First Valentine Day !!- मेरो पहिलो Valentine’s Day

दमक बहुमुखी क्याम्पसमा १०+२ को पढाइ हुन्थ्यो एकदमै ठाँटबाँटसँग । बिहान र दिउँसो मानविकी र व्यवश्थापनका सयौँ विद्यार्थीहरु पुरानो र सुर्यको उज्यालोमा भर पर्ने कोठामा पढ्थे । हाम्रोमा एउटै कोठामा बाह्र पन्ध्रवटा ट्युवलाइटको उज्यालो हुन्थ्यो । उनीहरु गर्मी कागजको पंखाले हम्किदै बस्थे । हाम्रो कोठामा १० वटा सिलिङ फ्यानहरु घुमिरहन्थे । उनीहरुका बिचमा हामी साइन्स पढ्नेहरु अर्कै उन्नत जातका प्राणी जस्ता । कम्तिमा हामीलाई यस्तो लाग्थ्यो । यति मात्र होइन, कहाँ उनीहरुको मानविकी र व्यवस्थापन अनि कहाँ अंग्रेजीमात्रै पढ्नु पर्ने हाम्रो साइन्स, नजानिदो घमण्ड प्रस्टै देखिन्थ्यो हामी सबैमा । अझ लाइब्रेरीमा गएर सबैभन्दा ठुलो किताब हातमा अफ्ठ्यारो गरि बोकेर बाहिरिदा चढ्नु पर्ने सबै सिँढीको टुप्पोमा भए झै लाग्थ्यो, उबेला हामीलाई ।

शुक्रबार दिन थियो । म ११ मा पढ्थेँ र थियो भ्यालेन्टाइन्स डे । कान्तिपुर एफएमले बिहानै देखि यसरी यसको कुरा गर्न थाल्यो कि एकाबिहानै भ्यालेन्टाइन्स डेको ज्वरो चढिहाल्यो । नत्र अघिल्लो बर्षसम्म त्यो कुन चरोको नाम हो भन्ने के थाहा हामीलाई ! कलेज पुग्दा थाहा भयो ज्वरो सबैलाई चढेको छ । कोही त देखादेखी रातो गुलाब बोकेर हिडेका छन् । क्लास सकिदासम्म त अवश्था यो भयो कि कसैलाई प्रपोज नगर्नेहरु त नपुसंक बराबर ।

ग्रुपमा सबैले प्रपोज गरिसके अझ उही भाषामा भनौँ प्रपोज हानिसके । म मात्रै बाँकी । डेरा फर्किदै गर्दा मोचन, सरोज, विशाल​, प्यासीहरुले उचाल्नु उचाले । एउटा रातो गुलाब हातमा बोकाएर जो बाटोमा भेटिन्छ उसैलाई प्रपोज हान् भनेर आदेश जारी गरे । म पनि के कम, तिमीहरुले सक्ने म चै नसक्ने ? देखाइदिन्छु भन्ने लाग्यो ।

कलेज छुट्टी भएकाले बाटोमा केटीको जात भेटिएन । अलिक वर आए पछि हाम्रै कलेजको ड्रेसमा एउटा केटी भेट्टिइ कसैलाई पर्खेर उभिएँ झै । ‘तिमीहरु यही बस, म गएर आउँछु’ – मैले भनेँ । केटाहरु कुनामा लुकेर हेर्दै पर्खिन राजी भए । मनमा अलि अलि डर त थियो, झापड सापड हान्ने हो कि भन्ने । तर केटाहरु लुकेर हेरिरा’छन् भनेर सुरिएर गएँ ।

‘सुन न!’ भनेर कुरा सुरु गरेको मैले । हातमा रातो गुलाब देखेर झस्कि बिचरा । परिचय गरियो । बराल थर कि रहिछ । ‘बराल त मेरो सगोत्री’ मनमा सोचेँ । आऽऽऽ बिहे गर्नु छ र ? आँट आयो । ‘तिमीलाई म पहिले देखि नै वाच गरिरा’थेँ । तिमी असाध्यै मन पर्छ । आज भ्यालेन्टाइन्स डे भएर प्रपोज गर्ने आँट आयो ।’ एकै सासमा भनिसकेँ ।

‘म आइतबार डिसिजन दिन्छु’ उसले भनि । ‘हुन्छ’ म टाप कसेँ । केटाहरुको अगाडी म हिरो । चिन्दै नचिनेको केटीलाई एकै पल्टमा प्रपोज हान्दिनेँ ।

कथा यतिकैमा सकिएको भए आनन्दै हुन्थ्यो । बेलुका नजिकैको तरकारी पसलमा तरकारी किन्न ग्रुप नै पुग्यौँ । भ्यालेन्टाइन्स डे बबाल गर्नु पर्छ आज । कम्तिमा सँधै झै यो बैगुन चै नपकाउँने । तर सोही बेला बाइकमा एउटा आइपुग्यो । हेर्दै डरलाग्दो । हामी चार पाँच जनालाई त उसको एकै हात काफी होला जस्तो । पसल्नी भाउजुलाई सोध्यो, ‘दिदी तपाईले देख्नु भो ? कसले मेरो जिएफलाई यही प्रपोज गरेछ ।’ पसल्नी भाउजुले के भनिन्, कसले सुन्यो र ? बिरालाको चालमा निस्किएर हरिणको गतिमा कोठामा आएर ढोका लगाएर बसियो ।

तैले गर्दा त हो नि भनेर एक आपसमा तथानाम गरियो । शनिबार दिनभर बाटोमा बाइक हिड्यो कि तर्सिदै हेरियो । कोठाबाट कोही बाहिर निस्किनम् । सबै ग्रुपमा बसियो । आइतबार हतार हतार डराइ डराइ कलेज पुगियो । कुन लेभल पढ्ने, कुन क्लास रुम हो थाहा थिएन तर सबै मिलेर खोज्दा बल्लतल्ल त्यो केटी भेटिइ । हत्तपत्त गएर अस्तिको लागि सरि है, मेरो मनमा केहि थिएन त्यस्तो भनेर कुलेलाम ठोकियो ।

त्यो भ्यालेन्टाइन्स डे यति लामो भयो कि दमक क्याम्पस पढुञ्जेल त्यो केटी देखिएको बाटो नै हिडिएन । धन्न ज्यान बच्यो ।

source : paniphoto

About Admin 94 Articles
For beautiful eyes, look for the good in others; for beautiful lips, speak only words of kindness; and for poise, walk with the knowledge that you are never alone.....so join our site and get knowledge of every field...

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*