Must Read-यत्रो पढेको साला ५ हजारको लागि हो ?

समूहमा विश्वास गर्नेले ‘अब हामी केही त गरौं न’ भन्ने गरेको पाइन्छ थेगो जस्तै । तर, समस्या एउटै सबैको के र कसरी गर्ने ? जब आफुले के गर्ने र आफ्नो योजनालाई कसरी समन्वय गर्ने भन्ने द्धिविधा आउँछ, आश्वासनको मात्र बाढी लाग्छ, तब सुरु हुन्छ ‘कन्सल्टेन्सी’हरुको ढोका चहार्ने क्रम । अनि ‘म केही गर्छु’ भन्ने एउटा युवाशक्ति पलायन हुन्छ ।

आज एउटा अन्तर्वाता दिन गएको, ठीक छ, हामी पछि कल गर्छौ भनेर फर्काइदियो यार,’ एउटा साथीले चियाको चुस्किसँगै साथीभाइको जमघटमा सुनाउँछ । काम पाउँन पनि गार्‍हो छ यार, सोध्दै तपाईले पहिला कँही काम गर्नुभएको छ ? भनेर सोध्छन् । छैन भन्यो भने तपाईको तलबको अपेक्षा कति छ भन्छन् । ८/१० हजार भन्यो भने चै उनीहरु ५/६ हजारको कुरा गर्छन् । यत्रो पढेको साला ५ हजारको लागि हो ? उ आक्रोशपुर्ण प्रश्न साथीहरुसामु तेस्र्याउँछ ।

रत्नपार्क होस् या कुनै सभासम्मेलनमा, भेला भएका युवा, चोभार वा गोदावरीको डाँडामा भेटिने जोडी अथवा कुनै रेस्टुरेन्टमा चिसो पेयसँगै गफमा रमिरहेकाहरु । सोध्यो भने जवाफ फरक फरक । तेत्तिकै, कामै छैन, कलेज बन्द छ, टाइम पास गर्न, यस्तै यस्तै । तर चुरो कुरो एउटै छ समयको महत्व नबुझ्नु । पहिलो कुरो उनीहरु कहि संलग्न छैनन् वा अवसर पाएका छैनन् । दोस्रो कुरो हामी अवसर अरुले नै सृजना गरिदिओस् भन्ने हामी सोच्छौ । फेरि हामीसँग अनेक बहाना पनि छन् । ट्राफिक जाम थियो, बिर्सिए, फुर्सदै भएन आदि । हामी यस्तै बहाना बनाएर आफ्नो जिम्मेवारीबाट पञ्छिन खोज्छौ पनि ।

प्रश्न त यही नै हो, यस्तो गैरजिम्मेवारीले अन्ततः घाटा कसलाई पुर्‍याउँछ ? फेरि हामी अरुलाई दोष लगाउँन पनि माहिर नै छौं । परिक्षा फेल भयौं भने भन्छौ पढाउँने राम्रो भएन । घरको फोहोर सडकमा फाल्छौ र भन्छौ नगरपालिकाले फोहोर उठाएन । सभासदले समयमा संविधान बनाएनन् भनेर त भन्छौ तर सबै सभासद आफैले पठाएका हौ भन्ने हामी सोच्दैनौं । गैर जिम्मेदार सभासद पठाउँने हाम्रो पनि दोष छ भनेर हामीले सायदै सोच्यौ ।

हामी ठुला नारासाथ कहिले बाग्मती र कहिले एयरपोर्ट सफा गर्न गइरहन्छौं । विशेष योजनाबिना गरिएको एकदिने कार्यक्रमले कुनै ठुलो परिवर्तन ल्याउँने पनि होइन । त्यस्ता कार्यक्रमा मिडिया र मन्त्री पनि पुग्ने नै भए । कार्यक्रममा मन्त्रीले बोलेको कुराले मिडियामा महत्व पाउँछ । र, सम्पुर्ण कार्यक्रमको उद्देष्य नै छाँयामा पर्छ । अर्को कुरा हामी आफु बसेको कोठा, घर, अफिस वा वरपरको चोक वा टोल चाँही कत्तिको सफा छ त ? तर हरेक कुराको सुरुवात त व्यक्तिबाट हुनुपर्छ भन्ने कुरा हामी कमै सोच्छौ । हामी शिक्षित त धेरै नै छौ तर सचेत कम छौ । परिवर्तनको ठुलो कुरा गर्दैगर्दा हामी स्वयं चाही कति परिवर्तन भयौं भन्ने कुरा हामीले मनन् गर्नु जरुरी छ । हाम्रो सोच, व्यवहार अनि दृष्टिकोण कमजोर छ । हामी सुन्न भन्दा धेरै बोल्छौ वा बोल्न मन पराउँछौ । तर, बोल्नु र सुन्नु त भात खानु र पकाउँनु जस्तै हो । जब हामीलाई खाना बनाउँन आउँदैन भने हामी कहिलेकाही भोकै रहने सम्भावना रहन्छ अर्थात दुख हुन्छ । त्यसैले हामीले बोल्ने प्राथमिकताभन्दा सुन्ने क्षमता बढाउँने हो कि ।

ट्राफिकलाई गाली गर्नुभन्दा जामबाट मुक्त हुन हामी आफैले ट्राफिक नियमको पालना गर्ने हो कि । काम सानो ठुलो हुन्न भनेर आफ्नो लागि कामको आफैले सृजना गर्ने हो कि । अरुको दोष नियाल्नु भन्दा आफैलाई नियाल्न र आफ्नो सामथ्र्य खोज्नु र चिन्न कसरत गर्ने हो कि ।

 

About Admin 95 Articles
For beautiful eyes, look for the good in others; for beautiful lips, speak only words of kindness; and for poise, walk with the knowledge that you are never alone.....so join our site and get knowledge of every field...

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*