Baa ko Chasma – Katha

“मामु होईसिन्न के…!” ऊ मेरो नजिक सरी-” कामगर्ने पनि घरमा छैन यतिबेला…”  केहि दिन देखी उसको हाउ भाउ र सारिरिक संकेतमा भएको यो उखरमाउलो बदलावको कुनै बिषेश कारण थियो भने उहि जानोस् तर मेरो मनमा मर्नैलागेको महिनाको तलबको हिसाब किताब भन्दा अरु केहि थिएन ।

 

यहि पैसाथियो, जसको आधारमा काठमाण्डौ सहरले मलाई बास दिईरहेको थियो ।

 

जानि नजानी मलाई ठाउँ कुठाउँ छुने । मौका बेमौका मसँगै टाँसिन आउने । एकोहोरो मलाई हेरिरहने र सरिर ढाक्ने भन्दा देखाउने उसका यि क्रियाकलापहरुले मलाई जुरुक् जुरुक् नबनाएको त कहाँहोर ? तर एकछिनको उन्मादमा उम्लिएर म  उम्लिएर पोखीएको दुध झैं हुनचाहन्थिन । म भाँडामै रहन चाहन्थेँ ताकी मेरो परिवारलाई काम लागीराख्न सकौं ।

 

“पढनमा ध्यानदेउ अनन्या !” मैले आफ्नो नाडीमा भएको औतार खुईलिएको घडीमा समय हेरेँ । यो पनि मन नलागी नलागी घस्रदै थियो मैँ जस्तो । सायद मैले जस्तै मौका खोजीरहेथ्यो सुस्ताउने यसले पनि । यो मेरो तेश्रो ट्यूसन थियो । थाकेर चुर भएकोथिएँ । यतिबेला मनले ओच्छ्यानको होईन, खुट्टा फिंजाएर पल्टने अढाई हात धरतीको कामना गरिरहेथ्यो । म कसैगरी बाँकी आधा घन्टा धकाल्न चाहन्थेँ र यो अररो भएको ढाड सोझ्याउन चाहन्थेँ ।

 

“छि: कस्तो यो सर त !” उसले आँङ तानी । मेरो तिघ्रामा प्याट्ट पिटी र अनुहार मेरो नजीकै ल्याउँदै भनि-” म्याथ र इंग्लिशको लागी त भोलि पनि दिन आउँछ । तर तपाईको लागी नआउन सक्छ..!”

 

पच्चीस बर्षको लक्का जवानथिएँ । लुरे लुरे भएपनि सरिरमा तातो रगतको कमी थिएन । तर उसको उन्मादपूर्ण निमंत्रणाको संकेत जाहाँ पुग्नुपर्नेहो त्यो भन्दा पहिल्यै बाटोमा मेरो पापी पेट थियो । अरुको केहुन्छ कुन्नी ?

 

“अनन्या ! आज तिम्रो पढने मुड छैन जस्तोछ ।” मैले जुरुक्क उठ्दै भने -” म भोलि आउँछु ।”

 

“कस्तो बाइ, यो सर त !” उसले मेरो हात थामी-” केई हुँदैन के, पहिलेको सर त..”

 

म उसको हात झट्कारेर अघिबढेँ । उसँगको वाफिलो संसर्ग भन्दा बाको भाचिएको चस्मामा मेरो मन जेलिएकोथियो ।

 

भैचालोले बेघर बनाएको मेरो पाँच जनाको परिवार हरी काकाको गोठमा बसेर घर ठड्याउने सपना देख्दै आधापेट खाएर त्यहि सपनाको डकार छोड्दैथिए । म कसरि पेट छोडेर सरिरको सोचौँ ? उसको सरिरको लोभ जत्तिसुकै भएपनि उसको आमाले भोलि दिने तलबको आकर्षण ठुलो थियो मेरो लागी । बाहिर आएर मैले पसिना पुछेँ र फेरी उसको कोठामा पस्ने लोभलाई जवरजस्ति गलहत्याउँदै अघिबढेँ ।

 

‘बल्खु !’ ‘ल है बल्खु, यता’ । केहि पर एउटा माईक्रो आएर रोकियो । माईक्रो भेट्न दौड्नुपर्ने म, झन बिस्तारै अघिबढेँ । खल्तिमा जम्मा एउटा नोट थियो । दरो सँग त्यो नोटलाई च्यापेर मैले मनमनै भने-” भैगो, किन साट्नु यो यौटा नोट । भोलि देखाजाला ।” बस देखी तर्किएर म सडकको पेटीमा उक्लिएँ । ढाडले गुनासो गर्यो । तर म सुनेको नसुनै अघिबढेँ ।

 

कोहि आएर जानि जानि म सँग ठोक्कीयो ।

 

“सरि !” आफ्नो गल्तिनै नभएपनि झुक्न सिकीसकेको मेरो मुखबाट निस्कीयो ।

 

“एक्लैहो !” एउटा आशपूर्ण गुनगुनाहटले मेरो कानलाई स्पर्श गर्यो ।

 

“होईन, गरिबीपनि साथैछ !” मलाई भन्न मन लागेकोथियो तर मुखबाट-” होईन ।” मात्रै निस्कीयो ।

 

“आँखा खल्तिमा राख्याछस् कि केहो ?हेरेर हिँडन सक्दैनस् ?” गुनगुनाहट जस्तो स्वर कर्कस सुनियो । मलाई कुनै आश्चर्य लागेन । परिस्थिति । कारक यहिहो । गुनगुनाहटको पनि कर्कस हुनुको पनि ।

 

कोठामा पुग्दा रातले बिहानलाई सम्बोधनगर्न थालिसकोको जस्तो लाग्थ्यो । दुई घन्टा सकस पाएको खुट्टा र ढाडले जति गुनासो गरेपनि खल्तिको सिङ्गो नोटले ‘स्यावास’ भनेझैँ लाग्यो । समय हेर्न खोजेँ तर घड़ी एघारबजे नै सुतिसकेछ । खल्तिबाट मोबाइल झिकेर हेर्नुभन्दा पहिले मनले घडीमा ब्याट्रि नफेर्ने निस्कर्ष निकालिसकेको थियो-बेकारको खर्च । सस्तै सहि,मोबाईल छँदैछनी ।

बिहान लगाएको सर्टको कलर अर्कै देखिईसकेपनि मसँग त्यसको बिकल्प थिएन । फुकालेर सरक्क ढोका पछाडी झुन्ड्याएँ ।

 

लेखक : सानु शर्मा

 

 

‘यो पटक बाको नयाँ चस्मा किन्छु । अर्को पटक केहि पैसा बचाएर एउटा सर्ट किन्छु ।’ सोच्ने बित्तिकै मनले मज्जा मान्यो । आँखाको स्क्रिनमा पुतली सडकको एउटा पसल बाहिर डमीमा सजिएको त्यो निलो सर्ट सजियो । मन फुरुङपर्यो निलो रंगको त्यहि सर्ट आफ्नो आँङमा भएको कल्पनाले ।

पातलो डसना भएको सारो ओच्छ्यानमा पल्टदा कतिबेर सम्म ढाडले सोझिन मानेन । सरिर ओछ्यनमा भएपनि मन गाउँ पुगीसकेकोथियो ।

‘जाडो आउन लाग्यो । पैसा जोडेर सिरक बनाउनथियो । आमालाई बाथछ । चिसोले सँधै थलापार्छ । यसपालि त घरको ओत र न्यानो पनि छैन ।’ मन हिसाब लगाउँथ्यो तर त्यो हिसाब मिलाउने श्रोत देखाउन सक्दैनथ्यो । म जस्तै थियो यो पनि । ज़िम्मेवारी देख्थ्यो, मान्थ्यो तर पुरागर्न सक्दैनथ्यो ।

तिन महिना देखी तिन ठुन्का भएर भाचिएको, धागोले बाँधेर कानमा अड्याएको बाको चस्माको सिसा  साहिँलाबाको मलामी जाँदा खोलामा खसेर धुलो पिठो भएको पनि महिना बढिभैसक्यो । त्यहि भाचिँएको चस्माको साहायताले हाम्रो शुन्दर भबिश्यको सपना देख्ने बालाई पनि थाहाछ सायद सहरको बाध्यता त्यसैले त भनिरहनुहुन्छ-” अर्जुन ! काम चलेकैछ, तँ मेरो चस्माको फिकर नगर् । जाडो आउनैला’छ बोरु आमालाई एउटा न्यानो ओढ्ने ल्याईदे ।”

अभावनै हो सायद मनहरुलाई जोडेर राख्ने । पुगीसरी आएपछी त सबैको मनमा पखेटा लागिहाल्छ । कसको कहाँ र कसको कहाँ पुग्छ उडेर । मन् बिनाको सरिर मात्रैले सम्बन्ध कसरी न्यानो भैराख्छ र ?

 

आइ ए पास भएदेखी जागिरको नाममा निस्कीएका कुनै बिज्ञापन आँखाबाट ओझेल भएकोछैन । भ्याउनेजति सबैको लागी जानेको/ लागेपुगेको तयारी गरेकैछु । इन्टरभ्यूमा गएकैछु । अहिले एम ए दोश्रोबर्षमा पढदैछु तर जागिर भेटेकोछैन । इन्टरभ्यूमा सर्टिफिकेट  होईन, मेरो पोषण नपुगेजस्तो लुरो सरिर, रंग खुईलिएका लुगा र अनआर्कषक ब्यक्तित्व हेरिन्छ । सर्टिफिकेट, नलेज र क्षमता हेर्नुभन्दा पहिल्यै उनिहरुको मस्तिष्कले अयोग्य मानिसकेको हुन्छ मलाई  ।  अनि कहाँ पाईन्छ जागीर  ? तोक लगाई माग्न कोहि ठुलाबडा आफ्ना/चिनजानका छैनन् । कुनै युनियनमा सक्रिय भएर लाग्नको लागी बाको संस्कार र सिद्धान्त ओढेर/ओच्छ्याए हुर्किएको, ‘ठुलो मान्छे भन्दा राम्रो मान्छे बनेस्’ भन्ने बाको अर्ति सास फेरेभन्दा धेरैपटक सुनेर  हुर्किएको मैले हिम्मत गर्नै सकिन । त्यो फुटे टुटेको चस्माको मद्दतले बाले देखेका र देखाएका सपनाहरु पुरा गर्नको लागी मेहनत गर्न बाहेक अरु केहि गर्न जानिन मैले  ।

 

धन्न पढाईमा राम्रैछु त्यसैले टिउसनले गुजारा चल्छ नत्र भगवान जाने केहुन्थ्यो ? कमसेकम आफ्नो खर्चको साथ साथै घरमा नुन तेल, अौषधी र खर खाँचो धानिएकोछ ।

ढाडले सोझिन मात्रै भ्याएकोथियो, सुर्य देउता छिडीमै चिहाउन आईपुगे । बेलुका केहि नखाई सुतेकोले पेट नराम्रोसँग रिसाएर कराउँदैथियो । मन मारेर उठेँ । कोठामा खाना नबनाउने सर्त सहित भेटेको यो कोठामा पानी तताउने सर्सामान पनि थिएन । बिहानको नित्यकर्मबाट फारिग भएर म जग बोकेर तल झरेँ ।

बाटो परिपट्टीको चिया पसलमा भरखर फक्रिदै गरेको एउटा फूल बस्थि बिहान बिहान । दिनभरि उसका बाउ आमा हुन्थे ।

 

ऊ बडो तनमन्यतापूर्वक कुनै हिन्दी सिनेमाको गीत गुनगुनाउँदै चिया उमालि रहेकीथिई । दुईचार जना चिया पर्खदै उसको भरखर फुल्न अग्रसर छातीमा आँखहरुलाई निरंकुश छोडेर कल्पनाको कुन्नी कुन लोकमा हराई रहेकाथिए, यति बिहानै बिहानै । ऊ जानाजान ति आँखाहरुको असभ्यता झेल्थी, टाईट कुर्तामाथि सल किन ओढ्थिन, मलाई सोच्न मनै लाग्थेन । म सँधै सोच्थेँ- बिचरी, अबोध ! र यसरी सोच्दा मेरो आँखा मेरो नियन्त्रणमा रहन्थ्यो । यहि निको लाग्थ्यो मलाई ।

ऊ मलाई देखेर सँधै मुस्कुराउँथी । र तातो पानी माग्न गएको मलाई चिया खान आग्रह होईन जवरजस्ति गर्थी । पहिले पहिले म खान्नथेँ तर अचेल उसको हातको चिया बिना मलाई मेरो बिहान् खल्लो लाग्न थालेकोथियो । ऊ म सँग कहिल्यै पैसा लिन मान्थिन । म भन्न सक्दिन-मलाई उसको आग्रह, अनुग्रह सुखद लाग्थ्यो या बिस रुपियाँको बचत ?

ठ्याक्क पाँच बजे म अनन्याको घर पुगेँ ।

आज महिना मर्ने दिन ।

 

मलाई आफ्नो खल्ति अहिले देखिनै गह्रौ लाग्न थालिसकेको थियो । भोलि बाको चस्मा किन्न सुनिश्चित गरेर मन पुलकित भएकोथियो । कति सानो हुने हामी गरिवको सपना ? एउटा सानो दायरामा सारा संसार अट्न सक्ने । यतिबेला मलाई अरु कुनै कुराको संझना थिएन । आँखा अगाडी हिजो चस्मा पसलमा हेरेको सुनौलो फ्रेमवाला चश्मा घुमीरहेकोथियो । कति सुहाउँदोहो मेरो बा लाई त्यो चश्मा ? कति खुशी हुनुहुँदोहो वहाँ ? यो चश्माले त सायद वहाँका सपनाहरु पनि अझै राम्रा र प्रस्ट देखिँदाहून् ।

“नमस्ते !” मैले बैठकमा अनन्याकी ममीलाई देखेर हात जोडेँ । जवाफमा मतिर बढेकी उनको हात उठ्यो र तोडसँग मेरो गालामा ठोक्कीयो ।

“तँलाई सोझो, सिधा देखेर छोरी पढाउन राखेको, कसरि हिम्मत गरिस् मेरो छोरीको सरिरमा हातहाल्न ?” उनी चट्याङ गर्जे झैं गर्जिईन । उनको अर्को थप्पड गालामा बज्रिदा सम्म पनि मैले बुझ्नैसकिन, त्यो थप्पडको करण के थियो र उनी के भन्दैथिईन् ।

“मेरी छोरीको बदनामी हुनेभएर पो नत्र त पुलिस बोलाउँथें म । बास्टर्ड । अझै हिम्मत हेरन, फर्केर आउन सकेको त्यसरी लघार्दा पनि ।” उनी कड्कीदै थिईन ।

लघारेको ? मैले अनन्या तिर हेरेँ । उसको अनुहारमा कुटिल भाव उम्र्यो एकैक्षण । म तिर आँखा झिम्काएर ऊ पूर्ववत सुँकँ सुँकाउन थाली, दुबै हातले मुख छोपेर ।

“तर म्याडम..म त…”

“तँ निस्की…निस्कीहाल… नत्र म पुलिस बोलाउँछु ।” उनले मतिर हात हल्लाउँदै भनिन् । म फेरि पनि आफ्नो सफाईदिने कम्जोर कोशिश गरिरहेँ । उनले म भन्दा आधा उमेरको कामगर्ने लाई डाकीन् र मलाई गलहत्याउने आदेश दिईन । बिचरो ऊ अनुहारमा म प्रति साहनुभुति बोकेर मलाई बाहिर धकाल्न थाल्यो ।लाचारिले हलुका बनाएको म, त्यो फुच्चेको धकालाईले नै बाहिर धकालिएँ ।

निकैबेर म बन्द ढोकाको अगाडि यस आशमा उभिईरहेँ-अनन्याकी ममीले ढोका खोलेर मैले ट्युसन् पढाएको फिस म तिर फाल्नेछ्न् या उनको कामगर्नेले लिएर आउनेछ । मन र खुट्टाको निक्कै लामो द्वादश पछि म त्यहाँबाट अघि बढेँ ।  कहाँ जाउँ ?  सारा बाटो बन्द देखें मैले ।

दुई दिन म कोठाबाट निस्कीन । न भोक लाग्यो न प्यास । म्याडमको अपमानले भन्दा त्यति मेहनतले महिनाभरि पढाएको पैसा नपाएकोमा धेरै मर्माहत थिएँ म । बेईजति त कुन ठुलो कुरा भो र ? यो त जहाँ र जहिले पनि भएकै हुन्थ्यो तर त्यो पैसा नपाउनु सपना हराउनु जत्तिकै थियो मेरोलागी ।

त्यतिखेर मलाई लाग्यो-कतिपय कुराहरुमा पुरुष बढि लाचार हुन्छन् सायद, महिला भन्दा ।  कसैले उनीहरुको ईच्छा बिरुद्ध केहिगरे ‘अब्यूज’ ‘बलात्कार’ ‘हिंसा’ भनेर चिच्याउन त सक्छन्  उनिहरु ? कमसेकम होहल्ला त गर्न सक्छन् ? तर हामी ? हामी कसरी भन्नसक्छौ कुनै स्त्रिले हामी माथी हात हालेको कुरा ? जवरजस्ति गरेको कुरा ? कसले पत्याउँछ ? त्यसमाथी आफ्नो पौरुषको कुरा पनि त आउँछ ?

तेस्रो दिन बिहानै मेरो मोबाईल सकिनसकी चिच्यायो । हरी काकाको नम्बर देखेपछी मैले फोन नउठाई सुखैपाईन ।

“दाई ! तैले चश्मा पठाईनस् । बा हिजो राति दिसा बस्न जाँदा लड्नुभयो । तँलाई थहाछ बा चश्मा नभै आँखा देख्नुहुन्न । त्यै पनि… हरी काकाले खुट्टामा काम्रो बान्देकाछन् । हिडडुल नगर्नु भनेकाछन् । आमा रोएर छुट्टीछ । बाले तँलाई नभन्न भन्नुभाथ्यो तैले पिर गर्छस् भनेर । तँ कैले आउँछस् दाई ?” भाईले एक सासमा भनिसिध्यायो र मेरो जवाफै नसुनि फेरि थप्यो-“दाई ! तँलाई आउन मिल्दैन भने’नी बाको चश्मा र आमाको बाथको औषधी तुरन्तै आउने जानेको हातमा पठा है । लौ, मैले राखेँ । काका कराउन थाले ।”

म आँशु आँशु भएँ ।

आँशु सकिएपछी उठेँ । अब फेरि नरुने दृढ प्रतिज्ञा गर्दै ।

ति चस्मा बिहिन आँखाका सपना जीवीत रहन आवश्यकछ । त्यहि नरहे यो बाँच्नुको सार के ? केहि त गर्नैथियो मैले तिन्लाई बचाउन पनि, आफू बाँच्न पनि ।

मेरो दिमागमा त्यतिखेर जे थियो त्यो गर्नकोलागी पैसा चाहिन्थ्यो । तर फेरी, पैसा केकोलागी चाहिन्थेन ? म आफ्नो पुरानो मोबाइल बेचेर केहि पैसा हातपार्ने आशगर्दै बाहिर निस्कीएँ ।

बाको चश्माले दुनियाँ हेर्न र सपना देख्न सिक्दै हुर्केको मैले जिन्दगीले जे दियो त्यो पर्याप्त नभएपनि त्यसैमा खुशीहुन जानेकोथिएँ तर बिना अपराध चुपचाप सजायँ भोग्नु कुनै बहादुरी त थिएन ? बाको चस्माले सहि देखाएको दृश्य मेरो आँखाले फरक र गलत देख्न थालेको धेरै समयपछी मैले निदो गरेँ-अब म त्यो चस्माले देखाएको बाटोमा आँखा चिम्लेर हिड्नेछैन ।

अर्को दिन अनन्या र उसकी ममी पुलिसमा रिपोर्ट लेखाउँदैथिए-

“कसैमाथी संकाछ ?” सब ईन्सपेक्टरले सोध्यो ।

“खै को माथी संकागर्नु ? आज सम्म यस्तोभा’थएन । हिजै हामी घरमा थिएनौ  । हिजै अनन्या साथीकाँबाट ढिलो आई । हिजै घरैछेउमा कसैले उसको ब्याग थुतेर भाग्यो । दसा लाग्यारैछ भनौंन । नत्र त अनन्या त्यतिबेला सँधै टिउसन पढ्थी घरैमा बसेर ।” मिमी चाहिँले भनिन् ।

“मास्टर हिजो किन आएन त ?” सोधियो । आमा छोरीले एक्कैछिन हेराहेर गरे ।

“महिना मर्यो । अब आउन सक्तिन भन्यो । उसको मर्जी ।” जवाफ ममीले दिईन् ।

“भरोषा गर्ने लायकको थियो ?” फेरि सोधियो ।

यसपटक अनन्या बोलि-” सर ! उसमाथि संका गर्नु बेकारछ । झिंगा मार्ने हुति नभएको मान्छेले के ब्याग थुत्थ्यो ? त्यसमाथी ब्याग थुत्नेले स्टाईलिश हुडी वाला ज्याकेट लगाएकोथियो । अँध्यारोमा पनि डार्क ग्लासेस् लगाएकोथियो । त्यो सिधा साधा पढाकु सर सँग त एउटा खुईलेको सर्ट बाहेक अरु केहि छँदैथिएन । सँधै त्यै लगाउँथ्यो । त्यस्तो लाछी मान्छेले त्यत्रो हिम्मत कसरि गर्नसक्छ ?”

ममी चाहिँ  मुखले केहि बोलिनन् तर उनको अनुहारमा पूर्णसहमति लेखिएकोथियो ।

सब-ईन्पेक्टर एकैछिन घोरियो ।

“त्यती धेरै पैसा सँधै साथमा राख्नुहुन्छ ?” उसले सोध्यो ।

“अचेल दश बिश हजार कुनठुलो कुरो होर ?” ममीको अनुहारमा दभ्भ झुल्कियो-” त्यसमाथि साथीको बर्थडेको लागी गिफ्ट किन्नुथियो हाम्री अनन्यालाई !” उनले छोरीको काँधमा स्पर्ष गर्दै भनिन्-“यौटै त छोरीछ हाम्रो ।” फेरि गर्व पूर्वक थपिन-” उसको ड्याडी आइ एन जीयोमा काम गर्नहुन्छ ।”

सब-ईन्सरेक्टरले असहाय भावले टाउको हल्लयो।

अर्को हप्ताको अन्त्यतिर म बडो आत्म बिश्वाशका साथ त्यहि निलो सर्टमा सजिएर, बाको लागी त्यहि सुनौलो फ्रेम भएको चश्मा, आमाको बाथको औषधी र सबैको लागी न्यानो सिरक बोकेर गाउँ तिर लागेँ । त्यसबेला मेरो चाल ढालमा यति परिवर्तन आएकोथियो-म कुनै पनि इन्टरभ्यूको लागी गएकोभए पक्कै पासहुनेथिएँ ।

बाटोमा पर्ने खोलाको छेउमा अडिएर मैले झोलाबाट अनन्याको रित्तो ह्याण्ड ब्याग  झिकें र खोलाको खोंचमा अलि परैपुग्नेगरी यसरी हुत्याएँ, मानौ त्यो सँगै मैले आफ्नो लाचारी पनि खुर्केर फालें ।

 

About Admin 94 Articles
For beautiful eyes, look for the good in others; for beautiful lips, speak only words of kindness; and for poise, walk with the knowledge that you are never alone.....so join our site and get knowledge of every field...

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*