यात्रामा एउटा प्रेम

Writer : Nira Sharma

जनवरी महिनाको चिसो मौसममा म अमेरिका हान्निएकी छु, एक्लै । जहाजमा यसै पनि ‘उग्र भलाद्भी’ मानिसहरू यात्रा गर्छन् । तिनको अनुहारमा औपचारिक हाँसोबाहेक कुनै हार्दिकता र न्यानोपन हुँदैन । सबैलाई कि उङ्नु छ, कि पिउनु छ । नीरस यात्राका काठजस्ता सहयात्रीहरू मैले कैयौं पटक बेहोरेकी छु तर सधैं दोहोरिने यात्रा इतिहास त्यो पटक भंग भएको थियो अनि त्यसैले यसलाई सम्झन लायक बनायो । आकाशमै कथाहरू बने र पात्रले कहिले नमेटिने एउटा छाप मुटुमा हानेर गयो । आजको यो संस्मरण त्यही सुनौलो फ्रेम भएको चस्मा लगाउने युवकको नाममा ।

 

‘म बल्ल सेक्युरिटी जाँचको लाइनमा छु । यात्रा अनिश्चित हुन्छ नै, मेरो त सर्त नै अनिश्चय यात्राको हो ।’

 

कानमा तिखो गरी ठोक्कियो नेपाली आवाज । सुन्दै हार्दिकता लाग्ने, कुनै दम्भ र औपचारिकता नभएको विशुद्ध आवाज । उसको आवाजको हार्दिकताले मेरा कानसँगै आँखा पनि त्यतै तानिए । मैले टाउको मात्र होइन, जीउ नै पूरै उतैतिर फर्काएर हेरेँ । लाइन निकै लामो थियो । यत्रो बेरसम्म थाहा नपाएरै हामी सँगसँगै रहेछौं । अग्लो र पातलो ज्यानको त्यो युवकको व्यक्तित्वले मलाई तानिरहेको थियो ।

मैले फर्किएर नै नहेर्नुपर्ने, हेरिहालेँ । जब आँखा जुध्यो, ऊ मुसुक्क हाँस्यो । त्यो हेराइ र मुस्कानले कोही चिनेको मान्छे पो हो कि झैं लाग्यो तर सजिलै बोलिहाल्ने कुरा पनि आएन । फेरि अर्कोपटक पुलुक्क नहेरी बस्न पनि सकिनँ । जब दोस्रोपल्ट उसले पनि मलाई नै हेरिरहेको पाएँ । नारी सुलभताले यहाँ पनि मार खायो । मैले हतारमा आँखा भगाएर नदेखे जस्तो गरेँ ।

 

ऊ पत्तै नपाई कुन बेलादेखि मेरो मनभित्र बसेर एउटा रोमान्चित हलचल मच्चाइरहेको रहेछ । अब भने लाइनभरि नै हाम्रा आँखाहरूले लुकामारी खेल्दै निकै बेरसम्म दोहोरी गाइरहे । ओहो, कस्तो हठातसँग आइ लागेको परिस्थिति । कस्तो हठातसँग झुल्किएको एउटा पात्र, कस्तो तीव्र र सुमधुरसँग सुरु भएको एउटा प्रेम ।

 

चम्किलो हरियो चेक सर्टमाथि रातो टाई लगाएको त्यो केटालाई सुनौलो फ्रेम भएको सानो चस्माले बडो स्मार्ट देखाएको थियो । लाम्चो अनुहार र पातलो दारीमा उसलाई त्यो चस्मा विछट्टै सुहाएको थियो । कोही चिनेकै मान्छे पो हो कि ? अझै श्रीमान्का कुनै नातेदार पो हुन् कि ? बिजुली चम्किएझैं पिलिक्क एउटा विचारले मन थोरै सशंकित बन्यो । उसलाई आफन्त र नातेदारका रूपमा स्वीकार गरेर यात्रा औपचारिक र बोझिलो बनाउने मनै थिएन मलाई ।

‘के हामी परिचित हौ ?’

उसले मेरो आगमनलाई स्वागत गर्दै उही हार्दिकता भरिएको स्वरमा प्रश्न गर्‍यो ।

मलाई आफूले पहिले पहल गरेकोमा कता–कता शंकोच लाग्यो । तर जे हुनु भैसकेको थियो । मैले पनि आफुलाई सक्दो सहज बनाउँदै, ‘हामी परिचय गर्न त सक्छौं नि’ भनेँ ।

ऊ मज्जैले मुस्कुरायो ।

मेरो नाम ……. । घर पोखरा ।

उसले आफ्नो परिचय दिएको थियो ।

‘मेरो ……। मेरो पनि पोखरा नै हो त ।’ म केही उत्साहित भएँ ।

‘ओहो, छिमेकी परेछौं । तर सुन्नुस् न, मलाई ऊ त्यो पातले गोरे मान्छेको काउन्टरमा जानु छ । हजुरको पालोमा त्यो मानिस पर्‍यो भने मलाई जान दिनुस् न है । उसले नजिकै आएर एकसासमा बोल्यो । मानौं एउटा गह्रौं भारी मलाई दिएर सुस्ताएजस्तै । त्यहाँ काउन्टरमा नम्बर पनि थिएन, तर नेपाली पासपोर्टका लागि जम्मा दुइटा काउन्टर छुट्याइएको थियो तर उ किन त्यही जानुपर्ने हो कारण खुलाएन । मैले प्रश्न गरेर कारण सोध्न नपाउँदै उसले फेरि भन्यो । ‘प्लिज त्यति सहयोग गर्नुस् न । म तपाईंलाई सबै कुरा पछि बिस्तारमा बताउँला ।’

त्यतिबेला म समय र नियतिको खेल सम्झेर छक्क परेको थिएँ । जसले मलाई नजानिँदो गरी तानिरहेको थियो ऊ मसँग सहयोग मागेर नजिकिँदै थियो । म खुसीले फक्रेँ र हलुंगी भएँ अनि हुन्छ भनेर हामीबीचको दूरी अरू कम गरेँ । यसरी एउटा कथामा उनिँदै गएझैं अचानक अपरिचित दुई पात्र परिचित मात्र भएका थिएनन्, सहयोगी र आत्मीय पनि हँुदै थिए ।

लाइन काउन्टरको नजिक पुगिसकेको थियो । उसले भनेजस्तै उसलाई बोलाउनुपर्ने काउन्टरले मलाई बोलायो । मैले उसलाई पठाइदिए । उसको अनुहारभरि डर र चिन्ताका रेखाहरू बग्दै थिए पसिनासँगै । मैले ऊ किन त्यसरी डराउँदै छ भनेर बुझ्नै सकिनँ । सोध्न पनि समय थिएन । मैले ‘अल द बेस्ट भनेँ । त्यतिबेला उसले मेरो हातै समातेरै धन्यवाद भनेको थियो । ओहो कति सजिलै च्याप्प हात समातेको होला । अनपेक्षित भए पनि मलाई विशेष प्यारो र मीठो लाग्यो उसको स्पर्श । कोही आफ्नो मनको मान्छेले छोएजस्तै ।

ऊ गयो तर नियमित काउन्टरबाट उसलाई अन्तै लगियो । मेरो शंका अरू सघन भयो । किन लगेको होला उसलाई मात्र ? तर मैले गर्न सक्ने त्यहाँ केही थिएन । सेक्युरिटी जाँच सकेर म एक्लै निस्किएँ । ऊ निकै बेर आएन । चारैतिर हेरेँ, निकै बेर पर्खिएँ तर ऊ आएन । आँखादेखि मन सम्म फेरि बेचैनीले चिथोर्न थाल्यो । के एउटा पात्रको अनुपस्थितिमा यो कथा उडान नभर्दै ‘ग्राउन्डेड’ भएको हो त ? मनमा यस्तै आशंका र प्रश्नहरू मडारिन थाले । तर न म फर्केर जान सक्थेँ न पर्खने धैर्य नै थियो । मीठोसँग कल्पना गरेको एउटा कथाको वियोगान्तक अन्त्यको आशंकाले मैले आफूलाई फेरि एकपटक अभागी यात्रीको दर्जा दिएँ ।

तर …….

तर फेरि हठातसँग ऊ गेट नम्बर १५ अगाडि आइपुग्यो । उड्ने समय अझै बाँकी थियो । ऊ सरासर म बसेकै ठाउँमा आयो र फेरि उसरी नै हात समातेर भन्यो, ‘धन्यवाद, तपाईंले गर्दा म आज जिन्दगीकै अप्ठेरो खुट्किलो उक्लिन सफल भएँ ।’

‘कस्तो खुड्किलो ?’

हेर्नुस्, एटलान्टापारिको त्यो एकादेश एउटा सपना हो मेरा निम्ति । मलाई निदाउन नदिने सपना । मलाई सबै थोक दाउमा हाल्न लगाउने सपना । अन्यथा नसोच्नुहोला । मैले सबै लिगल च्यानलहरू प्रयोग गरेँ आफ्ना सपनाको निम्ति । सफल भइनँ अनि घरखेत सबै बेचेर दलाललाई ४० लाख बुझाएँ । सपनाले बाँच्नै दिएन । त्यसैले ज्यानलाई हत्केलामा राखेर म मेरो सपनाको देश हिँडेको छु । त्यो काउन्टर बस्ने मानिस सेटिङको हो । त्यसैले म उही भएको ठाउँ जानुपरेको । तपाईंले छोडिदिनुभयो धन्यवाद ।’

उ धाराप्रवाह अघि बढ््दै गयो । हेर्नुस्, घर छोडेर दिल्लीको होटलमा बसेको ठ्याक्कै महिना दिन भयो । आज धन्न कटेँ, च्यानल मिलेकाले । कति साथी यहींबाट फर्कन्छन् । हिजै मात्र त्यही होटलमा बसेका तर अर्कै दलालका चार जना फर्किए । हजुर त मेरो लागि भगवान नै हुनुभो ।’ ऊ बोलिरहँदा कथाले अचानक लिएको मोडले म झसङ्ग भएँ तर उसको अमेरिका मोह देखेर मलाई बडो बिस्मात लाग्यो । तिम्रो सपनाको देश, सपना जस्तै सुन्दर छैन भनूँ कि झैं लाग्यो तर भनिन । बरु सोध्नै पर्ने एउटा प्रश्न सोधेँ ।

‘अमेरिकाको भिसा छ तिमीसँग ?’

‘छैन, छैन र त सेटिङ मिलाउनुपरेको । म स्तानबुलबाट ब्राजिल जान्छु । अनि ब्राजिलबाट मेक्सिको । मेक्सिकोबाट पैदलमार्ग हुँदै क्यलिफोर्निया छिर्ने योजना हो, सबै ठाउँमा च्यानल मिल्यो भने । साँच्चै तपाईं कहाँ जान लाग्नुभएको ?’

‘म पनि तिम्रो सपनाको देश नै जाँदैछु ।’

वाउ, उ रोमान्चित भयो । मानौँ अमेरिका स्वर्ग हो र म स्वर्गमा बस्ने अप्सराजस्तै केही हुँ ।

तर उसको अमेरिकासँग जोडिएको फेन्टासी देख्दा मन नमीठो भएर अमिलियो । उसले उठाएको जोखिम देख्दा आफ्नै आङ सिरिङ्ग भयो । के पृथ्वीको कुनै एउटा कुनो पुग्नुको यत्रो मूल्य हुन सक्छ ? तर उसले आँटिसकेको थियो । उसको सफलताको कामना बाहेक म अरु केही पनि गर्न असमर्थ थिए ।

‘कफी पिउनुहुन्छ ?’

एकछिनको सन्नाटा चिर्दै बोल्यो ऊ । ‘हुन्छ जाऔँ’ मैले सहज बनाउन खोजेँ आफू र वातावरण दुवैलाई ।

 

हामीले कफी पियौं । उसले अमेरिकाका विषयमा बुनेका सबै सपना सुनायो । मैले सुनेँ । म भित्रभित्रै हाँसिरहेकी थिएँ । उसले देखेको सपनाको वास्तवमै बिपनासँग कुनै पनि तालमेल थिएन, तर वास्तविकता बताएर उसलाई दु:खी बनाउन चाहन्नथेँ म । कफीको पैसा तिर्ने बेला मेरो हात नै समातेर मलाई रोक्यो उसले । घरी–घरी उसका हातले मलाई छोइदिँदा आगोको छेउको घिउझैं लाग्दै थियो आफूलाई । मैले उसको आँखामा हेरेँ जहाँ म थिएँ अथवा उसको अमेरिकाको सपनासँग जोडिएकी एउटी पात्र थिई । म आज दाबीका साथ भन्न सक्दिनँ तर त्यो बेला एउटी विवाहिता महिला सबैथोक भुलेर एउटा सपनाजस्तो युवकसँग सपनाजस्तै प्रेममा थिई । बस म यति भन्न सक्छु । त्यो विचित्रको प्रेमकथा थियो । विचित्रको आकर्षण थियो । केही घण्टाको यात्रा पछि छुट्टिने निश्चित थियो र पनि ऊसँग मेरो प्रेम भयो ।

 

हाम्रो उडानको समय आयो । मुस्कुराउँदै प्लेन भित्र पुग्यौं तर हाम्रो सिट सँगै थिएन । दुवैको अनुहारमा बादल छायो । म अगाडि थिएँ । ऊ पछाडि । हामीले उसको छेउको मान्छेलाई विशेष आग्रह गरेर अगाडि पठायौं र पछाडि सँगै बस्यौ । हाम्रो प्रेमको उडान र जहाजको उडानले एकनासले उचाइ लिँदै गयो ।

‘कति घण्टा ट्रान्जिट हो स्तानबुलमा ?’

उसले एउटा नमीठो सत्य सम्झाइदियो ।

‘पाँच घण्टा ।’ मेरो जवाफमा उस्तै नैराश्यता थियो ।

‘अनि तिम्रो ?’

‘मेरो भोलि ।’

ऊ मभन्दा बढ्ता उदास हुदै भन्यो, एकछिन मौन भयौं फेरि बोल्यो, भयो भुलौं जिन्दगीका बाध्यताहरू । भागमा परेको जीवन बाचौं हुन्न ?’

 

मैले सहमतिमा टाउको हल्लाएँ ।

‘के पिउँछौ ?’

‘वाइन ।’

‘तिमी ?’

‘वाइन नै ।’

हामीले वाइन मगायौं । अनि फेरि मगायौं र फेरि मगायौं । हामीले केही भुल्न र केही सुरु गर्न चाहेका थियौं सायद । नत्र नशाको सहारा लिनु आवश्यक थिएन । हामी स्वयं नै एक–अर्काको नशाले आफैं–आफैं मदहोस भैसकेका थियौं । नशाको शिथिलता र उन्मादका बीच कुनै मेहनती किसानले खेती गरेजस्तो आकाशको बीचैबीच उडिरहेको जहाजमा एकर अर्काको अँगालोमा हामी निदायौ अथवा निदाएजस्तो गरिरह्यौं ।

 

यात्रारत रहँदा सायद चियाइरहने आँखाहरूबाट मुक्त हुन्छ र पोखिएर छताछुल्ल हुन्छ मान्छे । मैले पनि त्यो पललाई हातबाट उम्किन दिइन । सबै बन्धन, सबै सर्त र सबै सम्बन्धहरूबाट मुक्त भएर आफू र मात्र आफू भएर बाँच्न चाहेँ । झन्डै आठ घण्टाको लामो उडानभरि हामी प्राय: मौन नै बस्यौ । आँखाहरू बोले । धड्कनहरू बोले । रहरहरू पोखिए । केही अघिसम्म अपरिचितझंै लाग्ने अँगालोहरू भरिए र श्वास साटासाट भए र ती सबैको उपद्रोलाई हामीले मौनतापूर्वक स्वीकार गरिरह्यौं ।

‘सुन न ।’

ल्यान्डिङको सूचना पाएपछि उसले शब्दमा केही बोल्यो ।

‘भन ।’

‘आज नजाउ न प्लिज ।’

‘मेरो ३ वर्षे छोरो श्रीमान्सँग एयरपोर्टमा पर्खिरहेको हुनेछ ।’

फ्लाइटहरू क्यान्सिल पनि त हुन्छन् ।’

तर, त्यसको सुचना एयरपोर्टको बोर्डमै डिस्प्ले हुन्छ ।’

त्यसो भए एयरपोर्ट बाहिर कतै २ घण्टा मलाई देऊ न ।’

‘लैजाऊ ।’

‘नाइँ ।’

‘आफैंले मागेको होइन तिमीले ?’

‘हो तर त्यतिले नपुग्ने भो मलाई ।’

ऊ निकै भावुक देखियो । अनि थपक्क मेरो काखमा टाउको राखेर सुतिदियो ।

‘मलाई पनि तिमीसँगै लैजाऊ न है ।’

बडो मीठो लागेको थियो पहिलो पटक उसले आफ्नै जस्तो गरेर गरेको आग्रह ।

मसँग जवाफ थिएन तर मनमा ऊ प्रति असिम प्रेम जागेर आयो ।

‘केही त बोल ।’

‘तिमीलाई थाहा छ मैले चाहेर पनि तिमीलाई सँगै लैजान सक्दिनँ ।’

उसले बुझेझैं गरि टाउको हल्लायो ।

त्यसपछि हामीले त्यो साँझ स्तानबुलमा सँगै बितायौं । चुपचाप तर कसिलोसँग हातहरू बाँधेर ।

 

अनि छुट्टिनुअघि फोटा खिच्यौं । उसले मेरो भाइबर नम्बर लियो र मैले उसलाई जहाँ–जहाँ पुगे पनि मलाई खबर गर्दै रहने बाँचा गराएँ र अन्तत: एउटा भारी मन लिएर उसलाई त्यही एयरपोर्टमा छोडेर म न्युयोर्क उड्ने सुरक्षा जाँचतर्फ लागे । जाँचको अन्तिम घेरा नाघ्नै लाग्दा ऊ दौडिँदै आयो र केही बिर्सेझैँ गरी भन्यो

‘सुन त, मेरो पासपोर्ट त लगेकी छैनौ नि ?’

‘छैन किन लान्थेँ र ? अघि फोटो खिचेपछि मोबाइल पनि तिमीलाई नै दिएको छु हेर त ।’ मैले भनेँ ।

ऊ खिस्स हाँस्यो तर नमीठो ।

‘सुन न’ फेरि आयो उसको बेचैन मनको आवाज ।

‘भन छिटो भन , हेर त म ढिलो हुँदैछु ।’

‘केही त लिएर जाँदैछौ नि ?’

‘हो लिएर जाँदैछु, तिम्रा केही स्पर्शहरू । जसले मलाई भित्रैसम्म छोएका छन् ।’

०००

त्यसपछि जिन्दगी यन्त्रवत चल्न थाल्यो । घर, काम, श्रीमान् र छोराछोरीको सेरोफेरोमा नियमित चक्रमा घुमिरह्यो । म पुगेको धेरै दिनसम्म पनि उसको केही खबर आएन । म घरिघरि भाइबरमा अनलाइन छ कि हेरिरहन्थेँ तर कहिले अनलाइन देख्दिनथेँ । एक दिन भाइबरमा म्यासेज आयो ।

हाइ प्यारी, तिमीलाई सम्झिरहेको छु । तिम्रो मायाको ऊर्जाले यात्रा सहज भएको छ । अहिले बोल्न मिल्दैन । फेरि मिलेको बेला कल गर्छु ।’ तर मैले जवाफ दिन नपाई अफलाइन भयो ।

जिन्दगी नामको चक्र फेरि दैनिकीमा फन्को लगाउँदै गयो उसको माया र सम्झना समय पाउँनासाथ धिपिक्क धिपिक्क बल्थे र सँगसँगै हिँड्थे पनि, तर जब थिचिन्थ्यो वास्तविक जिन्दगीको बोझले तब छुटेझैं लाग्थ्यो पर कतै ।

त्यसको झन्डै दुई महिनापछि फोन आयो । ऊ पटक्कै खुसी थिएन । थाकिसकेको थियो जिन्दगी र जिन्दगीले दिएको अनिश्चित यात्रासँग । मेक्सिको जंगलबाट उसले फोन गरेको थियो ।

‘२५ दिन भयो हामी भोकै तिर्खै जंगलै जंगल हिड्दै छौ । आज बिहानै हामीले पासपोर्ट च्यात्यौ । अब तिमीलाई अन्तिम कल गरेर फोन पनि फ्याँक्नुपर्छ । हामी सायद मेक्सिको र क्यालिफोर्नियाको बोर्डरमा छौं । बाँचेर तिम्रो देश आइपुग्छु जस्तो लागेको छैन । आइपुगेछु भने कोसेली लिएर अवश्य भेट्न आउनेछु ।’

०००

फेरि जिउनुको नाममा घुमिरह्यो जिन्दगी । दिन बिते । महिना र वर्ष बिते तर यो बीचमा उसको कुनै खबर आएन । म दुईपटक नेपाल पुगेर फर्किएँ र प्रत्येक ट्रान्जिटमा मेरा आँखाहरू उसकै खोजमा समय काट्थे । मलाई अब यात्रामा कसैसँग बोल्ने रहर पनि जागेन । आफ्नो एउटा पात्र र एउटा कथा नै यस्तो अधुरो रहेपछि मलाई यात्रादेखि फेरि बैराग लागेर आयो ।

तर एकदिन ऊसँग त्यसरी नै अचानक भेट भयो जसरी दस वर्षअघि दिल्ली एयरपोर्टमा भएको थियो । साँझको समय, शरद् ऋतुको याम, डब्लिन पार्कको बीचमा एक लोग्ने मान्छे, एक नारी र एक बच्चा थिए । मैले उसलाई परैबाट चिनिहालें । ऊ प्रशस्त मोटाइसकेको थियो र पनि मैले उसलाई चिनेँ । नजिक गएँ तर उ दिल्ली एअरपोर्टमा हाँसे जसरी हाँसेन ।

म अझै नजिकै गएँ । उसको अनुहारमा हेरेर मुस्कुराएँ तर ऊसले प्रत्युत्तरमा अनौठो मानेर हेरिरह्यो । म के गरूँ के गरूँ अलमल्लमा परें ।

मेरो मुखबाट हठात् निस्कियो, ‘के हामी परिचित हौं ?’

उसले औपचारिक र कृत्रिम मुस्कान छोड्दै भन्यो ।

‘आई ड्न्ट थिंक सो ।’

 

ढल्किँदै गैरहेको साँझ मेरा निम्ति एक्कासि मध्यरातजस्तो भएको थियो । मैले उसको अनुहारबाट आफ्नो अनुहार हटाएँ र त्यहाँबाट हतार–हतार बाहिर निस्किएँ । एउटा निष्पट्टता र सन्नाटाले मलाई लखेटिरहेको थियो, तर कान भरी भने एउटै आवाज गुन्जिरहेको थियो ।

‘आई डन्ट थिंक सो ।’

आई डन्ट थिंक सो…

म भने आफूलाई बलजफ्ती कन्भिन्स गराउन खोजिरहेकी थिएँ । ऊसले सही भन्यो, ऊ स्तानबुल एयरपोर्टमा बिदा भएको त्यो हँसिलो युवक हुँदै होइन, अहँ पटक्कै होइन ।

 

About Admin 94 Articles
For beautiful eyes, look for the good in others; for beautiful lips, speak only words of kindness; and for poise, walk with the knowledge that you are never alone.....so join our site and get knowledge of every field...

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*