ धन्न होमवर्क गर्या रैछ । हिजो जस्तो कुखुरा बन्न परेर आज त्यसलाई । सरले पढाउन थाल्नुभयो । मलाई भने हाई हाई आइसकेको थियो । कस्तो झुर तरिकाले पठाउने। ननिदाएको दिन हुन्थ्येन । निदाएको थाहा पाएपछी चकले हान्थ्ये । अनि झसङ्ग झस्किएर ब्युझिन्थ्ये । आज पनि त्यस्तै भयो । क्लासवर्क दिएका रहेछ्न । खोइ कान्छा कति सकिस भन्दै म भएको ठाउमा आए । मेरो कपि ताने । अनि ओल्टाई पोल्टाई गर्न थाले ।  “ल केटो उठ । तेरो होमवर्क खोइ ?” मेरो सातो गयो । कापी भुले भन्ने वाहाना पनि थिएन किनकी सरको हातमा कापी थियो । आज सामाजिक बिषय नहुने । त्यही भएर भने, “सर हिजो रोशनले र मैले उस्को घरमा संगै बसेर लेखेको । कापी लान बिर्सेर सामाजिक कापीमा लेखेको आज क्लास नहुने भन्ठानेर ल्याउदै ल्याइन सर। ” सरले रोशन लाई सोध्नु भयो ।उस्ले हो को भावमा टाउको हल्लायो । कस्सो बाचियो । लामो सास फेरे । सरले रोशनको कापी थुतेर हेर्न लाउनु भयो । अगाडि पल्टाउनु भयो । आफ्नै बिषयको कापी रहेछ । हेरेर मुस्कुराउनु भयो। अनि पल्टाउनु भयो कापीका पान्नाहरु । उस्ले पनि होमवर्क नगरेको रहेछ । “खोइ त तेरो होमवर्क ?” सर चिच्याउनु भयो । “ल बाहिर निस्की दुबैजना ” । सरको यो वाक्यले मुटु थर्कियो । बरु सुरुमा नै कक्षा भित्र नपसेको भए हुन्थ्यो नि । यसरी बेइज्जत त हुनु पर्थेन । मेरो मनमा अनेकौ कुराहरु खेल्न थाल्यो । अझ रोशनले कति सरापेको होला मलाई । मैले गर्दा त्यो पनि फस्यो । बेकार उस्को नाम लिएछु । बरु सन्देशको नाम लिएको भए हुन्थ्यो नि मैले । कमसेकम त्यस्ले त होमवर्क सकेको थियो । भाले बन्न लगाएपछी हामी बस्यौ । दुई खुट्टाको कापोबाट हात निकालेर कान समात्यौं । अब कुखुरी काँ भन्न बाकी थियो । त्यो पनि भन्न लगाउनु भयो अनि भन्यौ पनि । हामीलाई स्कुल तीन चोटि घुम्न लगाउनुभयो । हाम्रो गति बिस्तारै अघि बढ्यो । “पाले दाइ, अलिकती सिस्नो लिएर आउनु त छिट्टो” सरले पालेदाइलाई भनेको कुरा हामी दुईजनाले सुन्यौं।

                          रोशनले भन्यो “हेर तैले  गर्दा म पनि फसे। चन्द्रमा उल्टो परेको बेला जन्मेछ्स क्या हो । कहिल्यै गतिलो काम र idea झिक्ने भइनस” । मलाई थाहा थियो ऊ मसंग धेरै रिसाएको छ भन्ने कुरा । त्यैपनी नबोली नबोली हिडे। दुईपल्ट घुमी  सक्यौ । लास्टै खुट्टा दुखे। म आत्तिए ।स्कुलको अगाडि पट्टिको पाटो कटेपछी म उठे । हिजोको पिठ्युँ आज पनि झम्झमाउन लाग्यो । बिस्तारै अर्को पाटोसम्म हिडेरै गए अनि छेउमा पुग्ने बेलामा फेरि कुखुरा बने । रोशन कतै पनि उठेन ।  सकेकै हो उसले । केही बेरमा ढोका अगाडि पुग्यौ । सरले उठ भन्न नभ्याउदै उठ्यौ । “रोशन त भित्र जा । यो कुखुरा बन्दा ठग्यो तँ यता आइज ।” सरले भन्नुभयो । ला म उठेर हिडेको पनि थाहा पाएछ्न । अब सिस्नो खाइने भैयो । हातमा सिस्नो अघि देखि नै रहेछ । धारामा गएर सिस्नो भिजाउनुभयो । ” ल कान्छा उता फर्की ” सरले भन्नुभयो । म चुपचाप उता फर्किए । हाफ कट्टु लाएको थिए । घुडा मुन्तिर झनननन करेन्ट लाग्या जस्तो भयो । म निकै आत्तिए । चिच्याए, रोएँ, कराएँ अह सरको कोपटी मन । मलाई छोड्दै छोडेनन् ।  “तेरा बाहाना, अनि कुखुरा बन्नुको साट्टो उठेर हिड्ने ।” यस्तो भन्दै सिस्नो लगाई राख्नुभयो सरले । कुन चाहिँ पापीले भन्देछ म उठेर हिडेको , सोचे मैले । ” सर भयो के भयो सर । अब बाट कहिल्यै यस्तो गर्दिन” मेरो मुखबाट यिनै शब्दहरु निस्किए । यता उता हेरेको लाइन लागेर सब कक्षा भित्र जानू पर्ने ठाउमा मलाई नै झ्यालबाट हेरिरहेका रहेछ्न ।  सरले सबको सामु बेइज्जत बनाइदिए मेरो । मनमनै सोचे,” पख त मुलालाई मैले जानेछु”

             अनि मलाई फेरि यस्तो गरिस भने झन धेरै पिट्छु भन्दै धम्कि दिएर भित्र जान भनी आफू अफिस तिर गए ।झननन पोलिराखेको थियो । आँखा भरी आँसु थिए । सिगान चुहिराखेको थियो । एउटा हातले सिगान अर्को हातले आँसु पुसिरहे । सबले मलाई नै हेरेका थिए । रोशनलाई भागेर घर जाम भने । उ मानेन ।पहिलो घण्टीमा नम्रता मिस आउनु भयो । किन पिटाई खाएको उस्ले भनी सोध्नुभयो । रोशन अगाडि गएर के के भन्यो । अनि म थिम आएर हिड घर जाम भन्यो । मैले मिसलाई पुर्लुक्क हेरे । घर जा भन्ने संकेत दिए जस्तो लाग्यो । नाम जस्तै नरम रैछिन मिस । सरसंग रिस उठेपनी मिसको त्यो अनुमतिले मन हल्कियो । कस्तो दिन पारेर आइएछ । हामी एक अर्कालाई नहेरिकन अरुले देख्छ्न कि भन्दै पछिल्लो गेटबाट निस्कियौं । स्कुल पल्तिर धारो थियो । पानी पियौं , मुख धोयौं र एक अर्कालाई पुर्लुक्क हेर्यौं । घारोको मुहान जङ्गलमा छ भन्थे । हामी त्यतै जाने भयौं । सानो खोल्सो थियो । हामी बिस्तारै झाडी पल्टाउदै हिड्यौं । भित्र त फराकिलो रहेछ । चराहरुका चिरबिर , चलेको मन्द हावा । हाम्रो दर्द नै एकाएक शितल भएर आयो । कस्तो आनन्द संसार ।जङ्गल भित्र भित्र झनै घना रहेछ । हामीलाई डर लाग्न थाल्यो । त्यहा भन्दा भित्र नगई त्यही खेल्ने कुरा गर्यौ । बरु त्यही वरपर के के छ नियाल्न थाल्यौं ।

       चार बजे घर पुग्ने तरिकाले हामी जङ्गलबाट निस्कियौं । स्कुल पुग्यौं । सुन्सान थियो । अफिस कोठाको झ्यालबाट हात छिराएर पर्दा पन्छाई हेरेको साढे चार बजेको रहेछ । समय ठिकै बजेको रहेछ । हामी छिटो छिटो घरतिर उक्लियौ। माथी केटाकेटीहरु खेल्न निस्किसकेका रहेछन् । एउटाले किन ढिला आएको भनेर सोध्यो । ला आज त शुक्रबार पो । कस्तो बिर्सिएको । हाम्रो घरमा फेरि के हालत हुने हो थाहा थिएन। चुपचाप मुख निन्याउरो पार्दै हामी दोबाटोबाट छुट्टियौं । उ उकालो लाग्यो म ओरालो ।

©xtbisu

About Admin 95 Articles
For beautiful eyes, look for the good in others; for beautiful lips, speak only words of kindness; and for poise, walk with the knowledge that you are never alone.....so join our site and get knowledge of every field...

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*